८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ।

बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ। जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए। वैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाइसराई तथा अन्य विभिन्न कारणले कुल मतको ३४ प्रतिशत मत खस्न सकेन।

उनले भौगोलिक रुपमा विकट क्षेत्र धवलागिरी गाउँपालिका–१ गूर्जाको मतपेटिका शनिबार बिहान ५ बजे गाउँबाट ल्याइने छ। जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेले बताए।

‘अनुमान गरेभन्दा ५–७ प्रतिशत बढी मत खसेको छ’ प्रमुख घिमिरेले भने। निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार बिहान ७ बजेदेखि जारी मतदानमा गठबन्धन र एमाले बीचकै विवाद हुँदा बेनपा–६, थाकनपोखरी केन्द्रमा असहज स्थिति देखिएको थियो। केहीबेर मतदान रोकिएको र पुनः छलफलपछि फेरी मतदान सुरु भएको थियो।

मतदान प्रक्रियामा सर्वसाधारण, नागरिकहरुले उत्साहपूर्ण तरिकाले सहभागिता जनाएका छन्। जिल्लाको केही मतदास्थलमा वारिसेको नाममा राजनीतिक दलहरुबीच सामान्य विवाद भए पनि निर्वाचन प्रक्रिया भने शान्तिपूर्ण रुपमा चलिरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए। सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया चलिरहेको स्थानीय प्रशासनले जनाएको छ।

म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी तथा किरियापुत्रीलाई मतदान गर्नका लागि प्राथमिकता दिइएको थियो। विगतमा निर्वाचनमा जस्तै कुटपिटजन्य गतिविधि यसपटक निर्वाचन अवधिभर नदेखिएको तथा विवादलाई समाधान गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच बेनी नगरपालिकाको मतपेटिका संकलन गरेपछि शनिबार विहान ८ बजेबाट मात्रै मतगणना हुने जनाइएको छ। त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ। जिल्लाभर शनिबार विहानदेखि सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचनमा ५ सय ६१ जना कर्मचारी र शिक्षक तथा १ हजार ४ सय ४७ जना सुरक्षाको जनशक्ति परिचालन गरिएको छ। म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन्। एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App