४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

निर्वाचनमा एकीकृत सुरक्षा योजना

स्थानीय निकाय निर्वाचनका लागि मोरङमा ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याइने भएको छ। निर्वाचनमा उचित सुरक्षा व्यवस्था मिलाउँदै भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान गर्ने वातावरण बनाउन वैशाख २७ गतेदेखि ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याइने भएको हो।  

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तह निर्वाचनका लागि प्रदेश १ लाई लक्षित गरेर इटहरीमा एउटा सेनाको हेलिकप्टर रहने छ। ‘निर्वाचनका सामग्री ढुवानी गर्नका लागि समस्या हुने ठाउँमा हेलिकप्टरबाट ढुवानीलगायतका कामको प्रबन्ध मिलाइएको छ,’ प्रजिअ दाहालले भने, ‘कुनै पनि मतदान स्थलमा सुरक्षामा समस्या आए थप मद्दतका लागि सेनाको हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन हुनेछ।’

निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ सबै जिल्ला आफू अनुकूल बनाएको हुन्छ। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ४ वटै सुरक्षा सन्यत्र परिचालन हुने र ठाउँ अनुसार कस्तो सुरक्षा रणनीति बनाउने भनेर योजनाका साथ निर्वाचनको सुरक्षा विशेष हुने बताउँदै प्रजिअ दाहालले भने, ‘२७ देखि ३० गते रातिसम्म भारतसँगको सीमा पूर्ण रुपमा बन्द हुनेछ। त्यस समयमा अतिआवश्कीय सेवा बाहेक अन्य सबै बन्द रहन्छ।’

भौगोलिक अवस्थालगायत विभिन्न किसिमबाट सुगम, दुर्गम तथा सुरक्षाको दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशी गरी मतदान स्थललाई विभाजन गरेर सुरक्षाको व्यवस्था मिलाइएको छ। मुख्य निर्वाचन अधिकृत भरत लम्सालसहित मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापा, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासु सिग्देललगायतको टोलीले जिल्लाका सबै मतदान स्थलको अनुगमन गरी सकेका छन्।

सुरक्षा उपस्थिति कमजोर रहेका र भौगोलिक हिसाबमा केराबारी गाउँपालिका–१ पाटी गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालय र केराबारी–२ जेफालेस्थित पञ्चायत आधारभूत विद्यालय मतदानस्थल विकट मानिएको छ। धनकुटाको भेडेटार हुँदै मोरङको दुर्गम क्षेत्रका मतदानस्थल जानु पर्छ। २ वटा मतदान केन्द्र रहेको सरस्वती मावि मतदानस्थलमा १ हजार ७ सय ९३ र एउटै मात्र मतदान केन्द्र रहेको पञ्चायत आधारभूत विद्यालयमा ९ सय ८९ जना मतदाता छन्।

जिल्लाको ३ सय मतदान स्थलको ८ सय मतदान केन्द्रको सुरक्षाका लागि १ हजार ९ सय ९४ जना नेपाल प्रहरीका साथै ३ हजार १ सय २४ जना म्यादी प्रहरी खटिने मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालन हुनेछ।  

‘मतदान स्थललाई सुरक्षाका दृष्टिले विभिन्न भागमा विभाजन गरेका छौं,’ एसपी कोइरालाले भने, ‘अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील र भौगोलिक, दुर्गम तथा सुगमका तवरले विभाजन गरेर त्यस अनुरुप भयरहित, पूर्ण सुरक्षित मतदानको व्यवस्था मिलाएका हौं।’ कुनै पनि मतदान स्थलमा सुरक्षाको समस्या आए वा देखिए आधा घण्टाभन्दा बढी समय नलाग्ने गरी थप सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ। यसरी थप सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली तैनाथी अवस्थामा रहने छन्।  

जिल्लाको अति संवेदनशील ४९, संवेदनशील १ सय ५५ र सामान्य संवेदनशील ९६ मतदान स्थाल रहेको छ। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन भौगोलिक रुपमा विकट रहेको क्षेत्र र सीमा क्षेत्रसँग जोडिएको मतदान स्थलको नेपाली सेनाले हवाई गस्ती गर्ने छ।  

निर्वाचनलाई लक्षित गरेर विराटनगरमा मोरङ र सुनसरीको सुरक्षा निकायका प्रमुख र भारतको अररिया जिल्लाका सुरक्षा अधिकारीहरुबीच संयुक्त बैठक बसेको छ। निर्वाचनका समय हुन सक्ने विभिन्न आपराधिक गतिविधिलगायत अन्य सुरक्षाका संवेदनशील कुरामा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने बैठकमा निर्णय भएको जनाइएको छ।

प्रकाशित: २५ वैशाख २०७९ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App