coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्वाचनका लागि बैतडीमा एक हजार बढी कर्मचारी खटाइँदै

स्थानीय तह निर्वाचनका लागि बैतडीमा १ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। जिल्लाका १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्रमा १ हजार १८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालका अनुसार निर्वाचन सम्पन्न गर्न कर्मचारको सूची सार्वजनिक भइसकेको छ भने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि दुई दिनको तालिम दिन थालिएको छ।

निर्वाचन सम्पन्न गर्न २ सय ५ जना मतदान अधिकृत र २ सय ५ सहायक मतदान अधिकृत, ४ सय ३ जना सहायक कर्मचारी, २ सय ५ जना कार्यालय सहयोगी खटाइने छ। वैशाख २७ गतेभित्र सम्बन्धित मतदानस्थल तथा मतदान केन्द्रहरुमा पुग्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।

जिल्लाको दशरथचन्द नगरपालिकामा जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्की, पाटन नगरपालिकामा ईश्वरीदत्त जोशी, पुर्चौडी नगरपालिकामा केवलीराम अधिकारी, मेलौली नगरपालिकामा जनकसिंह बोहरा, शिवनाथ गाउँपालिकामा रामबहादुर हमाल, पञ्चेश्वर गाउँपालिकामा धर्मानन्द जोशी, सिगास गाउँपालिकामा प्रेमराज खनाल, सुर्नया गाउँपालिकामा सिद्धराज जोशी र दोगडाकेदार गोकुलप्रसाद बोहरा निर्वाचन अधिकृत भएर खटिएका छन्।

जिल्लामा १ लाख ४० हजार जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन सुरक्षाको लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ। थप सुरक्षा आवश्यक पर्ने ठाउँमा मोबाइल गस्तीको व्यवस्था गरिएको छ।

सुरक्षाको दृष्टिकोणले निर्वाचन केन्द्रलाई अति संवेदनशील, संवेदनशील र समान्य वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। निर्वाचनलाई शान्तिपूर्ण भयरहित रुपमा सम्पन्न गर्न सुरक्षालाई चुस्तदुरुत राखिएको प्रजिअ पाण्डेले जानकारी दिए।

यसअघि जिल्ला सुरक्षा समितिले मतदान स्थलको सुरक्षा र अन्य अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। यो निर्वाचनमा अन्य सुरक्षा खतरा देखिएको छैन। तर जिल्लामा पार्टीहरूबीचको अन्तर विरोधले झडप निम्तिन सक्ने आकलन प्रहरीको छ। मतगणनामा हुनसक्ने विवादलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति अपनाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत खगेन्द्र भारतीले बताए।

प्रकाशित: २३ वैशाख २०७९ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App