१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीय समस्यामा चासै छैन

कीर्तिपुर नेपालको वागमती प्रदेशमा पर्ने काठमाडौं जिल्लाको एउटा नगरपालिका हो। काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहेका तत्कालिन लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौं उपत्यकाको एक ऐतिहासिक नगरको रूपमा परिचित छ। कीर्तिपुर नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर तथा काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ। हालै मात्र सोही नगरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ।

अहिले कीर्तिपुर नगरपालिका कुल १० वडामा विभाजित छ। सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ। कीर्तिपुर नाम संस्कृत शब्द ‘कीर्ति’ (महिमा) र ‘पुर’ (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई ‘किपू’ समेत भन्ने गर्छन्। नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ।

कीर्तिपुर सहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी पारि ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ। यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास भएको छैन भने खानेपानीको पनि उचित प्रवन्ध भएको छैन। साँघुरा सडकको व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। वरिपरिको वातावरण सफा सुन्दर रहनु पर्नेमा जताततै अव्यवस्थित रूपमा फोहोर फाल्ने र जथाभावी ढल खनेकाले फुट्ने गरेको छ। माथिल्लो शिक्षाको स्तर पनि यहाँका बासिन्दाले उल्लेखनीय रूपमा बढाउन सकेको देखिदैन।

मल्लकालदेखि नै कला र संस्कृतिले धनी कीर्तिपुर नगरपालिकालाई अझै सुन्दर बनाउनका लागि कुनै पनि जनप्रतिनिधिहरू सफल नभएको एक स्थानीयवासीले बताए। २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो। २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप–प्रमुख पदमा निर्वाचित भएकी थिइन्। एमालेले ५० वटा प्रतिवद्धता जनाएकोमा दुई चार वटाबाहेक अन्य प्रतिवद्धता पूरा गर्न नसकेको स्थानीयको आरोप छ।

अघिल्लो २०७४ सालको स्थानीय तहमा एमालेले एकछत्र हासिल गरे पनि यसपालीको स्थानीय तहको निर्वाचनमा कसले जीत हासिल गर्छ भन्ने विषयमा अन्योलता उत्पन्न भएको छ। जनप्रतिनिधिले भनेअनुसार काम गर्छन भन्नेमा कत्ति पनि विश्वास अहिले किर्तिपुरवासीमा देखिएको छैन। कीर्तिपुर नगरगरपालिकाभित्र प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि सदस्यसम्ममा उमेदवारी दिनेहरूमा अधिकांश नेवार नै रहेका छन्।

नगरपालिकाभित्र वडा १ को लायकु, वडा २ को देवढोका, वडा ३ को पालीफल, वडाको ४ को गाम्चा, वडा ५ को छाप, वडा ६ को चोभार भाजंगल, वडाको ७ को पाँगा, वडा ८ को पाँगा, वडा ९ को बाहिरी गाउँ, वडा १० को चिठुविहारमा नेवार जातीको बसोबास बढी रहेको छ। वडा १ मा वडा अध्यक्षसहित अन्य पदमा १३ जना नेवार र ५ जना बाहुन जातीले उमेदवारी दिएका छन्।

वडा नं.२ को वडाध्यक्ष र अन्य पदमा १६ जना नेवार र ३ जना बाहुन र दुई दलितले उमेदवारी दिएका छन्। वडा नं. ३ मा १५ नेवार, ४ दलित र १ बाहुनले उमेदवारी दिएका छन्। वडा ४ मा नेवार २ जना र बाहुन, क्षेत्री, जनजाती गरी २३ जनाले उमेदवारी दिएका छन्। वडा नं. ५ मा नेवार १५ जना, बाहुत क्षेत्री दलित जनजाती गरी ९ जनाले उमेदवारी दिएका छन्।

वडा नं. ६ मा नेवार ६ जना छन् भने बाहुन, क्षेत्री दलित १४ जना रहेका छन्। वडा नं. ७ मा नेवार ८ जना र बाहुन क्षेत्री दलित ६ जना रहेका छन्। वडा ८ मा २१ नेवार छन् भने दलित र जजाती दुई रहेका छन्। वडा नं. ९ मा नेवार १२ जना, बाहुन एक जना र दलित ३ जना रहेका छन्। वडा नं. १० मा १६ नेवार १ दलितले उमेदवारी दिएका छन्। नेवारकै नेताहरू भए पनि नेवार जाती नै बढी असन्तुष्ट बनेको अवस्था यहाँ देखिएको छ।

उम्मेदवार मतदाताको घरदैलोमा पुग्दा स्थानीयले कुनै आशा गरेको देखिएन। यसअघिका प्रतिवद्धता पूरा नभएकाले पनि मतदाताहरूले आशा मारेका छन्। एक स्थानीयले भने ‘नेताहरूले जनताको समस्यालाई कहिल्यै नसोच्ने भए।’ निर्वाचित भएर गएपछि जनताको दैनिक समस्या के के हुन र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा कुनै पनि नेताले चाँसो नदेखाउने कीर्तिपुर वासीको गुनासो छ।

चुनावी चहलपहल बढेसँगै कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई मत माग्दै हिडेका छन्। सबै पदमा कूल २३७ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App