१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सबै स्थानीयतहमा आचारसंहिताको पूर्ण पालना

जिल्ला निर्वाचन कार्यालय उदयपुर। तस्बिरः महेश्वर

आसन्न स्थानीयतह निर्वाचनको तयारी चलिरहँदा उदयपुरमा आचारसंहिताको पूर्ण पालना भईरहेको निर्वाचन कार्यालयले जनाएको छ। चुनावी प्रक्रिया तयारीबारे स्थलगत अनुमगन गरेर फर्केका मुख्य निर्वाचन अधिकृत दिपक खनालले जिल्लाका ८ वटै स्थानीयतहको चुनावी प्रक्रिया राम्रो रहेको र आचारसंहिताको पूर्ण पालना भईरहेको बताए।  

भर्खरै पहाडी भेगका गाउँपालिकाहरुको स्थलगत अनुगमन सकेर फर्केका खनालले गाउँगाउँमा चुनावले जनतामा उत्साह छाएको र निर्वाचन अधिकृत कार्यालयहरुले पूर्णरुपमा आचारसंहिताको पालना गराएको पाइएको बताए। प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा प्रमुखहरु तथा निर्वाचन कार्यालयका कर्मचारी सम्मिलित टोलीले अनुमगनको क्रममा ग्रामिण क्षेत्रको चुनावी गतिविधि शान्तिपूर्ण र उत्साहजनक रहेको निश्कर्ष निकालेको छ।

निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निस्केको टोलीले अनुगमनको क्रममा स्थानीय राजनीतिक दल, नागरिक समाज र कर्मचारीसँग छलफल गरी आवश्यक सुझाव लिने दिने गरेको जनाएको छ। यस क्रममा कतै कुनै गडबडी नपाइएको खनालले बताए। चुनावका लागि आवश्यक शान्ति सुरक्षाको अवस्था पनि आफुले सबै ठाउँमा राम्रो पाएको प्रतिक्रिया टोलीले दिएको छ। आईतबार निस्केको टोलीले जिल्लाका उदयपुरगढी, ताप्ली, लिमचुङबु्ङ र रौतामाई गाउँपालिकाको अनुगमन गरेर सोमबार सदमुकाम फर्केको छ।  

त्यसअघि त्रियुगा, कटारी बेलका र चौदण्डीगढी नगरपालिकाको पनि पहिलो चरणको अनुगमन गरिसकेको टोलीले जनाएको छ। अनुगमनको क्रममा आचारसंहिताको पालना, शान्ति सुरक्षाको अवस्था मजबुत रहेको तथा चुनावी दौडमा रहेका राजनीतिक दलहरु संयमित र अनुशासित रहेको निश्कर्ष निस्केको टोलीले जनाएको छ।  

जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले सबै स्थानीयतहको चुनावी तयारीबारे टोलीले अनुगमन गरी फर्केको बताए। उनका अनुसार टोलीले स्थानीय निर्वाचन अधिकृतको कार्यालयले गरेको काम, चुनावी तयारी, मतदानस्थलको अवस्था र शान्ति सुरक्षाबारे स्थलगत निरीक्षण गर्दै आचारसंहिताबारे स्थानीयहरुसँग जानकारी लिएको थियो। आयोगको निर्वाचन तालिका बमोजिम उम्मेदवारलाई चुनाव चिन्ह बितरण गरेर प्रचार प्रशारमा खटिसकेको अवस्था छ।  

उदयपुरका ८ स्थानीयतह सबैका केही वडाहरु पहाडी भेग हुनाले मतदानस्थल बिकट र दुर्गममा छन्। नगरपालिका भए पनि त्रियुगा, बेलका, कटारी र चौदण्डीगढीका केही वडाहरु पहाडी भेग र बिकटमा छन्। उदयपुरगढी, ताप्ली, रौतामाई र लिम्चुङबु्ङ गाउँपालिका त पहाडै पहाड भएकाले उसै बिकट र अनकन्टार छन्। त्रियुगाका १४, १५ र १६ नं. वडा पहाडी भेगमा पर्छन् भने चौदण्डीगढीका १, २ र ८ नं. पहाडी वडाहरु हुन्। त्यस्तै कटारीका ८, ९, १०, ११, १२, १३ र १४ नं. वडाहरु पहाडी भूभाग हुन् भने बेलकाका ५, ६ र ७ नं. वडाहरु पहाडी हुन्।  

७५ वडा रहेको उदयपुरका ४ नगरपालिकाका ४९ मध्ये १३ वटा वडा विकट पहाडी भेगका छन्। त्यस्तै ४ गाउँपालिकाका २६ वडा सबै बिकटै भएकाले बिगतका चुनाव सुरक्षा दृष्टिकोणले अत्यन्त संवेदनशील मानिएका थिए। तर, आसन्न चुनावमा त्यस्तो कुनै सुरक्षा समस्या नभएकाले निर्वाचन सहज हुने अनुमान गरिएको छ। विगतका चुनावमा सुरक्षा चुनौति दिने नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा यो चुनावमा आफै सहभागी भएकाले पनि यसपटकको निर्वाचन शान्तिपूर्ण हुने अपेक्षा गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७९ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App