२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपराधले आक्रान्त मधेस

सर्लाहीको मलंगवा नगरपालिका –१२ गम्हरियाकी महासुन्दर ठाकुरको जीवनमा चैत २४ गते विहीबार वज्रपात आइलाग्यो। दश वर्षीय छोरा आकाश ठाकुर छिमेकीको शौचालयको सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा मृत फेला परे। चिनजानका छिमेकी जगदीश ठाकुरले रिसइबी बनाएर आकाशलाई हत्या गरेर बोरामा प्याक गरी सेफ्टी ट्यांकीभित्र गाडेको प्रहरी अनुसन्धानबाट खुल्यो।

चैत २२ गते धनुषाको हंसपुर नागरपालिका–७ नौवाखोर गाउँका १८ वर्षीय विजय रामलाई हत्या गरी गहुँ खेतमा फालेको अवस्थामा शव फेला पयो। प्रहरीले घटना अनुसन्धनको गर्दै जाँदा विजयको हत्यामा मिल्ने साथीहरूकै संलग्नता देखियो। प्रहरीले हत्या आरोपमा विजयका साथी सोही ठाउँका २० वर्षीय मनोज रामलाई पक्राउ गरेको छ। बाँकी २२ वर्षीय जितु मण्डल र १९ वर्षीय पंकज मण्डल फरार छन्।

चैत २३ गते सर्लाहीको मलंगवा नगरपालिका–९ कृष्णामति माध्यमिक विद्यालयको कम्पाउन्डको पूर्वी भागमा गोली हानी  भारतको सितामढी जिल्ला, कन्हौली थाना विसनपुर आधार पञ्चायत घर भई मलंगवा बस्दै आएका ३५ वर्षीय इन्दल महतोको हत्या भयो। मलंगवा बजारबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेको महतोलाई मोटरसाइकलमै आएका हतियारधारी व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तीन दिनभित्र धनुषा र सर्लाहीमा भएका हत्याका यी तीन घटनाले मधेस प्रदेशको सुरक्षा अवस्थालाई उदांगो बनाइदिएको छ।

पारि अपराध वारि आश्रय

भारत विहारको विसनपुर ग्राम पञ्चायत निवासी इन्दलमाथि हत्या अभियोग थियो। अभियोग छल्न उनी ६ महिनादेखि सर्लाहीको मलंगवास्थित ससुरालीमा बस्दै आएका थिए। कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका अभियुक्तले समेत मुख्य योजनाकारको रूपमा इन्दलको नाम भारतीय प्रहरीसमक्ष बयान गरेपछि उनी वारि आएर लुकेका थिए। पारि अपराधमा संलग्न भएको अभियोग लगेपछि मलंगवा नगरपालिका–२ स्थित सुरालीमा आश्रय लिंदै आएका उनको अपरिचत ‘सुटर’ ले गोली हानी हत्या गरे। इन्दलको पृष्ठभूमि पारिका अपराधिक घटनामा समेत रहेको सुरक्षा अधिकारीहरू बताउँछन्। ससुरालीमा आश्रय लिएका उनी सुरुवातमा लुकेरै बस्थे। पछि आलु गोदाम सञ्चालन गरेर व्यापारमा लागेका थिए।

सीमाका कारण यता (वारि) अपराध गरेर उता (पारि भारत) भाग्ने र पारि अपराध गरेर वारि लुक्न सजिलो भएको छ। अपराधी दुवैतिर  निर्धक्क घुमफिर गरेको थाहा पाए पनि समातेर ल्याउन कानुनी रूपमा सहज छैन। यही कानुनी जटिलताको फाइदा उठाउँदै अपराध गरेको व्यक्तिले वारिपारिका भूमिमा ‘सेन्टर’ लिने गरेको प्रहरी अधिकारी बताउँछन्। खुला सिमानाले अपराधीलाई वारिबाट भागेर पारि तथा पारिबाट भागेर वारि आई लुक्न सजिलो भएको छ।

नेपाली भूमिमा अपराध गरेर भारत गई लुक्ने र भारतमा अपराध गरेलगत्तै नेपाल आएर लुक्ने प्रवृत्तिले आरोपित/अभियुक्तलाई पक्राउ गर्न अप्ठेरो परेको प्रहरी अधिकारीहरू बताउँछन्।

नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीच नातासम्बन्ध छ। यो सम्बन्धलाई कतिपय अपराधीले दुरूपयोग गर्दै आएका छन्। अपराधीले नातेदारका घरलाई आश्रयस्थल बनाउँछन्। नेपाली सीमागाउँ–शहरका अधिकांश मानिसको नातासम्बन्ध सीमावर्ती भारतीयसँग जोडिएको छ। भारतीय सीमावर्ती गाउँ–शहरका मानिसको नातासम्बन्ध नेपालका सीमावर्ती गाउँ–शहरका मानिससँग जोडिएको छ। नातासम्बन्धको यही आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ,’ भारतीय शहर जयनगरका अजय यादवले भने। दुवैतिरका अपराधीले दसगजा क्षेत्रका नाता–कुटुम्बकहाँ आश्रय लिने उनको भनाइ छ।

‘उता (नेपाल) मा अपराध गरेको केही घन्टामै यता (भारत) ‘सेल्टर’ मा आइहाल्छन्, यताबाट अपराध गरेर केही समयमै लुक्न नेपाल पुगिहाल्छन्,’ यादव भन्छन्। सीमा काटेपछि अपराधीले आफूलाई सुरक्षित ठान्छन्। नेपालका प्रहरीले पारि (भारत) गएर सहजै अपराधी/आरोपितलाई पक्राउ गर्न मिल्दैन, यसका लागि कानुनी रित पूरा गर्नुपर्छ। भारतका प्रहरीलाई पनि यही जटिलता छ। यही कानुनी जटिलताले सीमावर्ती क्षेत्रमा अपराधीलाई नियन्त्रणमा लिन समस्या छ।

अवैध हतियारको विगविगी

आसन्न स्थानीय तहको निर्वाचनलाई सुरक्षित बनाउन स्थानीय प्रशासनले हतियार बुझाउन अपील गरेको छ। तर, प्रशासनको अपीललाई लाइसेन्सवाल बन्दुकधारीले समेत पर्वाह गरेको पाइँदैन। लाइसेन्स भएका बन्दुकवालले चुनाव अवधिभर आफ्ना हतियार प्रशासनलाई बुझाउन गरेको अपीललाई मधेस प्रदेशमा बेवास्ता भएको पाइएको छ।

यता चुनाव नजिकिएसँगै मधेस प्रदेशमा अवैध सना हतियारको विगविगी भने बढेको पाइएको छ। अवैध हतियारको प्रयोगबाट घटनामा समेत बढोत्तरी भएको छ।

ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको विगविगीका कारण मधेस प्रदेशमा हत्याहिंसाका घटना बढ्ने क्रममा छन्। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ। मधेस प्रदेशका आठै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा चालु आर्थिक वर्षको फागुनसम्म ६८ वटा हत्याका घटना दर्ता भएका छन्। कुटपिटबाट २३ वटा हत्याका घटनाबाहेक सबै हत्यामा धारिलो हतियार र पेस्तोलको प्रयोग भएका छन्।

सहज पहुँच

चैत ३ गते सिरहाको धनगढीमाई नगरपालिका–११ आँपचोकबाट   स्वचालित पेस्तोलसहित सोही ठाउँका ४२ वर्षीय ब्रहम्देव यादव  पक्राउ परे। शंकास्पद रूपमा हिंडिरहेका यादवलाई जाँच्दा उनको साथबाट ‘मेड इन इटली’ लेखिएको पेस्तोल एक थान र ५ राउण्ड गोली बरामद भएको थियो। पेस्तोलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानले हतियार तथा खरखजानामा मुद्दा चलाएको छ।

प्रहरीका अनुसार यादव सीमापारिका आपराधिक गिरोहबाट खरिद गरेर ल्याएको उक्त हतियार आपराधिक घटनालाई अंजाम दिन ल्याएको हुन सक्छ। सोही क्रममा उनी बीच बाटाबाटै पक्राउ परेका हुन्।

प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप पूर्ण रूपमा रोकिएको छैन।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ।

यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीहरू बताउँछन्। करिब साढे चार सय किलोमिटर खुला सीमा नाका रहेको प्रदेशमा प्रहरी निगरानी राख्न पनि कठिन छ।

अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। मधेसमा सशस्त्र समूहको विगविगी भएको बेला पनि मधेसका जिल्लामा काम गरिसकेका एक प्रहरी अधिकारी भन्छन्, ‘अहिले त्यति भयावह अवस्था छैन तर चुनाव नजिकिंदै गएकाले चुनौती पनि कम छैन।’ छिटफुट हतियार पक्राउ परे पनि अपराधिक सूचना संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

सधैं हतियारकै त्रास

माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा हतियारको बढी त्रास फैलिएको हो। माओवादीको सशस्त्र युद्ध शान्ति प्रक्रिया मार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो। तर, मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः हतियारको त्रास सुरु भयो। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगतै ज्वाला सिंह उनीबाट अलग्गिए।

गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे। त्यसपछि त जनतान्त्रिक नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, सप्तरीको बूढो बाजेको पेडा पसलजस्तै।

जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो, मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। तर, समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन।

प्रकाशित: ५ वैशाख २०७९ ०३:४४ सोमबार

अपराधले आक्रान्त मधेस पारि अपराध वारि आश्रय अवैध हतियारको विगविगी