७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अर्जुन दास हत्या प्रकरण: कारण सेक्स, मोबाइल र नशा

गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ की धर्मा दासको मोबाइलमा एउटा अडियो म्यासेज आयो। त्यसमा एक पुरुषको आवाजमा भनिएको थियो, ‘एकदुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ। हामीले गरेर आको। हामी बोर्डरपारि छौं।

बैंगलोर जान रूपैडियामा छौं।’ त्यहाँ बोलिएको कुरा आफ्नै पति २५ वर्षीय अर्जुनका दासका बारेमा हो भनेर धर्मालाई थाहा थिएन। तर अर्जुन अघिल्लो रातिदेखि नै घर आएका थिएनन्। अर्जुन कहाँ गए भनी धर्माले बिहानैदेखि छरछिमेकमा पुगेर सोधीखोजी नगरेकी पनि होइनन्। तर कुनै अत्तोपत्तो नपाउँदा उनी चिन्तित भइरहेकी थिइन्।

मोबाइलमा अडियो म्यासेज आएपछि धर्मा सीधै इलाका प्रहरी कार्यालय लम्की पुगिन्। त्यसको केही समयमै स्थानीय अमरावती सामुदायिक वनमा टाउको छिनाइएको अवस्थामा शव भेटिएको खबर प्रहरीकहाँ पुग्यो। धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।

प्रहरीले तत्कालै घटनाका दोषी फेला पार्न सकेन। अनुसन्धान भने अगाडि बढायो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले मात्रै अनुसन्धान सम्भव नहुने देखिएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण चन्दको नेतृत्वमा विशेष टोली पनि थप गरियो। यही टोलीले घटनाको चार महिनापछि सम्पूर्ण गुत्थी पत्ता लगाएको छ।

घटनामा संलग्न रहेको भन्दै शुक्रबार महानगरीय अपराध महाशाखाले चारजनालाई सार्वजनिक पनि गरेको छ। पक्राउ पर्नेमा अर्जुनकै साथी जानकी गाउँपालिका–९ कै सुमित साउँद, ‘बमे’ भन्ने बमबहादुर बोहरा, ‘रोनी’ भन्ने दिलीप दास र मनोज भण्डारी छन्। उनीहरू सबैको उमेर १९ वर्ष रहेको छ। प्रहरी अनुसन्धानका क्रममा घटनाको कारण सेक्स, मोबाइल र नशा देखिएको छ। सेक्सबाट सुरु भएको घटनाको आधार मोबाइल हुँदै नशासम्मका पुगेर वारदात हुन पुगेको प्रहरीले जनाएको छ।

पहिलो कारण सेक्स

घटनाको पहिलो अध्याय सेक्ससँग जोडिन्छ। अर्जुनसहित अभियुक्त चारैजनाका साथी स्थानीय कमल साउँद हुन्। प्रहरीका अनुसार मृतक अर्जुनकी पत्नी धर्मालाई त्यो अडियो म्यासेज पठाउने व्यक्ति तिनै कमल थिए। घटनाको गुत्थी खोतल्न प्रहरीले सुरुमा उनैलाई पक्राउ गरेको थियो। उनी घटनाको तीन दिनअघि एक युवतीसँग शारीरिक सम्बन्धमा थिए।

सोही अवस्थामा युवतीका बुवाले उनलाई रंगेहात समातेका थिए। त्यहाँबाट उनी भाग्न सफल भए। भाग्ने बेला उनी निर्वस्त्र थिए। भागेर निस्किएका कमलले सुमित साउँदलाई कपडा लिएर आउन भने। कपडा लाइसकेपछि सुमितलाई लिएर कमल आफ्नो घरमा गएर सुते। राती सँगै सुतेका सुमित बिहान चिया खाएर मात्रै आफ्नो घरतिर लागे।

मोबाइल हराउनु अर्को कारण

बिहान एकाएक कमलको मोबाइल हरायो। उनले मोबाइल सुमितले नै चोरेर लगेको अनुमान लगाए। त्यसपछि कमलले सुमितलाई कुटपिट समेत गरेको प्रहरीको भनाइ छ। त्यो कुटपिट पनि घटनाको एक सहायक कारण रहेको प्रहरीले जनाएको छ। तर मोबाइल सुमितले चोरेका थिएनन्। मोबाइल कमलका लागि महत्वपूर्ण थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कमलले सोही मोबाइलमा पब्जी खेलेर ‘रिवार्ड’ पाउँथे। त्यसका लागि उनले धेरै खर्च पनि गरिसकेको थिए।

कुटाइ खाएका सुमित कमलसँग निकै आक्रोशित भए। निर्वस्त्र रहेको अवस्थामा कपडा दिएर सघाएको गुन बिर्सेर बिनाकारण कमलले कुटेपछि उनले नजिकका अर्का साथी मनोज भण्डारीको समूहलाई सबै कुरा सुनाए। त्यो मोबाइल खासमा अर्जुनले चोरेका रहेछन्।

अर्जुन कमलको घरमा काम गर्न नियमित गइरहन्थे। अर्जुनले मोबाइल चोरेर सिम नष्ट गरी स्थानीय हर्के भाटलाई दिएका रहेछन्। हर्के त्यो फोन बेच्न चाहिरहेका थिए। त्यो कुरा सुमितले थाहा पाए। त्यसपछि सुमितले आफूले बेचिदिने भन्दै फोन लगेर अर्जुनले चोरेर भन्दै कमललाई बुझाइदिए। कमलको घरमा अर्जुनले सघाउँदै आएका थिए। त्यसकारण उनले अर्जुनलाई केही नगर्ने भए।

आफूलाई बिनाकारण कुटेको तर मोबाइल चोर्ने अर्जुनलाई केही नगरेको देखेर सुमितलाई कमलमाथि झन् रिस उठ्यो। उनले सो कथा पनि मनोजको समूहलाई सुनाए। त्यसपछि सो समूह आफ्नो साथीलाई बिनाकारण कुटेको भन्दै कमलसँग बदला लिने ध्याउन्नमा जुट्यो।

मुख्य कारण नशा

घटनामा मुख्य कारण नशा (लागुऔषध) नै देखिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ। यो नशासँग सेक्स र मोबाइल चोरीसँगको घटना अन्तरसम्बन्धित भएर आएको छ। त्यसमा सिर्जना भएको दुस्मनी नशासँग जोडिएर हत्यासम्म पुगेको छ। बिनाकारण कुटपिट गरेपछि रिसाएका सुमित र मनोजको समूहले कुटपिट गर्ने कमल र मोबाइल चोरी गर्ने अर्जुनसँग बदला लिने योजना बुन्न लागे। कमल लुकीचोरी लागुऔषध (नाइट्राभेट) को कारोबार संलग्न थिए। त्यो कुरा सबैलाई थाहा थियो।

थाहा हुनुको कारण पनि सबै लागुऔषधका प्रयोगकर्ता थिए। सुमित र मनोजको समूहले कमलसँग उनको लागुऔषध चोरेर र अर्जुनसँग कुटपिट गरेर बदला लिने योजना बनाएको अनुसन्धानमा संलग्न डिएसपी चन्दले जानकारी दिए। सोही योजनाअनुरूप सो समूहले कमलको करिब २५ हजार रुपैयाँ बराबरको नाइट्राभेट चोरी गर्‍यो। त्यसपछि अर्जुनलाई सुमितले नशा सेवन गर्न भन्दै जंगलतिर लगे। प्रयोगकर्ता भएकाले उनले सो प्रस्ताव सजिलै स्वीकार गरे। सो समूहले सधैं लागुऔषध सेवन गर्ने ठाउँ नै हत्या भएको स्थान थियो।

सुमित र अर्जुन त्यहाँ पुग्दा सुमितका साथी मनोजसहित बमबहादुर बोहरा, दिलीप दास पनि थिए। त्यसबाहेक बादल विक, सुशील मयाल र करण दर्नाल पनि त्यहीँ रहेको प्रहरीले जनाएको छ। त्यसपछि घटनास्थलमा बसेर सबैले लागुऔषध सेवन गर्न थाले।

अन्ततः हत्या

नशामा सबै लट्ठिएपछि अर्जुनले मोबाइल चोरेको विषयमा कुरा उठ्यो। त्यसपछि सबै मिलेर अर्जुनलाई कुट्न थाले। महानगरीय प्रहरी महाशाखाका डिएसपी चन्दले अभियुक्तहरूको बयानबाट ‘चोरी गर्ने तँ, कुटाइ खाने हाम्रो साथी’ भन्दै सबै मिलेर पहिले अर्जुनलाई कुटेको देखिएको बताए। उनले भने, ‘त्यसपछि मनोजले अर्जुनलाई रूखमा बाँध्न लगाएर कुट्न थालेको देखियो।’ यसक्रममा पनि उनीहरूले लागुऔषध सेवन नछाडेको प्रहरीले जनाएको छ।

नशा बढ्दै गएपछि उनीहरूबीच ‘हत्या’को सल्लाह भयो। त्यसका लागि खुकुरी भने उनीहरूसँग थिएन। खुकुरी सुशील मयालको घरमा थियो। उनले घरमा पुगेर खुकुरी पठाएको तर आफू भने नफर्किएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसपछि पहिले मनोज त्यसपछि सुमित र दिलीपले खुकुरी प्रहार गरेरअर्जुनको घाँटी छिनालेको बयान दिएको प्रहरीले जनाएको छ। सबैजना नशाको तालमा भएको बयान उनीहरूले दिएको प्रहरीको भनाइ छ।

भारततिर भागाभाग

प्रहरीका अनुसार घाँटी छिनालिसकेपछि बिहान साढे ४ बजेसम्म पनि उनीहरू आगो बालेर त्यहीँ बसेका थिए। बिहान ब्युँझँदा भने उनीहरूको सातोपुत्लो उड्यो। उनीहरूबाट गम्भीर अपराध भइसकेको थियो। त्यसपछि उनीहरूले भारत भाग्ने योजना बनाए। त्यहाँबाट उनीहरू जंगलको बाटो हुँदै भारत पुगे। भारतमा पनि दिल्ली र मुम्बईसम्मको भ्रमण उनीहरूले गरे। जहाँ बसे पनि उनीहरूले प्रहरीलाई समेत झुक्याउने गरी सामाजिक सञ्जालमा भिडियो हालेका थिए।

यता प्रहरी अनुसन्धानले उनीहरूलाई दोषी पाइसकेको थियो। अर्जुनकी पत्नी धर्मासम्म पुगेको अडियोले प्रहरीलाई ‘क्लु’ दिइसकेको थियो। ‘त्यसमा कुराकानी गरेको आवाज मनोजले कमलसँग गरेको कुराकानीको थियो,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले भने, ‘कमलले आफू पनि फस्छु भन्ने डर र आफ्नो यसमा कुनै संलग्नता नभएको देखाउन धर्मालाई अडियो पठाएका हुन्।’

त्यहीँ ‘क्लु’बाट प्रहरीले घटनाका दोषी पहिचान गरिसकेको थियो। तर उनीहरू सीमापार थिए। यसकारण प्रहरीले दोषीको पहिचान गोप्य राख्यो।

यसैक्रममा केही समयअघि उनीहरू नेपाल फर्किन लागेको सूचना प्रहरीलाई प्राप्त भयो। ‘रूपन्देहीको बेलहिया नाकामा आएको र लुकीछिपी बसेको भन्ने सूचना आयो,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता कोइरालाले भने, ‘त्यो सूचनापछि भैरहवाको प्रहारीसँग समन्वय गरेर हामीले पक्राउ गर्न सफल भएका हौं।’ प्रहरीले घटनामा अन्य ६ जनाको पनि संलग्नता रहेको जनाएको छ। उनीहरूको पनि खोजी भइरहेको महाशाखाले जनाएको छ। घटनाको अभियोजन भने कैलाली प्रहरीले गर्ने र मुद्दा पनि कैलाली जिल्ला अदालतमा हुने महानगरीय अपराध महाशाखाले जनाएको छ। त्यसैले पक्राउ परेका चारैजनालाई कैलाली पठाइने भएको छ।

घटनाको सुरुआतमा शारीरिक सम्पर्कमा संलग्न भएको र धर्मालाई अडियो म्यासेज पठाउने कमल भने हत्यामा संलग्न नभेटिएको प्रहरीले जनाएको छ। तर उनीविरूद्ध जबर्जस्ती करणीमा भने मुद्दा दायर भएकाले अहिले पुर्पक्षका लागि थुनामा राखिएको छ।

प्रकाशित: २ वैशाख २०७९ २३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App