१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

जुडशीतल पर्व मनाइँदै

लहानकी जेष्ठ नागरिक टोलकी नातिनीलाई जलसिंचन गरी अर्शिवाद दिदैँ। तस्विरःनागरिक

मिथिलाञ्चल तथा मधेसका जिल्लामा आज(शुक्रबार) जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ। यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन छ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्धेश्य रहेको छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरि काममा सफता पाइरहुन्।

यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद दिन्छन्।

जुडशीतल प्रकृति पूजाको पर्व हो। जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ। यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ। विभिन्न किसिमका तरुवा, करीबरी, सजिवनको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन(बैशाख २ गत्ते) राती चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता चलिआएको छ।

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको छ। यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ। यसमा पूर्खाका लागि भनेर जलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ। साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ।

आजै दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ। कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ। यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ। सुकिसकेको ईनार र पोखरीमा नयाँ जलले सिंचित गर्ने गर्छ। यो पर्वको साईत पारेर ईनारको पानीमा चुना राखि तिनलाई स्वच्छ बनाउने ग्रामिण चलन छ।

आरामको क्षणमा आत्मीयता बढाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ। जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाले बताउँछन्।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ।

विक्रम संवतको आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ ।  जुडशीतल दुई दिवसीय पर्व हो। पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ। गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरु भएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात वैशाख २ गते अति नै भव्य र धुमधामका साथ मनाइन्छ।

यो दिन पारेर सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा रहेको एतिहासिक धार्मिक पताल पोखरीमा सन्तानको भाकल गर्दै नुहाउन आउनेको भीड लाग्छ। त्यसैगरी, ब्रम्हान, पडकडियागढ, मानिक दहमा मेला लाग्छ। बैशाख १ गत्ते फुलवारी मेला भर्न आएका भारत र अन्य जिल्लाका श्रद्धालु उल्लेखित मेला भरेर घर फर्कन्छ।

प्रकाशित: २ वैशाख २०७९ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App