७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरको बिस्का जात्रा: ढालियो ल्योसिंद्य

बिस्का जात्राको क्रममा भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य (लिंगो) बिहीबार साँंझ ढालिएको छ। बिहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य बिहीबार नै साँंझ ठिक सात ढालेको हो। सुरु भएको झण्डै दस मिनेटमै सो लिंगो ढालिएको थियो।

परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्त अर्थात् यो वर्ष बुधबार साँंझ उठाइसक्नुपर्ने थियो। तर उठाउन सकिएन। त्यसपछि ल्योसिंद्योलाई बिहीबार मात्रै उठाइयो।

वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो। अघिल्लो वर्ष उठाएर नयाँ वर्षमा ढाल्नुपर्ने परम्परा भए पनि वर्षको अन्तिम दिन उठाउन नसक्दा वर्षको पहिलो दिन नै उठाएर त्यही दिन ढाल्ने परम्परा छ। यसरी परम्परा अनुसार वैशाख १ गते बिहीबार ल्योसिंद्य ढालिएको हो।

प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ५५ हात लामो यो ल्योसिंद्य उठाइन्छ र ढालिन्छ। ५५ हात लामो र ठूलो भएका कारण यो ल्योसिंद्य यस मात्रै मात्रै होइन, गतवर्ष पनि निर्धारित दिनमा उठाउन असफल भएको थियो।

आठ वटा डोरीको सहायताले सयौं युवाको सामूहिक बल प्रयोगबाट मात्रै यो ल्यासिंद्यो उठाउन सफल हुन्छ। नयाँ वर्षको साँझ डोरीको सहायताबाटै ल्योसिंद्य ढालिन्छ।

आठ रात नौ दिन लामो बिस्का जात्राको सबैभन्दा बढी मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु र ढाल्नु हो। यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारांै जात्राप्रेमी यो जात्रा हेर्न आउने गर्छन्।

यसअघि नयाँ वर्ष चार दिनअगाडि प्रसिद्ध पाँंचतले मन्दिर टौमढीअगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो। प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्का जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताएतर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर,काभ्रेपलान्चोक लगायतबाट सयौं मानिस आउने गर्दछन्।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन्। राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए। तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे। राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिंगरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए। ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौं, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे।

भोलिपल्ट सधैंझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नागनागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए। अजिंगरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिंगो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ। यसबाहेक पनि जात्रासम्बन्धी अनेक किम्बदन्ती छन्।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्छ।

प्रकाशित: २ वैशाख २०७९ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App