६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व

मोरङका राजवंशीहरूको सिरुवा पर्व सुरू भएको छ। एक अर्कामा हिलो छ्याप-छ्याप गरेर मोरङका राजवंशी समुदायले सिरुवा पर्व मनाउने गरेका छन्।

तीन दिनसम्म मनाइने यो पर्वलाई राजवंशीहरूले ‘काद सिरुवा’ पर्व भन्ने गरेका छन्। तीन दिनसम्म राजवंशीहरूले मनाउने काद सिरुवापर्वको अवसरमा यो वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेर एक अर्कालाई हिलो छ्यापा-छ्याप गर्दै नयाँ वर्षसँगै सिरुवा पर्वको शुभकामना आदान-प्रदान गरिएको छ।

सिरुवा पर्वका अवसरमा राजवंशी समाज विकास समितिको केन्द्रीय, जिल्ला तथा स्थानीय इकाई समितिले संयुक्त रुपमा मोरङको कटहरीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमका सहभागिले एक अर्कालाई हिलो दलेर खुशीयाली साटासाट गरे। हिलो खेल्ने क्रममा युवा-युवतीहरुले आफू भन्दा ठूलाबाट आर्शिवाद लिने चलन रहेको छ। 

सिरुवा पर्व मनाउँदा रोग व्याधी अन्त्य हुने मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यस्तै मानव जीवन र किसानहरूको माटोसँगको सम्बन्ध दर्शाउने उद्देश्यले पारम्परिक रुपमा राजवंशीहरूले काद सिरुवापर्व मनाउने गरेको आयोजक राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भिमराज राजवंशीले बताए।

चालु वर्षको समापनका दिन हिलो सिरुवा खेल्दै राजवंशी समुदायले तीनदिने सिरुवा पर्वको सुरुवात गर्छन्। राजवंशी समुदायले सिरुवाको पहिलो दिन अर्थात् चैत मसान्तका दिनकाद सिरुवा, दोश्रो दिन वैशाख १ गते पानी सिरुवा र वैशाख २ गते रंग सिरुवा मनाउँछन्।

नयाँ वर्षको सुरूवात सँगै वैशाख १ गतेबाट महिनाभरि सुनसरी मोरङका विभिन्न स्थानमा रहेका ग्राम थानहरुमा मेला समेत लाग्ने गरेको छ। चैत महिना समापन सँगै यस क्षेत्रका किसानहरु गहुँ, मुसुरो, चना र खेसारीको बाली भित्र्याइसकेका हुन्छन्। बाली भित्र्याइसकेको फुर्सदिलो समयमा वैशाख महिनाभरि किसानहरु एक गाउँबाट अर्को गाउँमा भएका आफन्तहरुकोमा मेला भर्न मेजबानी जाने चलन समेत छ।

मोरङको धनपालथानमा वैशाख १ गते राजा धनपाल थाना ग्राम देउतालाई तथा सुन वर्षीको भेरुवा थानमा पूजा गर्दै औपचारिक रुपमा मेलाको सुरुवात हुने गर्छ भने ग्रामथान गाउँपालिकामा रहेको गिधनियमा रहेको ग्राम देउतालाई पूजा गरेपछि वैशाख मेलाको समापनहुने गर्छ।

परम्पारगत रुपमा मनाइँदै आएको सिरुवा पर्व राजवंशी समुदायको मात्रै नभइ यस क्षेत्रमा बसोबार गर्ने जातजाती धर्म, समुदायको साझा पर्वका रुपमा स्थापित हुँदै गएको छ।

प्रकाशित: १ वैशाख २०७९ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App