२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

थारु समुदायको परम्परागत ‘ठाँटी घर’ बनाउँदै प्रदेश सरकार

बाँकेको राप्ती सोनारी ३ नवलपुरमा ‘ठाँटी घर’ शिलान्यास गर्दै लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी। तस्बिरः अर्जुन/नागरिक

लुम्बिनी प्रदेश सरकारले थारु बस्तीमा परम्परागत संरचना निर्माण गर्न थालेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नवलपुरसहित ७ स्थानमा परम्परागत ‘ठाँटी घर’ निर्माण गर्न थालिएको हो।

‘ठाँटी घर’ लाई थारु समुदायको परम्परासँग जोड्ने गरिन्छ। परम्परागत ठाँटी घर निर्माण गर्ने योजना अगाडी बढाइएको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले बताए। थारु साँस्कृतिक खुल्ला संग्रहालय तथा साँस्कृतिक ग्राम निर्माण आयोजना अन्तर्गत ठाँटी घर निर्माण गर्न लागिएको उनको भनाई छ।  

थारु समुदायमा पहिले–पहिले बाहिरबाट आउने पाहुनालाई आफ्नो मुल घरमा नसुताउने चलन थियो। पाहुनालाई मिठो खुवाउने, तर मुल घरमा नराखेर ठाँटी घरमा सुताउने गरिन्थ्यो। थारु समुदायको यो बैठक घर पनि हो। परम्परासँग जोडिएपनि पछिल्लो समयमा ठाँटी घर बनाउने चलन थारु समुदायमा हट्दै गएको थियो।

पुरानो सँस्कृती र परम्परालाई जोगाउन तथा थारु सँस्कृती र परम्परालाई प्रदेश सरकारले अहिले पर्यटनसँग जोड्ने प्रयास गरेको हो। लुम्बिनी प्रदेशको बाँकेमा ३ सहित ७ वटा गाउँमा यस्ता घर निर्माण गर्न ७ करोड रुपैयाँ खर्च गरिने मन्त्री चौधरीले जानकारी दिए।  

प्रदेश सरकारले पूर्वाधार निर्माणसँगै थारु समुदायका परम्परागत नाँचको प्रवर्द्धन पनि गरिने बताए। ‘हरेक गाउँमा छुट्टा–छुट्टै नाँच सिकाउँछौं, थारुको हरेक चाडपर्वको क्यालेण्डर बनाउँछौं,’ उनले भने, ‘त्यसपछि पर्यटकहरु थारुको चार्ड मनाउन आउनेछन्, पर्यटकले थारुको शुद्ध चाडपर्व मनाउन पाउनेछन्, शुद्ध खाने कुरा खान पाउनेछन्।’  

थारु समुदायको पुरानो सँस्कृतीलाई बेच्न ठाँटी घर निर्माण गर्न थालिएको बताए। मन्त्री चौधरीका अनुसार बाँकेको राप्ती सोनारी, बैजनाथको गाभर र कोहलपुरस्थित थारु गाउँमा ठाँटी घर निर्माण गर्ने मन्त्रालयको योजना छ।  

यस्तै दाङ, पाल्पा, प्युठान लगायत जिल्लामा पनि थारुसहित विभिन्न जातीका परम्परागत पूर्वाधार निर्माण गर्ने तयारी रहेको उनले जनाए। ‘लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये हामीले बाँकेबाट सुरु गरेका छौं, हामीले आफ्नो पुरानो सँस्कृती, चाल चलन र रितिरिवाजलाई बचाउन सक्यौ भने हामीले टन्न पर्यटन भित्र्याउन सक्छौं,’ मन्त्री चौधरीले थपे। यसबाट एकातिर हजारौंले रोजगारी पाउने र अर्कोतिर सँस्कृती र परम्परा पनि जोगाउन सकिने बताए।  

उनले भने, ‘हामी सबै सँस्कृतीका धनी छौं, सँस्कृतीलाई बेचेर जनतालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ।’

पर्यटन मन्त्री चौधरीले राप्ती सोनारी ३ नवलपुरमा पुगेर ‘ठाँटी घर’ को औपचारिक रुपमा शिलान्यास गरिसकेका छन्।  

शिलान्यासका क्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, राप्ती सोनारी ३ का समाजसेवी शंकर महतरा लगायतले थारु समुदायको सँस्कृती र परम्परालाई ब्यवसायिकरण गर्न सकेमा रोजगारीका लागि विदेश जानु नपर्ने बताए।

प्रकाशित: १९ चैत्र २०७८ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App