८ वैशाख २०८१ शनिबार
समाज

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ।

गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रूपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ। गाउँपालिकाका विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारीसमेत २७ जनाउपर गैरकानुनी लाभ लिएर सरकारी सम्पत्तिमा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दर्ता गरेको हो।

लिखु तामाकोसी–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध संयुक्तरूपमा ३५ लाख २ हजार रूपैयाँ माग दाबी लिइएको छ। त्यसैगरी, लिखु–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार रूपैयाँ माग दाबी लिइएको छ। लिखु–४ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनीता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध संयुक्त रूपमा ४२ लाख ५३ हजार रूपैयाँ अख्तियारको माग दाबी छ।

विद्युतीकरणका लागि सामान आपूर्ति गर्ने पाइक कन्स्ट्रक्सन प्रालि काठमाडौंका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध ४२ लाख ३५ हजार रूपैयाँसहित जरिवाना माग दाबी छ। लिखु–१ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव युवराज सुनुवारविरुद्ध संयुक्त रूपमा १ करोड २ लाख रूपैयाँ माग दाबी गरिएको छ।

त्यसैगरी लिखु–१ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोकाविरुद्ध संयुक्त रूपमा ८४ लाख ९१ हजार रूपैयाँ माग दाबी गरिएको छ। लिखु तामाकोसी–१ उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घण्टिकादेवी सुनुवार, सचिव क्याल्बु तामाङविरुद्ध संयुक्त रूपमा ३२ लाख २९ हजार रूपैयाँ मागदाबी गरिएको छ। थप विद्युत् प्रसारण योजना उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार, कोषाध्यक्ष दिलमाया थापा, सचिव प्रकाश सुनुवारविरुद्ध संयुक्त ६६ लाख ७० हजार रूपैयाँ माग दाबी छ।

त्यसैगरी लिखु तामाकोसी गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन लेखापाल नोर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार रूपैयाँ बिगो माग दाबी गरिएको छ। गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईविरुद्ध ३ करोड ८ लाख १८ हजार रूपैयाँ माग दाबी लिइएको छ।

लिखुको दुरागाउँमा विद्युतीकरणका लागि सामान खरिद गर्दा समिति नै नबनाई, टेन्डर जारी नगरी आफू अनुकूल उपभोक्ता समिति गठन गरी काम गरेको अख्तियारको दाबी छ। विद्युतीकरणका लागि कुनै अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो।

गाउँपालिकाबाट आव २०७४/०७५ र २०७५/०७६ मा वडा नं. ४ र ५ का केन्द्रीय प्रसारण लाइन वरपरका बस्तीसमेतमा विद्युतीकरण योजना कार्यान्वयन गर्दा अध्यक्ष खड्कासहित विद्युतीकरण उपभोक्ता समितिका अध्यक्षहरू, सचिवहरू, कोषाध्यक्षहरूको मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ। सरकारी रकम हानि नोक्सानी गरी उपभोक्ता समितिसँग विद्युतीकरणजस्तो काम गर्न पनि योजना सम्झौता गरी विनियोजित रकमको जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम समावेश नभएको लागत अनुमान स्वीकृत गरिएको अख्तियारले भेटेको हो।

विभिन्न शीर्षकको खर्चबाट गरिएको थप विद्युतीकरणमा प्राविधिक लागत अनुमानबिना फेज परिवर्तन गराइएको, खरिद समिति नबनाई ट्रान्सफर्मर, पोलजस्ता विशेष महत्वपूर्ण सामग्री सोझै आपूर्तिकर्ताबाट खरिद गरिएको अख्तियारले जनाएको छ। विभिन्न फर्महरूको नामबाट कोटेसन लिएको देखाई एउटै व्यक्तिबाट आवश्यकभन्दा अस्वाभाविक बढी सामान खरिद, ढुवानी गराई हिनामिना गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

कतिपय सामान हिनामिना गरिएको, केही सामानको अस्वाभाविक मूल्य तिरिएको, खर्च बढी गरिएको, अभिलेख नराखी उपभोक्ता समितिलाई जिम्मा दिइएको आरोपपत्रमा उल्लेख छ। पोल गाड्ने, तार तान्ने, जडानसमेतको श्रमिक काममा ठेक्का दिई गर्न नहुनेमा कानुनविपरीत पाइक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको थियो।

श्रमिक खर्चमा समावेश भएको मूल्य अभिवृद्धि करसमेत उपभोक्ता समितिलाई भुक्तानी गराई सञ्चालक अमृतबहादुर तामाङसँगको मिलेमतोमा तार तान्ने, ज्यालाको काममा फिल्डमा खुद गरेभन्दा बढी काम देखाइएको आरोपपत्रमा उल्लेख छ। योजना सम्झौताका सर्तहरू, गाउँ कार्यपालिकाको निर्णय र विद्यमान कानुनविपरीत प्राविधिक मूल्यांकनको प्रतिवेदन, नापी किताब, प्रतिवेदन र अनुगमन प्रतिवेदन, बिनासामान खरिद ढुवानी र पोल तार जडानको श्रमिक कामको बिल बनाई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। लिखु तामाकोसी ४ र ५ को विद्युतीकरणमा १ करोड २६ लाख ७५ हजार रूपैयाँ हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७८ ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App