२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीका एसपी प्रसाईँ तानिए प्रधान कार्यालय

नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी कृष्णप्रसाद प्रसाईँ प्रहरी प्रधान कार्यालय तानिएका छन्। सर्लाहीमा शान्ति सुरक्षा दिन असफल भएपछि एसपी प्रसाईँलाई स्थानीय तहको चुनावको मुखमा प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

एसपी प्रसाईँ प्रधान कार्यालय तानिए पछि सर्लाहीको प्रहरी प्रमुखमा एसपी प्रवीण पोखरेल आउने भएका छन्। नेपाल प्रहरीको सर्लाही प्रमुखमा एसपी पोखरेलको पदस्थापन हुने भएको स्रोतले जनाएको छ।

गत असोजमा सर्लाही जिल्लाको सुरक्षा निकायका प्रमुखहरु सार्वजनिक स्थानमा जुवातास खेलेको भन्दै निकै आलोचना भएपछि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुखसँगै नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष राठौरको सरुवा भएको थियो।

एसपी राठौरको ठाउँमा सर्लाही प्रमुखमा आएका एसपी प्रसाईँले सुरुका केही महिना शान्ति सुरक्षामा कडाइ गरेको भएपनि पछि असफल बन्दै गएका थिए। नेपाली कांग्रेसको वडा तथा नगर अधिवेसनमा धेरै ठाउँमा ठूलो विवाद र दर्जनौँ मानिस घाइतेसम्म भएका थिए।

गतहप्ता संघीय सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण हुँदा पनि शान्ति सुरक्षाको कमाण्ड राम्रो नभएको भन्दै एसपि प्रसाईँको आलोचना भएको थियो। घटनामा नेपाल प्रहरीका असई पनि घाइते हुनुका साथै हतियार गोली खोसिएको सार्वजनिक भएको थियो।

सर्लाहीमा पछिल्लो चरणमा शान्ति सुरक्षा कमजोर हुनुका साथै नेपाल–भारत बोर्डरमा तस्करी निकै बढेको भनी सर्वसाधारणले आलोचना गर्न थालेका थिए। सर्लाहीमा सवारी दुर्घटनामा पनि व्यापक वृद्धि भएको देखिएको छ।

स्थानीयतहको चुनावको लागि करिब डेढ महिना बाँकी छँदा शान्ति सुरक्षाको मुख्य जिम्मा रहने नेपाल प्रहरीका सर्लाही प्रमुखलाई प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको स्रोतको दाबी छ।

नेपाल प्रहरीको सर्लाही प्रमुखमा आउन थालेका एसपी पोखरेलका अगाडि चुनौतीको चाङ रहेको सर्लाही बासीको प्रतिक्रिया रहेको छ। चुनावको समयमा शान्ति सुरक्षा कायम गर्नु, वन फडानी नियन्त्रण गर्नु र तस्करी नियन्त्रण गर्नुका साथै सडक सुरक्षा कायम गर्नु तत्कालका मुख्य चुनौती भएको सर्लाहीको मलंगवाका एक बुद्धिजीवीले बताएका छन्।

प्रकाशित: १६ चैत्र २०७८ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App