३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

धनगढीमा हत्या गरेर फालिएको शवकाे सनाखत

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ। भारत उत्तरप्रदेश शाहजापुर घर भएका ४२ वर्षीय कुलदिप गुप्ताको शव भएको प्रहरीले बताएको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाँई जोड्ने सडकको छेउमा सोमबार बिहान हत्या गरेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो।

चारैतिर वाक्लो वस्ती रहेको सवारीसाधन ओहोर दोहोर भैरहने सडक छेउको खोल्सामा बिहान पौने १० बजेतिर एक युवतीले शव देखेपछि प्रहरीलाई खवर गरेकी थिइन्। गाला पट्टीको साईटमा र कंचटमा ठूलो चोट लागेको अवस्थामा शव फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताएका छन्। यसैगरि शरीरमा पनि चोटपटक लागेको थियो।

शव नजिकै रगत लागेको काठको टुक्रा पनि भेटिएको उनले बताए। उत्तरतर्फ माथिसम्म सडकमा रगतको थोपा भेटिएको थियो। उक्त रगतको थापा उनकै हो वा होइन भनेर एकिन हुन सकेको छैन। अनुसन्धानको लागि सडकमा पोखिएको रगत पनि संकलन गरेको प्रहरीले बताएको छ। प्रहरीले रगत लागेको काठको टुक्रा लगायत शव फेला परेको ठाउँबाट अन्य प्रमाणहरु पनि संकलन गरेको छ। धनगढी केन्द्रमै हत्या गरेर फालिएको अवस्थामा शव फेला परेपछि ठूलो संख्यामा सर्वसाधारण पनि भेला भएका थिए।

प्रहरीले तालिम प्राप्त कुकुर पनि घटनास्थलमा लगेको थियो। कुकुर शव फेला परेको ठाउँबाट दक्षिण तर्फ गएको थियो। कुकुरले पनि स्पष्ट दिशा देखाउन नसकेको प्रहरीले बताएको छ। घटनास्थलको प्रकृति हेर्दा अन्यत्र हत्या गरी त्यहाँ ल्याएर फालेको हुन सक्ने प्रहरीको आकंलन छ।

‘गाला छेउको भागमा पुरै चोट छ, शरीरमा पनि चोट छन्, घटनास्थलमा रगत छैन’, प्रहरी नायव उपरीक्षक जोशीले भने,‘कतै हत्या गरेर ल्याएर यहाँ फालेको जस्तो देखिन्छ।’

तालिम प्राप्त कुकुरले पनि केहि परसम्म गएपनि स्पष्ट दिशा दिन नसकेको र मृतक गुप्ताले मोवाईल पनि नबोक्ने भएकाले गुप्ताको हत्याको अनुसन्धान जटिल बनेको बुझिएको छ।

को हुन गुप्ता?

भारतको उत्तरप्रदेश साहजापुर घर भएको गुप्ता धनगढीमै हुर्के बढेका हुन्। किशोर अवस्थादेखि नै धनगढीमा बिभिन्न व्यवसाय गर्ने गरेका थिए। आईसक्रिम बेच्ने, ठेलामा फलफूल लगायत समान बेच्ने व्यवसाय गर्ने गुप्ता करिव २५, २६ वर्ष धनगढीमा बसे। उनका ३ भाई पनि धनगढीमै छन्। कोराेना संक्रमणका कारण लामो समय लकडाउन भएपछि परिवार पाल्न गाह्रो भयो। उनी श्रीमती, बालबच्चासहित ससुराली बस्ने गरेको राजिस्थान गए। उनका तीन भाई भने धनगढीमै थिए। उनी शनिबार मात्र राजिस्थानबाट धनगढी आएको उनका भाईले प्रहरीलाई बताएका छन्।

उनका साईला र कान्छा भाई धनगढी गाउँमा बस्छन्। शनिबार दाजु आएर आफ्नो घरमा बसेर आईतबार बिहानै गएको उनीहरुले प्रहरीलाई बताएका छन्। यसैगरि जिल्ला प्रहरी कार्यालय नजिकको सडकमा गुप्ता आईतबार राती ९ बजे एक्लै हिँडिरहेको सिसि क्यामेरामा देखिएको प्रहरीले बताएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App