१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमपहिरोमा पुरिएर चौरी मरे

थासाङमा कत्तिक अन्तिममा झरेको हिमपहिरो। फाइल तस्बिरः नागरिक

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ। टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पुर्‍याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।

थासाङ गाउँपालिका–२ वडासडस्य गौतम शेरचनका अनुसार थासाङ–२ छिप्लुङ भन्ने ठाउँमा टुकुचे पिकबाट हिमपहिरो झरेको छ। गत कात्तिक अन्तिममा पनि यही ठाउँमा भीषण हिमपहिरो आएको थियो। त्यो बेला पनि मानवीय क्षति भएको थिएन। कात्तिकमा र अहिले हिमपहिरो झरेको ठाउँ नजिकै पर्छन। तर, कात्तिकको भन्दा अहिलेको केही सानो आकारमा पहिरो झरेको शेरचनले बताए।

शनिबार बिहानको हिमपहिरोले पुरिएर नाउरीकोटकी सुशीला गौचनका चौरी क्षति भएका छन। १३ वटा चौरी मरेको र १० वटा अझै हराएको शेरचनले जानकारी दिए। १६ वटा चौरी भने जिवित भेटिएका छन्।  तर,जिवित भेटिएका चौरी पनि घाइते छन। गौचनको गोठमा ३९ वटा चौरी थिए।  

‘रातीको समयमा हिमपहिरो झरेको छ। मानवीय क्षति नभएपनि पशु क्षति भएका छन,’ उनले भने, ‘चौरीका हेरालु कामले बजार झरेकोले मानवीय क्षति हुन पाएन।’ उनका अनुसार हराएका १० वटा चौरी पुरिएको आशंका छ। खोतलेर हेर्न सकिने अवस्था नभएको उनले बताए। ‘पहिरोले थुपारेको गेग्रानमुनि पुरिएको आशंका छ। बेगले आएको हिमपहिरोले उछिट्याएर अन्यत्र लगेको भएपनि भेटिनुपर्ने हो,’ उनले भने। 

उनका अनुसार एउटा चौरीको कम्तिमा ९० हजार रुपैयाँ पर्छ। उमेर अनुसार चौरीको मुल्य तोकिन्छ। खर्क पनि पर्ने भएकोले यो क्षेत्रमा गोठ बनाएर चौरी पालन गरिन्छ। तर, अघिल्लो पटक हिमपहिरो आउँदा क्षति भएपछि केहीले यहाँको गोठ अन्यत्र सारेका थिए। तर, सुशीलाको मात्र गोठ थियो। ‘अघिल्लो पटक पनि हिमपहिरो आएपछि स्थानीय डराएर अन्यत्रै गोठ सारेका थिए,’ उनले भने, ‘तर, सुशीलाको गोठ भने त्यही क्षेत्रमा थियो।’

अघिल्लो पटक हिमपहिरो आएकोले फेरि यत्तिछिटै हिमपहिरो आउने सम्भावना कम रहेको भन्दै स्थानीयले गोठ हटाएका थिएनन। तर, त्यही ठाउँमा फेरि अर्काे ढिस्को खसेको वडासदस्य शेरचनले बताए। 

धवलागिरी रेञ्जको टुकुचे पीकबाट कात्तिक अन्तिममा हिमपहिरो आउँदा भागाभाग भएको थियो। उनका अनुसार हिमपहिरो झरेको ठाउँबाट सबैभन्दा नजिकका बस्ती नाउरीकोट र बोक्सीखोलाका हुन्। यो पटक पहिरो उत्तिसारो भीषण नभएकोले बस्तीसम्म उत्तिसारो नपुगेको उनले बताए। ‘हामीले त बिहान ८ बजेपछि मात्र हिमपहिरो झरेको थाहा पाएका थियौँ। हिमपहिरोले चौरी पुरिएको थाहा पाएपछि खोजीका लागि भेला भएका छौ,’ उनले भने। 

बारम्बार एकै ठाउँमा हिमपहिरो आउँदा स्थानीय त्रसित बनेको उनले बताए  ‘हिमपहिरोको जोखिम बढिरहेको छ। बस्तीमा कुनैपनि बेला क्षति हुनसक्छ,’ उनले भने, ‘सधैंको डरत्रास उत्पन्न भएको छ। तल्लो भेगमा रहेका बस्ती जोखिममा छन्।’ बारम्बार एकैठाउँमा सिरानबाट हिमपहिरो झर्दा स्थानीयबासी त्रसित बनेको उनले बताए। कुनैपनि बेला भीषण हिमपहिरो झरेर बस्ती नै पुर्ने त्रास बढिरहेको उनले बताए।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले बिहान चारबजेतिर हिमपहिरो आएको बताए। उनका अनुसार मानवीय क्षति नभएपछि पशुचौपायामा भने क्षति भएको छ। ‘पशुचौपाया पुरिएको थाहा पाएका छौ। खोजीका लागि प्रहरी पुगेको छ,’ उनले भने। कात्तिकमा र अहिले हिमपहिरो झरेको एउटै ठाउँ भएको उनले बताए। उनका अनुसार कात्तिकको भन्दा केही सानो आकारमा पहिरो झरेकोले बस्तीमा पुग्न पाएको थिएन। 

यसअघि पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका थिए  पहिरोको थप जोखिम अवस्थाबारे पहिल्याइदिन स्थानीयले अनुरोध गरेका थिए। तर, त्यसबारे कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ।

प्रकाशित: २१ फाल्गुन २०७८ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App