२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ। एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरे।

गाउँमैत्री अक्षयकोषले निर्माण गर्न लागेको संग्रहालय भवनमा दुई करोड रूपैयाँ बढीको लागत अनुमान छ। चालु आवमा गण्डकी प्रदेश सरकारले दिएको ५० लाख बजेटबाट तला ढलानसम्म गरिने भएको छ। ‘भवनको भित्री संरचना र साजसज्जाको काम आउँदो वर्ष गर्ने लक्ष्य छ,’ अक्षयकोषका अध्यक्ष हेमराज आश्रमले भने।

उनका अनुसार सबै पूर्वाधार खडा गरेपछि दुई वर्षभित्रमा संग्रहालयलाई पूर्ण स्वरूपमा सञ्चालनमा ल्याइनेछ। अक्षयकोषले गत साउनदेखि नै संग्रहालय निर्माणका लागि पूर्वाधार तयारी र लोकवाद्य यन्त्र संकलनको काम थालेको थियो। अक्षय कोषका नाममा यसअघि रहेको जग्गामा थप साढे दुई रोपनी जग्गा जोडेपछि भवन निर्माण अघि बढेको हो।

संग्रहालयमा विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा संग्रह गर्ने महत्त्वाकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ। हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका लोकबाजा संकलन गरिएको छ। अक्षयकोषले सांस्कृतिक संग्रहालयको योजना ल्याएपछि गत आवमा पनि प्रदेश सरकारले १० लाख बजेट उपलब्ध गराएको थियो। उक्त बजेटमध्ये ५ लाख नगरा (दमाहा) र बाँकी अक्षयकोषको कार्यालय भवन बनाउँदा खर्च भएको थियो।

दुई सय ८० किलोको उक्त नगरालाई अक्षयकोषले ‘देशकै ठूलो’ भनेर दाबी गर्दै आएको छ। अबदेखि सालैपिच्छे नयाँ वर्षका दिन त्यो नगरा बजाइने भएको छ। निर्माणाधीन संग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा पनि राखिएको छ। भवनले पूर्णता पाएपछि संकलित लोकबाजालाई व्यवस्थित रूपमा संग्रह गरिनेछ। 

प्रकाशित: २० फाल्गुन २०७८ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App