१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

जनकपुरधामबाट पर्यटकीय नगरी पोखराका लागि हवाई उडान सुरु भएको छ। जनकपुरधाम–पोखरा हवाई उडान बिहीबार सुरु भएको हो। जनकपुरधामस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरका अनुसार जनकपुरधाम–पोखरा उडान सातामा तीन दिन हुनेछ। पछि यात्रुको चाप र मागअनुसार उडान नियमित गरिनेछ। अहिले साताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि बुद्ध एयरले उडान भर्ने उनले बताए।

दुई सहरबीच हवाई उडान सुरु भएपछि जनकपुरधाम आउने पर्यटक अब सहज र सुरक्षित रूपमा हवाई यात्रामार्फत प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरी पोखरा पुग्नेछन्। र, पोखराबाट पनि हवाईमार्ग भएर पर्यटक धार्मिक र सांस्कृतिक नगरी जनकपुरधाम आउनेछन्। हवाई उडान सुरु भएपछि दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। गत असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दुई पर्यटकीय सहरलाई हवाई उडानले जोड्नुपर्ने प्रस्ताव गरेका थिए।

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

उनीहरूमा पोखरालगायत मुक्तिनाथको दर्शन गर्न पनि उत्तिकै रुचि राख्छन्। जनकपुर–पोखरा हवाई उडान सुरु भएपछि केही समयमै उनीहरू पोखरा पुग्न सक्नेछन्। हवाई उडानले मधेस–पहाडबीच सम्बन्ध स्थापित गर्दै पर्यटन विकासमा सहयोग पुर्‍याउनेछ। पर्यटन  प्रवर्द्धनमा यो उडान ठूलो फड्को नै हुने स्थानीयको विश्वास छ।

मधेस प्रदेशका सांस्कृतिक धार्मिक पर्यटकीय स्थल

मधेस प्रदेश धार्मिक पर्यटनका लागि आकर्षक केन्द्र मानिन्छ। मधेस प्रदेश सरकारले तयार पारेको घुम्नैपर्ने प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको सूचीको पहिलो स्थानमा जानकी मन्दिर छ। जानकी मन्दिरलाई यस प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रदेश सरकारले प्रवद्र्धन गरेको छ। जानकी मन्दिर नेपालमा बस्नेका लागि मात्रै नभई विश्वभरिकै हिन्दु धर्मावलम्बीहरूको आस्था केन्द्र मानिन्छ। जानकी मन्दिर यस प्रदेशमै सबैभन्दा बढी पर्यटक आउने ठाउँ हो।

सन् १९११ मा जानकी मन्दिरको निर्माण गरिए पनि मध्य भारत लोहागढका सन्त सुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। सुरकिशोर दास जानकीका अनन्य भक्त थिए। जनश्रुतिअनुसार एकपटक उनलाई मिथिलाधाम दर्शन गर्न मन लागेछ। तर मिथिलाधाम कुन ठाउँमा पर्छ भन्ने उनलाई थाहा थिएन। एकदिन जानकी नै उनको सपनामा आएर जनकपुरधामको बाटो देखाएको भन्ने किंवदन्ती छ। १४१७ सालमा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोर दास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ। १७८४ मा मकवानपुरका राजा माणिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा जग्गा दान दिएको लिखत अझै छ।

पछि निःसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले जानकीसमक्ष पुत्र प्राप्तिको इच्छा व्यक्त गरिन्। उनको मनोकामना पूरा भएपछि विशाल मन्दिरको निर्माण गरेको भनाइ छ। त्यतिबेला ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएकाले जानकी मन्दिरलाई नौलखा मन्दिरसमेत भन्ने गरिन्छ। मन्दिर निर्माणका लागि सन् १८९४ मा शिलान्यास गरिएको थियो। सन् १९११ मा मन्दिर निर्माण सम्पन्न भएको मानिन्छ। जनकपुरधामको मध्य भागमा रहेको यो मन्दिर मानव कलाको उत्कृष्ट सिर्जना मानिन्छ। मन्दिरको वास्तुकला लोभलाग्दो छ। मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ।

मन्दिरमा ६० वटा कोठा छन्। भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएका बेला नेपालमा मिथिला सभ्यताले उचाइ पाएको थियो। जनकपुरधाम जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीयजस्ता विद्वानको थलो भएको इतिहासमा उल्लेख छ। बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजुर, फराकिलो परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अभियन्ता राजकुमार महतोले हस्ताक्षर संकलन अभियान जारी राखेका छन्।

धनुषामै अर्को धार्मिक पर्यटकीय गन्तव्य धनुष मन्दिर छ। त्रेता युगमा भगवान् रामले सीता स्वयंवरमा भगवान् शिवको धनुष तोडेका थिए। भगवान शिवको धनुषमा भगवान रामले डोरी चढाउन खोजेपछि तीन टुक्रा भएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा धनुषको टुक्रा झरेको स्थल धनुषाधाम भएको लोकविश्वास छ। यसै स्थानको नामबाट यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भन्ने भनाइ छ।

त्रेता युगको इतिहास बोकेको यस स्थानको दर्शनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउँछन्। धनुषाधाम क्षेत्रमा धनुष मन्दिरबाहेक धनुषाधाम वन, धनुषाधाम वनभित्रै रहेको वाण गंगा नदी जस्ता पर्यटकीय स्थल पनि छन्।

मधेस प्रदेशको पर्यटकीय महत्त्व बढाउन महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको पनि विशिष्ट भूमिका छ। शिवलिंग पानीभित्रै रहेकाले महादेवको नाम जलेश्वरनाथ महादेव नामाकरण गरिएको विश्वास छ। मन्दिरको मध्य भागमा रहेको पानीले भरिएको गुफाको तल एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिंग छ। यसैलाई जलेश्वरनाथ भनिएको हो। शिवरात्रिका दिन जलेश्वरनाथ महादेवको पूजा गर्न भक्तजनको विशेष भीड लाग्छ। प्राचीन जलेश्वरनाथ महादेवको व्यवस्थित रूपमा पूजाअर्चनाका लागि १८६९ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा २७५ बिघा जग्गा महन्थलाई लालमोहरसहित प्रदान गरिएको थियो।

मधेस प्रदेशको अर्को आकर्षक पर्यटकीय स्थल हो– सिरहाको सलहेश फूलबारी। यो स्थान लोकनायक सलहेश र वर्षको एकदिन मात्रै फुल्ने विशेष प्रजातिको सुनाखरी फूलका कारण प्रख्यात छ। सलहेश फूलबारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक नयाँ वर्षको पहिलो दिन सेतो रङको माला आकारको फूल फूल्छ। अच्चमको कुरा के छ भने नयाँ वर्षको पहिलो दिन फूल्ने उक्त फूल सोही दिन बेलुकीपख ओइलाएर जान्छ। सोही फूल हेर्न प्रत्येक वर्ष वैशाख १ गते मेला नै लाग्छ। लहान नगरपालिका–१२ पडरिया चोकनजिक रहेको सलहेश फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ। यो दुसाध जातिका इष्ट देवता सहलेशको फूलबारीका रूपमा प्रसिद्ध छ। फूलबारीको मध्यभागमा रहेको हारमको बोटमा छैटौं–सातौं शताब्दीदेखि सो फूल फुल्दै आएको जनविश्वास छ। यहाँ सलहेशसँग सम्बन्धित धेरै ऐतिहासिक स्थल छन्, जसमध्ये सलहेश फूलबारी एक हो।

त्यस्तै पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–५ मा स्थापित पारसनाथ मन्दिर यस प्रदेशको अर्को आकर्षक धामिर्क पर्यटकीय केन्द्र हो। पर्सा जिल्लाको नामाकरण पनि यसै ऐतिहासिक मन्दिरको नामबाट गरिएको विश्वास गरिन्छ। करिब चार सय वर्ष पुरानो मानिएको यो मन्दिर उचित संरक्षण र मर्मतसम्भार अभावमा जीर्ण बन्दै गएको छ।

यसैगरी ऐतिहासिक पृष्ठभूमी बोकेको बारा जिल्लाको सिम्रौनगढ पनि नेपालका विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। मिथिलाको उत्कर्षदेखि अवसानसम्म १२ वटा दुर्गहरूको माझमा रहेकाले यस क्षेत्रलाई बारागढी भनिन्थ्यो। बारागढीबाटै बारा जिल्लाको नामाकरण भएको मानिन्छ। बाराका १२ दुर्गमध्ये सिम्रौनगढ एक हो। सिम्रौनगढ डोय राज्यको राजधानी थियो। त्यस्तै बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाई मन्दिर पनि हिन्दु श्रद्धालुको पवित्र गणतव्य हो। गढीमाईको मन्दिरमा प्रत्येक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि एक महिनासम्म मेला लाग्छ। यो मेला भर्न हजारौं भक्तजन आउँछन्। भारतलगायत अन्य देशबाट पनि यहाँ श्रद्धालु आउँछन्।

सप्तरीको छिन्नमस्ता (सखडा) मन्दिर पनि यस प्रदेशको अर्को पर्यटकीय गन्तव्य हो। भाकल पूरा हुने विश्वासमा नेपाल र भारतका हजारौं श्रद्धालु यस मन्दिरमा आउँछन्। छिन्नमस्तामा दसैंको समयमा विशेष पूजाआजा चल्छ। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छिन्नमस्ता भगवतीको मन्दिरको इतिहास सिम्रौनगढको इतिहाससँग जोडिएको छ। किम्बदन्ती अनुसार सन् १०९७ मा मुस्लिम शासकले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव ज्यान बचाएर पाटलीपुत्र (पटना) हुँदै मिथिला बाराको सिम्रौनगढ आएर बसेका थिए। उनले सिम्रौनगढलाई राजधानी बनाएर आसपासका क्षेत्रमा शासन गरेको इतिहास छ।

नान्यदेवपछि पाँचौँ पुस्ताका शक्रसिंहदेव राजा भए। शक्रसिंह आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगे। त्यसबेला जंगलले ढाकिएको यस स्थानमा जंगल सफा गर्दा भेटिएको भगवतीको प्रतिमालाई आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाउँ शक्रेश्वरी राखेको भनाइ छ। पछि अपभ्रंश भएर सो स्थानको नाउँ नै सखडा रहन गयो। केही वर्ष पहिलासम्म सखडेश्वरी भगवतीकै नामले नै त्यहाँ पूजा गरिन्थ्यो। भगवतीको प्रतिमामा शिर नभएकाले पछि छिन्नमस्ता नामकरण गरियो।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्म रूपले हेर्दा तीन वटा टुक्रा मिलाएर स्थापित गरिएको जस्तो देखिन्छ। सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमा आक्रमण गरेका थिए। आक्रमणबाट सिम्रौनगढ ध्वस्त भयो। सिम्रौनगढ तिरहुत राज्यको राजधानी थियो।

प्रकाशित: २० फाल्गुन २०७८ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App