२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मान्छे खाने बाघ नियन्त्रणमा लिइयो

बाँकेको राप्तीपारी मान्छे खाने बाघ अन्ततः नियन्त्रणमा लिइएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित जंगलमा बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो।  

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार फत्तेपुरस्थित सिक्टाको पूर्वी नहर पारी जंगलभित्र केहीबेर अघि मात्र नियन्त्रणमा लिइएको हो। अहिले त्यहाँ डिभिजन वन कार्यालयसहितको टोलीले बेहोस बाघलाई ल्याउने तयारी गरिरहेको छ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखी पाडो बाँधेर राखिएको थियो। बाघले पाडोलाई मंगलबार शिकार गरेकोमा बुधबार बिहान नियन्त्रणमा लिन सफल भएको फत्तेपुरका स्थानीय बासिन्दा प्रदिप पौडेलले बताए।

पाडोलाई शिकार गरी माुस खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो। बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो।

त्यसपछि बाघ नियन्त्रण गर्नका लागि उक्त स्थानमा आहारा राखिएको थियो। उक्त घटना लगत्तै भोलीपल्ट फागुन ८ गते पनि पुनः राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो।

बाघले यसअघि फत्तेपुर ६ निवासी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सो नाकी ५३ वर्षीया लिला विष्टलाई पनि आक्रमण गरेर मारेको थियो। यस्तै बाघले राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभर र नरैनापुरमा पनि एक/एक जनालाई मारिसकेको छ।

बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि नियन्त्रणमा लिन सकिएको थिएन। बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दाले आक्रोश पोख्दै आएका थिए। 

प्रकाशित: १८ फाल्गुन २०७८ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App