१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारी असिनाले अत्तालिएको पोखरा

मौसमविद् भन्छन्: स्थानीय र पश्चिमी वायु ‘मर्ज’ भएपछिको अवस्था हो

पोखराको महेन्द्रपुल क्षेत्रमा आइतबार दिउँसो परेको असिना। तस्बिर सौजन्यः राम गुरुङ

पोखरामा आइतबार मध्यान्ह एकाएक भीषण असिनापानी पर्‍यो। असिनाले सहर अस्तव्यस्त बनायो। सडकमा हिडडुल रोकियो। मुख्य बजार महेन्द्रपुल, नदीपुर, चिप्लेढुंगा, गैहपाटन, फूलबारी लगायतका क्षेत्रमा असिनाको थुप्रो लाग्यो। हिमाली भेगमा हिमपात भए झैं पोखराका केही क्षेत्र एकाएक सेताम्य बने।  

अधिक असिना पर्दा मुल सडकमा हिडडुल नै ठप्प भएको थियो भने गुडिरहेका गाडी ठाउँको ठाउँ रोकिएका थिए। स्कुलको पढाई सकेर घर फर्किन थालेका बालबालिका विद्यालयमै रोकिए, गाडी चढेका पनि बेलैमा घर पुग्न पाएनन्। बेलुकी सातबजेसम्म विद्यार्थी विद्यालय र सडकमै रोकिएका थिए। विद्यार्थी बोकेका गाडी घन्टौ अलपत्र परेका थिए। अभिभावक पनि बालबालिका लिन विद्यालयसम्म आउन नसक्दा अत्यासलाग्दो अवस्था बनेको थियो।

आइतबार दिउँसो परेको असिना सोमबारसम्म पनि पग्लिसकेको छैन। असिनाको भार थेग्न नसक्दा केही घरमा क्षति पुगेको छ। टिनले छाएका घरको छाना नै असिनाको भारले लच्केका छन्। कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सातवटा ट्रस भत्केका छन्। केही ट्रसमुनि पार्किङ गरिएका सवारीमा पनि क्षति पुगेको छ। सबैगरि १७ वटा चारपांग्रे सवारी र चारवटा मोटरसाइकलमा क्षति पुुगेको छ। २२ वटा पशुचौपाया घाइते भएका छन्। तरकारी रोपेको १६ वटा टनेल भत्केको पनि तिवारीले जानकारी दिए।

‘सबैभन्दा सकस सडक खुलाउन भयो । स्कुले बच्चा बोकेका सवारी घन्टौसम्म सडकमै रोकिए,’ तिवारीले भने, ‘स्कुले बच्चा सवार बस असिनाको थुप्रोमा फँसेपछि निकाल्न सकस परेको थियो। नदीपुर र पालिखेचोकको बीचमा बालबालिका सवार गाडी लामो समयसम्म फँसेका थिए।’ उनका अनुसार थुप्रिएको असिना हटाउनका लागि लगेको जेसिबी तोकिएको ठाउँसम्म पुर्‍याउन पनि हम्मेहम्मे भएको थियो। असिना परेको ठाउँ मात्र नभई सिंगो पोखरा नै असिनाका कारण अत्तालिन पुगेको उनले बताए।

सडकमा असिना थुप्रिदाँ सर्वसाधारण बाटोमै अलपत्र परेका थिए। कार्यालयबाट घर फर्किन पनि कर्मचारीलाई हम्मेहम्मे परेको थियो। सडकमा सवारी चलाउन सक्ने अवस्था नभएपछि कर्मचारीले कार्यालयमै सवारी थन्क्याएर अबेर मात्र घर पुुगेका थिए। पोखरेलीका अनुसार यत्तिको असिनापानी परेको अनुभव यसअघि छैन। आइतबार परेको असिनाले केही क्षेत्रमा व्यापक असर गरेको छ।  

पोखरामा आइतबार एकाएक थोरै क्षेत्रमा मात्र भीषण असिना परेको थियो। पोखरेलीले अहिलेसम्म यत्तिको असिना परेको अनुुभव कहिल्यै गरेका थिएनन। आखिर किन यत्ति भीषण असिनापानी एकैठाउँमा पर्‍यो त ? जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘अहिले वर्षा र असिना पर्ने शैलीमा परिवर्तन आएको छ। कतै भारी वर्षा त कतै अधिक हिउँ र असिना पर्न थालेको छ। त्यसकै परिणाम पोखराको आइतबार परेको असिनाले देखाउँछ।’  

अर्यालका अनुसार पछिल्लो समय कतै भारी वर्षा त कतै भीषण असिनापानी पर्ने गरेको छ। ‘स्थानीय वायु ठाउँठाउँमा आफ्नै हिसाबले उत्पत्ति हुन्छ। गर्मि सुरु भएपछि यो अवस्था देखिन्छ,’ उनले भने, ‘गर्मि सुरु भएसँगै पोखरामा यो अवस्था दिनहु हुन्छ। त्यसले गर्दा बिहान खुलेको पोखरामा दिउँसोमा बादल देखिन्छ।’

पोखरामा फेवा, बेगनास, रुपा जस्ता ठुला आकारका ताल र आसपासमा नदी छन्। त्यसले गर्दा गर्मि सुरु भएसँगै वायुमण्डमा जलवास्पयुक्त हावा विकास हुन्छ। ‘स्थानीय वायुको प्रभावले बादल बनाउँछ र त्यसलाई मजबुत बनाउन पश्चिमी वायुको साथ हुन्छ, त्यही कारणले पोखरामा आइतबार असिनापानी परेको हो,’ अर्यालले भने, ‘स्थानीय र पश्चिमी वायु मर्ज भएपछिको अवस्था आइतबार देखिएको हो।’ उनका अनुसार स्थानीय वायु र बाहिरबाट आएको प्रणालि नमिलेसम्म यस्तो भारी असिनापानी पर्दैन। ‘सानो सानो स्थानीय वायुको प्रभावको टुक्रा जोडिँदै गएर ‘चेन’ को आकार लिँदा एकाएक यस्तो अवस्था आउने हो,’ उनले भने।  

मार्च, अप्रिल र मे महिनालाई प्री मनसुन भनिएपनि केहीदिन अघि नै यो आकारमा असिना पानी पर्नु मौसमी परिवर्तनको असर बुझन सकिने उनी बताउँछन। ‘मार्च सुरु हुन अझै केहीदिन बाँकी छ। प्री मनसुनको बेला अझै भएको छैन। प्री मनसुनमा वर्षा, चट्याङ, भीषण वर्षा हुन्छ,’ अर्यालले भने, ‘पछिल्लो समय वर्षा, चट्याङ, भीषण वर्षा र हिमपातमा नयाँ परिवर्तन भएको छ। त्यसको कारण तापक्रम बढेर हो ।’ 

प्री मनसुन सुरु हुनु भन्दा दशदिन अघि नै यस्तो सिस्टम विकास हुँदा पोखराले अब दिनहुँजसो यस्तै अवस्था भोग्नुपर्ने अवस्था आउने उनले सुनाए। उनको अनुमानमा प्री मनसुन मार्च–अप्रिल–मे मात्र नभई फेब्रुअरीको अन्तिमतिर विकसित हुन सक्ने संकेत हो।  

विभागकै अर्का मौसमविद् राजु प्रधानांगका अनुसार अहिले प्री मनसुन सुरु हुने बेला हो। प्री मनसुन सुरु हुने बेलामा वर्षा, हावाहुरी, मेघगर्जन, चट्याङको समस्या आउने उनले बताए। ‘घाम लागेपछि दिउँसोमा जमिन तात्छ। पोखरा क्षेत्रमा जलवास्पको मात्रा धेरै नै बन्छ। त्यहाँ न्यून चापीय क्षेत्र बनेर त्यो जलवास्प माथि सर्दै जाँदा असिना पर्ने हो,’ प्रधानांगले भने। प्री मनसुन सुरु हुने बेलामा सानो सानो आकारको न्यून चाँपीय क्षेत्र बन्ने हुँदा यस्तो अवस्था आउने उनले बताए।  

‘न्यून चाँपीय क्षेत्र जति समयसम्म सक्रिय रहन्छ, त्यो बेलासम्म यस्तै अवस्था आइरहन्छ,’ उनले भने, ‘पोखरामा आइतबारको भीषण असिना न्यून चाँपीय क्षेत्रका कारणले हो।’ पछिल्लो समय खण्डवृष्टि हुनुु, असिना अधिक पर्नु, हिमपात हुनुमा जलवायु परिवर्तनको असर भनिएपनि पोखराको असिनालाई अहिले नै  त्यही अनुसार विश्लेषण गर्न नसकिने प्रधानांगले बताए। तर, जलवायु परिवर्तनको प्रभावलाई नकार्न भने नसकिने उनले बताए।  

प्रकाशित: ९ फाल्गुन २०७८ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App