१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

म्याग्दी पौराणिक स्थल पछैमा रावण पार्कको काम धमाधम

म्याग्दीको बेनी नगरपालिका–५,पछैमा रावण जन्मिएको दावी गरिएको स्थानमा रावण पार्क (उद्यान) निर्माणको काम भइरहेको छ।

म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माणको कार्यले गति लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५, पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम भइरहेको छ।

परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर पार्कको काम अगाडी बढेको हो। काठमाडाैँमा रावणको मुर्ति बनाउनेसँगै पौलस्त्य पुहल आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरू भएको मेयर हरिकुमार श्रेष्ठले बताए।

 ‘लक्ष्यभित्र काम सम्पन्न गरिने छ, बजेटको उपलब्धता र आवश्यकताको आधारमा पूर्वाधार निर्माणले गति लिन्छ’ मेयर श्रेष्ठले भने। उनका अनुसार रावणको जन्मस्थल भएकाले आवश्यकता अनुसारको पूर्वाधारका लागि क्रमागत रूपमा निरन्तरता दिइने  बताए। पूर्वाधारका लागि काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा एक करोड ७६ लाख ७७ हजार ५६३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीका पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्राम स्थल लगायतका पूर्वाधार तयार गरिने छ।

पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख रुपैयाँ विनियोजन गरेर ठेक्का आव्हान गरेको थियो। पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन घेरावार सहितको संरचनाको काममा मजदुर खटिएका छन्।

डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाइने नगरपालिकाले जनाएको छ। २३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा हाल विनियोजित बजेटबाट प्राथमिक पूर्वाधारमा खर्च गरिएको छ। रावण पाक बन्ने भएपछि स्थानीयबासी समेत उत्साहित छन्।

‘अहिले भइरहेको कामले समेत थप उत्साह थपिएको छ, ‘यहाँको महत्व बल्ल बुझ्ने प्रयास भएको छ’ स्थानीय सन्तोष परियारले भने। उनले पूर्वाधार विस्तारको कामले स्थानीयले समेत रोजगारी पाएको बताए। हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ। समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भूगाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ।  

यस्तो छ धार्मिक महत्व:

रामायणमा ‘खल’ पात्र बनाइएका रावणको जन्मभूमि मानिएको एवं हिन्दुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एउटा म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधार अभावमा गुमनाम थियो। श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ।

श्रीमद्भागवत महापुराणमा कुरूक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम्, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थल भनिएको छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ। रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणहरूमा उल्लेख छ।

पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी मन्दोदरीलाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख पाइन्छ। पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरु भेटिने गरेको छ।  ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाई छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। 

प्रकाशित: ८ फाल्गुन २०७८ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App