१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्दै

राष्ट्रिय विश्वकर्मा संग्रहालयको शिलान्यास कार्यक्रममा सहभागिहरु । तस्बिरः नागरिक

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्ने भएको छ। विश्वकर्मा समाज नेपालको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीमा ‘राष्ट्रिय विश्वकर्मा संग्रहालय’ बनाउन लागिएको हो। करिब ९० लाख रुपैयाँको लागतमा पुम्दीभूम्दीस्थित शान्तिस्तुप उक्लिने पैदल मार्गको बायाँतर्फ दहरा कोदीमा निर्माण गर्न लागिएको संग्रहालयको शनिबार शिलान्यास गरिएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले संग्रहालयको शिलान्यास गरे।

पुम्दीभूम्दीको दहरा कोदी विश्वकर्माको पुख्र्यौली थलो हो। पहिले शान्ति स्तुपा क्षेत्रमा विश्वकर्माहरुको बस्ती थियो । पछि बस्ती सारेर स्तुपा निर्माण गरेपछि उनीहरु स्थानान्तरण भएर दहरा कोदी झरेको अध्यक्ष विश्वकर्माको भनाई छ। विश्वकर्माको विभिन्न थर मध्ये बराइली÷लामगादी समूहको भँयरथान समेत रहेको सो क्षेत्र पुख्र्यौली थलो हुनु र पर्यटकीय केन्द्रसमेत भएकाले संग्रहालयका लागि दहरा कोदी रोजिएको उनले बताए।

करिब १२ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको संग्रहालयको अग्रभागमा मुख्य भवन बनाइनेछ। करिब ६ आना क्षेत्रफलमा निर्माण गरिने भवनमा विश्वकर्माको इतिहास, विश्वकर्माले सिर्जना गरेका औजारहरु, ती औजारको व्याख्या, विश्लेषण गरिएका सामग्री राखिने विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेशबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार मुख्य भवनको भित्री भागमा पार्क बनाइनेछ। हाल वन क्षेत्र रहेको सो ठाउँमा विश्वकर्मा जातिले गर्नेगरेका परम्परा झल्किने मूर्तिहरु राखिनेछन्।

त्यहाँ सुनको काम गर्दै गरेको, फलामको काम गर्दै गरेको, धातु खार्दै गरेको, काठको ठेकी बनाउँदै गरेको र तामा÷पित्तलको काम गर्दै गरेको मूर्तिहरु राखिने अध्यक्ष विश्वकर्माले बताए। ‘विश्वकर्मा ऋषिका पाँच छोराहरुले फरक÷फरक पेशा अप्नाएको र त्यसकै निरन्तरता स्वरुप अहिलेसम्मपनि विश्वकर्माहरुले अपनाउँदै आएको पेशालाई झल्काउने गरी मूर्ति स्थापना गरिनेछ,’उनले भने।

तीनवर्ष भित्र निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको संग्रहालय निर्माणका लागि रकम भने अभाव छ। निर्माणका लागि आवश्यक ९० लाख मध्ये हालसम्म गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ विनियोजन भएको छ। त्यसबाहेक बाँकी रकम अभाव भएको अध्यक्ष विश्वकर्माले बताए। अपुग रकम स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोगको अपेक्षा गरिएको उनको भनाई छ। त्यसमा अपुग रकम देशभरका विश्वकर्माहरुबाट संकलन गरिने योजना रहेको उनले बताए।

लोपोन्मुख अवस्थामा पुगेका विश्वकर्माहरुको ज्ञान, सीप र क्षमता संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न संग्रहालय निर्माण गर्न लागेको विश्वकर्मा समाजले जनाएको छ। समाजका अध्यक्ष विश्वकर्मा भन्छन्,‘यो जाति, यो वर्गको महत्व बुझेन यो समाजले, हाम्रो सीप र ज्ञानको महत्वपनि बुझेन, त्यसैले हाम्रो ज्ञान र सीपको महत्व बुझाउन संग्रहालय निर्माण गर्न लागेका हौं।’संग्रहालयले विश्वकर्मा समुदायको जातिय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमासमेत टेवा पु¥याउने विश्वकर्मा समाजको विश्वास छ।

संग्रहालयको शिलान्यास गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले उत्पीडित र उपेक्षित समुदायलाई अन्य समुदायको दाँजोमा नपुग्दासम्म आरक्षण दिइराख्नुपर्नेमा जोड दिए। ‘उत्पीडनमा परेका जाति, समुदायलाई क्षतिपूर्ति स्वरुप आरक्षण दिनुपर्छ,’उनले भने। कला, सीप र सिर्जना भएकालाई अपमान नभई अवसर दिनुपर्ने उनको भनाई थियो। उनले उत्पीडितहरुको अधिकार सुनिश्चित नभएसम्म एक भई लड्न सुझाव दिए। 

प्रकाशित: ८ फाल्गुन २०७८ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App