१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा अस्पताललाई तलब खुवाउनै मुस्किल

गोरखा अस्पताल। तस्बिर: नागरिक

गोरखा अस्पतालले २०७८ साउनदेखि माघसम्म एककरोड १८ लाख रुपैयाँ बरावरको स्वास्थ्य बिमा गरेकाहरुलाई सेवा दिएको छ। उक्त रकम मध्ये अहिलेसम्म ६० लाख मात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए।  

‘बिमितलाई सेवा दिए बापतको रकम स्वास्थ्य बिमा बोर्डले पठाउन ढिला गर्दा समस्या भएको छ,’उनले भने ‘समितिले राखेका कर्मचारीलाई तलब भत्ता, औषधी खरिद, ल्याब केमिकल, भत्ता दिन सकेका छैनौ।’ अस्पतालमा समिति मार्फत राखिएका २० जना कर्मचारीको खर्च मासिक चारलाख ५० हजार रुपैयाँ छ। अन्य भुक्तानी दिनुपर्ने रकमलाई तलबमा खर्च गरेर बिमा रकम आएपछि हिसाब मिलान गर्ने गरी तलब भने नरोकिएको अस्पतालले जनाएको छ। अस्पतालले बिमितको उपचार गरे बापतको रकम छिटो पठाईदिन स्वास्थ्य बिमा बोर्डलाई पत्राचार पनि गरेको छ। ‘केहीदिन अघि पनि पत्राचार गरेका छौं, तर अझै पैसा आएन,’ मेसु श्रेष्ठले भने ।  

स्वास्थ्य बिमा गरेका ब्यक्ति अस्पतालमा सेवा लिन जाँदा टिकट, चेकजाँच, शल्यक्रिया, ल्याब लगायत बिमा रकम एकलाख रुपैयाँ बारवरको औषधी उपचार निशुल्क हुन्छ। ‘हामीले बिमा कार्ड हेर्छाै, र त्यहाँ उपचार रकम बाँकी रहेछ भने रेकर्ड लिएर सबै सेवा निशुल्क दिन्छौ’ गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘भर्ना भएका बिरामीको डिस्चार्ज भएपछि बिमा दावी गर्छाै भने तत्काल सेवा लिन आएकाहरुको सोही दिन दाबी गर्छाै।’ स्वास्थ्य बिमा बोर्डले अनलाईन मार्फत बिमा रकम दावी गर्न मिल्ने ब्यवस्था गरेको छ।  

स्वास्थ्य बिमा बोर्ड गोरखाका प्रमुख बिशाल लौडारीले बिमाको दावी भुक्तानी केन्द्रिय कार्यालयबाट हुने बताउँदै भने ‘केहीदिन अघि लेखाका कर्मचारीको सरुवा भएकाले ढिलो भएको हुनसक्छ।’ बोर्डले मासिक रुपमा दावी रकम प्रमाणित ठहरिएमा भुक्तानी दिने ब्यवस्था गरेको छ। तर अहिले भने महिनौं बितिसक्दा समेत गोरखा अस्पतालले दावी गरेको बिमा रकम भुक्तानी भएको छैन।  गोरखामा अहिले ७० हजार चारसय छ जनाले स्वास्थ्य बिमा गराएका छन्। पाँचजना सम्मको परिवारले तीनहजार पाँच सय रुपैयाँ तिरेर पुरै परिवारको बिमा गराउन सक्ने ब्यवस्था छ। बिमा दावी गर्न सेवा लिने नलिने सबैले वार्षिक नबिकरण गर्नुपर्छ।

प्रकाशित: ५ फाल्गुन २०७८ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App