११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

यूएनमा जागिर लगाउने भन्दै युवा ठग्दै

निजी कार र ट्याक्सीका चालक टार्गेटमा

जागिर लगाइदिने लोभ देखाएर पक्राउ परेका सिंह। तस्बिरः नेपाल प्रहरी

आफुलाई संयुक्त राष्ट्र (यूएन) को इन्जिनियर बताउँदै त्यही जागिर लगाइदिने भनेर ठगि गर्दै हिड्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ। आफुलाई यूएनको कर्मचारी बताउँदै त्यही अनुसार रहनसहन देखाएर ती युवाले विभिन्न जिल्लाका युवालाई ठगि गरेर रकम मागेको प्रहरीले बताएको छ।  

प्रहरीले उजुरीको आधारमा डोटीको सायल गाउँपालिका–२ का २६ वर्षिय दिनेश सिंहलाई पक्राउ गरेको हो। बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट उनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए। तिवारीका अनुसार उजुरीको आधारमा पोखराबाट खटिएको प्रहरी टोलीले बुटवलबाट उनलाई पक्राउ गरेको हो।

तिवारीका अनुसार सिंहले ठगी गर्ने प्रयोजनले आफुलाई फरक नामले चिनाउने गर्दथे। मनोज मल्ल, निर्माण मल्ल, दिवेश सिंह, संगम सिंह उपनाममा आफुलाई चिनाउने गरेका थिए। यूएनको इन्जिनियर र राष्ट्रबैंकको कर्मचारी भनेर पनि उनले अरुलाई फरक फरक रुपमा ठग्दै आएका थिए। सिंहले यूएनमा सुपरभाइजरको जागिर लगाउने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएका थिए।  

पोखरा–८ रत्नचोकका युवराज पौडेलसँग छोरालाई यूएनमा सुपरभाइजरको जागिर लगाइदिने भनेर ५ लाख ९० हजार रुपैयाँ लिएका थिए। त्यस्तै स्याङजाको फेदीखोला गाउँपालिका–१ घर भई पोखरा–८ बस्ने यूके गुरुङसँग पनि ६ लाख रुपैयाँ लिएका थिए। ‘ठगि गर्ने क्रममा अस्पतालमा लगेर आँखा जाँच गराउने, कोरोनाको पीसीआर परीक्षण गराउने र पुलिस क्लियरेन्स रिपोर्ट समेत बनाउन लगाएको पाइएको छ,’ तिवारीले भने। त्यस्तै पोखरा–२४ बस्ने बुद्धिप्रसाद अधिकारीसँग पनि ३ लाख ५० हजार रुपैयाँ ठगि गरेको तिवारीले बताए। विभिन्न बैंकबाट उनले पैसा निकालेका थिए।  

तिवारीका अनुसार ठगि गर्ने क्रममा सिंहले पीडितलाई विभिन्न कागजात समेत बनाउन लगाएका थिए। यूएनमा जागिर रहेको तथा पोखरा र काठमाडौंमा ठाउँ खालि रहेको भनेर पनि उनले युवालाई प्रलोभनमा पार्ने गरेको प्रहरीले बताएको छ। ‘ठगि गर्ने क्रममा अनेक निहुँ बनाएको देखिएको छ । कहिले बैंकमा खाता खोल्न लगाउने त कहिँ पैसा डिपोजिट गर्न लगाएर ठगि गरेको देखिएको छ,’ तिवारीले भने, ‘जागिरमा नियुक्ति लिन जानुपर्ने भनेर समेत झुक्याउने गरेको पाइएको छ।’

डिएसपी तिवारीका अनुसार सिंह विरुद्ध यसअघि पनि काठमाडौंमा बैंकिङ कसुरमा मुद्धा दर्ता भएपनि पक्राउ पर्ने डरले फरार थिए। त्यस्तै मोवाइल टावर बनाउने भनेर पनि सर्वसाधारणलाई सिंहले ठगेको देखिएको तिवारीको भनाई छ। सिंहले पोखरा मात्र नभई मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, धनगढी र बाजुराका युवालाई पनि ठगि गरेका थिए।

‘यूएनको कर्मचारी भनी बताउने, सोही अनुसार रहन सहन देखाउने गरेर ठगेको देखिएको छ,’ तिवारीले भने, ‘पीडित व्यक्तिको छनौट गर्दा ट्याक्सी चालक तथा नीजि कार चालकलाई टार्गेट गर्ने गरेको देखिएको छ।’ ठगिने व्यक्तिलाई नै होटल खोज्न लगाउने, ठगिने व्यक्तिलाई नै मोवाइलको सिमकार्ड निकाल्न लगाउने, पीडितहरूलाई विश्वास दिलाउन बिभिन्न व्यक्तिलाई फोन गरेको जस्तो बहाना गरी यूएनका गतिविधि तथा मिटिङको बारेमा फोनमा एक्लै कुरा गर्ने गरेको पनि प्रहरीले बताएको छ।  

‘पीडितको बैंक खाता खोल्न लगायतका कार्यमा सहयोग गर्ने गरेको पाइएको छ। पीडितलाई कपडा, जुत्ता किनिदिने, बस्ने, खाने व्यवस्था मिलाइदिने पनि गरेको देखिएको छ,’ उनले भने, ‘आर्थिक कारोबार सकिए पश्चात मोबाईल र सिम कार्ड डिस्पोज गरिदिने गरेको रहेछ।’ पक्राउ परेका उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा मुद्धा चलाउने पनि प्रहरीले बताएको छ।  

प्रकाशित: ३ फाल्गुन २०७८ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App