१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीको दुहवीमा बल प्रयोग गरेर घर-टहरा हटाइदैँ

६ लेन सडक विस्तार

दुहवीमा ६ लेन सडक विस्तारका लागि बल प्रयोग गरेर घर–टहरा भत्काउँदै।

६ लेन सडक विस्तारका क्रममा विराटनगर-धरान सडक खण्ड निर्माण अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालिएको छ। नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि बल प्रयोग गरेर हटाउन थालिएको हो।

नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्म समयसिमा तोकिएको थियो। तर, तोकिएको समयसिमा भित्र पनि घर र टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाको अगुवाईमा भत्काउन थालिएको हो।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक दुहवीमा जग्गा खाली नगर्दा समस्या भएको थियो। ६ लेन सडक विस्तारका लागि दुहवीको मुख्य बजार क्षेत्र बाहेक गंगादेवी लुनाकरण दास च्यारेटी हस्पिटलको क्रसिङ् रोडदेखि दक्षिण र इनरुवा रोडको क्रसिङ् उत्तरतर्फको सात–सात सय मिटर उत्तर सडक विस्तार गर्न जग्गा खाली गरिएको हो।

जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ। दुहवी बजारको उत्तर-दक्षिणको केही भागमा भने १५-१५ फिट विस्तार गर्दा जग्गा पुगेको छैन। मुख्य बजार क्षेत्रमा भने सडक विस्तार नगर्ने टुंगो लागेको छ। तर, तोकिएको जग्गा अपुग भएकाले गर्दा त्यसमा पनि खाली गराइने भएको छ।  

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई विल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अुनसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायाँ-बायाँ दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो। दुहवीको मुख्य बजार क्षेत्रबाहेक उत्तर र दक्षिणतर्फको एक हजार ३५० मिटर ठेक्का लागेको छ। 

कोशी राजमार्गमा ४९ विराटनगरको रानीबाट धरानसम्मको सडकमध्ये अहिले इटहरीको तरहरादेखि धरानसम्म विस्तार भइरहेको छ। अन्य स्थानमा केही स्थानमा पनि नगन्य पूरा हुन बाँकी छ। २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। 

पछिल्लो समय थप गरिएको छ। पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्व ९८ करोड लागत अनुमान गरिएको थियो।

प्रकाशित: २९ माघ २०७८ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App