१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरको बेलका नगरपालिकामा ‘नमूना विद्यालय’ बन्दै

विद्यालयले तयार गरेको गुरुयोजना अन्तर्गतको डिपिआर नक्शा।

उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमूना मावि गुरुङचौरी नगरभरिको साँच्चै ‘नमूना विद्यालय’ बन्ने भएको छ। विद्यालयलाई वास्तविक नमूना योग्य बनाउन नयाँ भवनलगायत सबै संरचना निर्माणको अभियानमा लागेको छ।

जसका लागि विद्यालयले यसैवर्षदेखि अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। नेपाल सरकार, नमूना विद्यालय विकास कार्यक्रम (एमएसडिपी)को ३ करोड ८० लाख अनुदान रकममा ३ तले सुविधासम्पन्न भवन बनाउन लागेको लागेको प्रधानाध्यापक (प्रअ) सम्मर राईले बताए।

उनका अनुसार आउँदो ३ वर्षभित्र बनाई सक्ने गरी केही दिनभित्रै काम थाल्ने तयारी भईरहेको छ। प्रअ राईले चालुवर्ष भवन थाल्न ९९ सय लाख २ हजार ८ सय ८७ रुपैँयामा ठेक्का लागिसकेको बताए। सो रकमले चालुवर्ष १८ वटा पिल्लर उठाएर ३ कोठा निर्माण पुरा गर्ने गरी भुस्नाम्छा कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरिसकेको छ।

बहुवर्षीय योजनाअन्तर्गत बनाउन लागिएको भवन खानेपानी, विद्युत, छात्र–छात्राका लागि फरक-फरक शौचालय र अपाङ्ग मैत्री हुने भएकाले सुविधा सम्पन्न हुने प्रअ राई बताउँछन्। एमएसडिपीले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माण थाल्न चालुवर्ष १ करोड ५० लाख रुपैँया दिएको उनको भनाई छ।

जसमध्ये ५ लाख रुपैँया डिपिआर बनाउन खर्च भएर बाँकी १ करोड ४५ लाखबाट भवन निर्माण थाल्न टेण्डर आव्हान गरेको थियो। निर्माण व्यवसायीहरुबीचको प्रतिस्पर्धामा सबभन्दा कम लागत ९९ लाख २ हजार ८ सय ८७ रुपैँयामा भुस्नाम्छाले ठेक्का पाएको हो।

विद्यालयले आकर्षक संरचनासहितको भवन र विद्यालय परिसर निर्माण गर्ने डिपिआर तयार गरेको छ। जसमा कम्पाउण्ड वालसहितको आकर्षक र सुविधासम्पन्न १ दर्जन ब्लक (भवन), फराकिलो खेलमैदान, मैदान बीचमा सरस्वति मन्दिरसहितको कार्यक्रम मञ्च (स्टेज), छात्र र छात्राका लागि फरक फरक आवास, पुस्तकालय, अडिटोरियम हल (सभाकक्ष) का लागि छुट्टा-छुट्टै ब्लकहरु बन्नेछन्।

साथै विद्यालय परिसरमा फुलबारीयुक्त संरचनाहरु निर्माण हुने नक्शा तयार भएको छ। प्रअ राईका अनुसार ती सबै संरचना बनाउन ५ वर्षे गुरुयोजना बनाइएको र कुल लागत ३४ करोड बढीको इस्टीमेट बनेको छ। कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र विज्ञान विषय पठन-पाठन भईरहेको विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङ पढाई भईरहेको छ।

जिल्लाको पूर्वी भेगको एक सशक्त र बहुआयामिक शैक्षिक प्रतिष्ठान बनाउने उदेश्यले गुरुयोजना बनाएर अघि बढाइएको विद्यालय भविष्यमा बेलका नगरपालिकाकै नमूना विद्यालय बनाउन वृहत् तयारीका साथ अघि बढेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले डेढवर्षको अवधिमा विद्यालयले कल्पना गरेभन्दा बढी छलाङ मारेको बताए।

उनका अनुसार १८ महिनाअघि मात्र राई प्रअ भएर आउँदा ३ सय १५ जना विद्यार्थी रहेको विद्यालयामा हाल १ हजार २ सय ५ जना विद्यार्थी संख्या पुगेको छ। सरकारी तथा सामुदायिक विद्यालयतर्फ जिल्लाकै नमूना बनाउने उद्देश्यले भौतिक संरचना निर्माणसँगै आन्तरिक सुधारमा विद्यालय प्रशासन लागी परेको अध्यक्ष तामाङले बताए।

तामाङका अनुसार बहुवर्षीय योजना अनुसार ५ वर्षभित्र भौतिक संरचनाहरु निर्माण गर्न विभिन्न निकाय र संस्थासँग स्रोतको खोजी गर्ने काम भईरहेको छ। त्यसका लागि व्यवस्थापन समितिका पदाधिकारी र प्रअसहितको प्रतिनिधिमण्डल टोली यहीँ साता संघीय सांसद तथा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर बजेट सुनिश्चितताका लागि आग्रह गरेको छ।

अहिलेसम्म शिक्षा विभागले ७/८ करोड रकम थप दिने आश्वासन दिएको भए पनि बाँकी स्रोत जुटाउन विद्यालयले आन्तरिक स्रोतको उपयोग गर्नुका साथै नगरपालिका, प्रदेश र संघीय सरकारसँग आग्रह गरिहेको अध्यक्ष तामाङले बताएका छन्।

प्रकाशित: २९ माघ २०७८ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App