५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

चौदण्डीगढीको बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

सिँचाइ कुलोका उपभोक्तासँग मेयर राई। तस्बिरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गर्दै पक्की बनाइने भएको छ। स्थानीय वडावासी कृषकलाई व्यवसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो।  

चौदण्डीगढी ४ को तीनदोभाने पहरे खोलामा मुहान थापेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो। दुई साताअघि नगरप्रमुख खगेन्द्र राईले शिल्यान्यास गरेको कुलोको काम अहिले धमाधम भइरहेको छ। नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको २०/२० प्रतिशत बजेट तथा ३० प्रतिशत साना सिँचाइ कार्यक्रम (एसआइपी) को लागत सहभागितामा योजना निर्माण हुनेछ।  

स्वीस सरकारको सहयोगमा जिल्लामा सञ्चालित एसआईपीले सो योजामा २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ बेहोर्ने जनाइएको छ। त्यस्तै चौदण्डीगढी नगरपालिका, प्रदेश सरकार र संघीय सरकार प्रत्येकले ११ लाख ५० हजार १ सय ६२ रुपैयाँका दरले ३४ लाख ५० हजार ४ सय ८६ रुपैयाँ बेहोर्ने नगरप्रमुख राईले बताए।

योजना निर्माणमा कुल लागतको १० प्रतिशत स्थानीय जनसहभागिता अनिवार्य गरिएको छ। यसरी कुल ५७ लाख ५० हजार रुपैयाँ लागतमा पक्की सिँचाइ कुलो निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ। वर्षौँदेखि सञ्चालन हुँदै आएको सो बसाहा क्षेत्रकै सबभन्दा पुरानो सिँचाइ कुलो हालसम्म कच्ची भएकाले वर्षायाममा पहिरो र बाढीले भत्काएर अवरोध हुने गरको थियो।  

वर्षेनी भत्कने तथा बिग्रने गर्दा किसानलाई मार्का पर्दै आएकाले नगरपालिकाले कुलोलाई पक्की र दीर्घकालीन योजनाको रुपमा विकास गर्न चालु वर्ष बजेटको व्यवस्था गरेको हो। नगरपालिका एक्लैले सञ्चालन गर्न पर्याप्त स्रोत अभाव भएकाले प्रदेश, संघ र एसआइपीसँग साझेदारीको हात बढाउँदा बाँकी रकमको जोहो भएपछि पक्की कुलो बन्ने भएको छ।  

बसाहा क्षेत्रका १ सय ७० घरधुरी परिवार लाभान्वित हुने कुलोको लम्बाई १ हजार ९ सय मिटर रहेको छ। जसमध्ये १ हजार ३ सय मिटरसम्म पक्की ढलान हुनेछ भने बाँकी ६ सय मिटर भने यसअघिकै कुलोलाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको फिल्ड सुपरभाईजर इन्जिनियर सन्तोष साहले बताए। उनका अनुसार कुलोको चौडाई ५० सेन्टिमिटर र उचाई ४० सेन्टिमिटर रहनेछ।  

चौदण्डीगढी नगरपालिकाका ६५ प्रतिशत नागरिक कृषिमा आधारित भएर जिविकोपार्जन गर्दै आएको नगरपालिकाले जनाएको छ। मुख्य आयआर्जनको माध्यम नै कृषि पेशा भएकाले यसलाई व्यवसायिक र उद्यमको रुपमा विकास गर्न नगरपालिकाले हरेक क्षेत्रमा सहुलियत दिँदै आएको तथा प्राथमिक्तामा राखेर बजेट छुट्याउने गरेको जनाएको छ।  

बारैमास पानी बगिरहने पहरे खोलामा मुहान थापेर कुलो ल्याइने भएकाले यसले स्थानीय किसानको अन्न उब्जाउमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले बताए। कृषि व्यवसायलाई आयस्रोतको मुल माध्यम बनाउन यान्त्रिकरण गर्दै लाने नगरपालिकाको नीति रहेको भन्दै आचार्यले यसतर्फ पछिल्लो समय जनतामा आकर्षण बढ्दै गएको बताए।

प्रकाशित: २१ माघ २०७८ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App