१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली

भीरबाट लडेर मृत्यु भएका रघुगंगा गाउँपालिका–६, र्‍यालेखोरका तिर्थबहादुर दमाईको परिवार। तस्बिरः हरिकृष्ण गौतम

म्याग्दीको रघुगंगा गाउँपालिका–६, र्‍यालेखोरका तिर्थबहादुर दमाईले सदरमुकाम बेनीमा बस्ने परिवारलाई भेटेर फर्किने क्रममा गाउँमा भीरबाट लडेर ज्यान गयो। गएको पुस २९ गते दिनभरी परिवारसँगै बसेर घरतिर लागेका दमाईको मृत्युको खवरले श्रीमती कुमारी तामाङ दमाई भावविह्ल भईन्। घटनाको भोलिपल्टै ७ महिनाकी छोरीलाई काखमा च्यापेर गाउँ पुगेकी कुमारी काजक्रिया सकेर मजदुरीमा फर्किएकी छिन्।

श्रीमानको मृत्यु भएको ११ दिन बितिसक्दा पनि उनलाई श्रीमानको मृत्युको खवर सपना जस्तै लागेको छ। ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएकी कुमारीलाई श्रीमानको अल्पायुमै भएको मृत्युको पीडा एकातिर छ, भने अर्कातिर तीन–तीन छोरीको भविष्यको चिन्ताले सताइरहेको छ। सुत्केरी अवस्थामा पनि दैनिक ज्यालामजदुरी गरेर घर खर्च चलाइरहेकी कुमारीले श्रीमानको मृत्युपछि जिन्दगी निकै कष्टकर बनेको बताइन्। ‘छोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, बिरामी हुँदा उपचार गर्ने पैसा समेत छैन’, कुमारीले भनिन्। श्रीमानसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अब मानसिक तनावसँग बिरामी समेत भएकाले छोरीहरू प्रिति नेपाली, कृपा नेपाली र कृस्टिना नेपालीको लागि शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको कुमारीको भनाइ छ।

‘जेठी छोरी बिरामी भएको तीन दिन भयो। उपचार खर्चसम्म छैन’, कुमारीले भक्कानिदै भनिन्, ‘गाउँमा बुढी सासु आमा हुनुहुन्छ, अन्नबाली हुने खेतबारी समेत छैन।’ वैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई राम्रो कमाई हुने देशमा पठाउन ८ लाख डुबेपछि जग्गा जमिन समेत गुमेको उनले बताइन्। उनले आफूले ज्यालामजदुरी गरेर छोरीहरूको हेरचाह गर्ने बताउँदै एक्लो अभिभाराले पिरोलेको बताइन्। ‘छोरीको नामको एक रुपैयाँ मैले खर्च गर्दिनँ। छोरीको भविष्यले निदाउन सक्दिनँ’, उनले भनिन्।

पूर्वको इलाम जिल्लाबाट मजदुरी गर्ने क्रममा चिनजान भएपछि अन्तरजातिय विवाह गरेकी कुमारीलाई माइतीले स्वीकार गरेका छैनन्। यो अवस्थामा माइतीकै शरणमा जाने अवस्था समेत नभएकाले रुँदै उनले सहयोगको याचना गरिन्। उनले छोरा नजन्माएकै कारण आफूलाई कुनै पछुतो नभएकाले उनको नासोका रुपमा रहेकी तीन छोरीलाई संरक्षण गरेर जीवनको गुजारा चलाउने बताइन्।

साँघुरो कोठाभित्र...

बेनी नगरपालिका–७, मंगलाघाटको कच्ची घरको एउटा भर्‍याङ चढेर पुग्दा कुमारी र तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन्। कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन। ओढ्ने–ओच्छ्याउने लुगा समेत छैन। कोठाभित्र निरन्तर छिर्ने चिसो हावाले राम्रोसँग निन्द्रा समेत लाग्दैन। कुमारीको कोठाभित्र छिरेर हेर्ने हिम्मत कसैले गर्दैनन्। मासिक १५ सय भाडा तिरेर बस्ने कुमारीले बिजुली, खानेपानीको समेत शुल्क समयमै बुझाउन सक्दिनन्। श्रीमानको मृत्युपछि उनको आँखा अझै ओभाएका छैनन्।

कोठाभित्र छोरीसँगै बसेकी कुमारीले छोरीको भविष्यका बारेमा बुझ्न खोज्दा आँखामा टिलपिल आँसु भरिन्छ। ज्यालामजदुरीसहित विभिन्न खाद्यान्न सहयोग गर्दै आएकी बेनीस्थित जयमाँ लक्ष्मी सुनचाँदी दुकानकी सञ्चालिका जानकी विश्वकर्मा सान्त्वना दिन कोठामा पुग्दा आँखा रसाएका थिए। खेती गर्ने जमिन छैन, घरमा खाने अन्न छैन। साथै सामुदायिक विद्यालयमा नियमित पढ्न नसक्ने अवस्थामा खर्चको अभावले पढाई नै छोड्नु पर्ने बेला आउन सक्ने भएकाले बालिकाहरुलाई शिक्षादीक्षामा सहयोग गर्न तथा सहयोगको सदुपयोग गर्न बैंकमा बालिकाकै नाममा खाता खोल्ने तयारी भएको उनले बताइन्।

प्रकाशित: १० माघ २०७८ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App