८ जेष्ठ २०७९ आइतबार
समाज

वीरगन्जमा पचास रुपैयाँमै ‘भरपेट’

वीरगन्जको भरपेट भोजनालयमा खाना खाँदै सर्वसधारण। तस्विरः रितेश त्रिपाठी

साहुको रिक्सा भाडामा लिएर वीरगन्जमा परिश्रम गर्ने रौतहटका राजाहुसैन मियाँ यहाँ एक्लै बस्छन्। उनलाई बिहान बेलुकाको खानाको भने चिन्ता छैन। औसत २ जना यात्रु ओसारेबापत आउने आम्दनीले मात्र उनले बिहानबेलुकाको छाक दाल, भात र दुई प्रकारको तरकारी धित मारेर खान पाउँछन्। खाना पकाउने समय बचत भएपछि त्यो समय उनले थप आम्दनीको लागि खर्च गर्छन्। सोमवार राजा हुसैनले भात, दाल, काउली–आलुको गाढा झोल भएको तरकारी अनि भन्टाको भुजिया ५० रुपैयाँ तिरेर खाए।

श्रम गरेर बाच्नेलाई न्यूनतम दाममा स्वस्थ्यकर खाना खुवाइदिने काम गरेको छ, वीरगन्जको मुर्लीचोकमा रहेको ‘भरपेट भोजनालय’ ले। वीरगन्जकै आदर्शनगरको ‘फुटपाथ’ (सडक पेटी)मा एक कप चियाको ३० रुपैयाँ तिर्नुपर्छ। यस्तोमा २ कप चियाकोभन्दा कम मूल्यमा आघाउन्जेल खान पाएपछि स्थापना भएसँगै भरपेट भोजनालय एउटा खास वर्गको लागि लोकप्रिय र भरपर्दो गन्तव्य बनेको युवा साहित्यकार रितुराज बताउँछन्। 

राजा हुसैनजस्तै सयौं श्रमजीवीको लागि ‘भरपेट’ बरदान जस्तै भएको छ। रिक्साचालक, ठेलाचालक, वीरगन्जमा बस्ने कतिपय विद्यार्थी, गल्लीमा समान बेच्दै हिँड्ने घुमन्ते व्यवसायी, ग्यारेजमा कम गर्ने मिस्त्री, साना दुरीका यातायातमा काम गर्ने मजदुरलगायतको बिहान र बेलुकीको छाक भरपेटले भर्ने गरेको छ, त्यो पनि ५० रुपैयाँमा।

समुदायमा आधारित संस्था सानो पाईलाले वीरगन्जमा ५० रुपैयाँमा स्वस्थकर भोजन उपलब्ध गराउन योे व्यवस्था स्थापित गरेको छ। यहाँ श्रम गरेर जीविका चलाउने कामदार, विपन्न र न्यून आय भएकालाई लक्षित गर्दै सानो पाइलाले सुपथ मूल्यको भोजनालय वीरगन्ज महानगरपालिका–१२ मेनरोडमा गत साउन ३० देखि सञ्चालनमा ल्याएको हो। भोजनालयको त्यतिबेला उद्घाटन गरेका संविधानसभा सदस्य अनिल रुंगटाले यस्तोखाले अवधारणा वीरगन्जजस्तो सहरको लागि आवश्यक रहेकोले यो सुरु हुनु र प्रभावकारी रुपमा कार्यान्यवन हुनु सुखद् रहेको बताए।

प्रतिदिन यहाँ करिब ३ सय जनाले खाना खाने गरेको ‘भरपेट’का अवधारणाकार कञ्चन झा बताउँछन्। ‘बजारमा तरकारीको मँहगीअनुसार प्रतिदिन प्रतिखानाको लागत घटबढ भइरहन्छ, औसत ६३ देखि ६८ रुपैयाँसम्म एकजनाको खाना खर्च भइरहेको हिसाब निस्किन्छ,’ सानो पाइलाका संस्थापक अध्यक्षसमेत रहेका झाले नागरिकलाई भने, ‘समग्रमा भन्नुपर्दा ५० रुपैयाँमा करिब ८० प्रतिशत लागत उठ्ने गरेको छ, यसमा अपुग रकम जुटाउन स्थानीय सहयोगीहरू दुनियाँभरमा छरिएर रहेका सहयोगीले हातोमाले गरेपछि समस्या परेको छैन।’ भोजनालयमा काम गर्ने स्वमसेवीका अनुसार श्रम गर्नेहरूको खान्की स्वभाविक रुपमा अलि बढी हुन्छ। ‘हरेकलाई अघाउन्जेल आफूहरूले भोजन पस्किने गरेका छौं,’ भरपेटका व्यवस्थापक भाजु पटेलले भने, ‘भोजन गर्नेहरूको सन्तुष्टि हाम्रो लागि धेरै महत्वपूर्ण पक्ष हो।’

यसरी बन्यो भरपेटको अवधारणा

झाका अनुसार विशेषगरी वीरगन्ज महानगरभित्र दिनहुँ श्रम गरेर खाने कामदार वर्गलाई लक्षित गरेर सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पनाको नतिजा हो ‘भरपेट भोजनालय’। यसलाई बिस्तार गर्ने योजना रहेको सानो पाइलाले जनाएको छ।

‘कोरोनाको विपद् जब सुरु भयो, समुदायमा भोजनको अभावमा रहेकाहरूको सेवाका लागि हामीले ‘फिडिंग नेपाल’ अभियान सुरु गर्यौं। जसअन्तर्गत प्रदेश २ र कर्णाली गरी डेढ लाखभन्दा बढीलाई निःशुल्क भोजन उपलब्ध गराएका थियौं, त्यसैको विस्तारित स्वरुप हो, भरपेट भोजनालय,’ झाले भने, ‘समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न वर्गहरूले भोजनमा न्यून खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने विश्वास हामीले लिएका छौं।’

भोजनालय सञ्चालनका लागि मेनरोडमै रहेको एउटा भवन भाडामा लिइएको छ। आधुनिक र सरसफाइयुक्त फराकिलो भान्छामा ताजा तरकारी र सफा शुद्ध अन्नले खाना पाक्छ। खाना पकाउने, सरसफाइ गर्ने, खुवाउने र व्यवस्थापन गरी यहाँ ६ जना तैनाथ छन्। विगत ५ महिनादेखि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र साँझ ६ बजेदेखि ९ बजेसम्म अनबरत चलिरहेको छ, ५० रुपैयाँमा ‘भरपेट’।

प्रकाशित: ९ माघ २०७८ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App