पोखरा महानगरपालिका-२४ कार्कीको तगारामा घरेलु हतियार प्रहार गरी एक ७२ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय ३३ वर्षीय जगत दाहालले कोदालो र सिसाको बोत्तल प्रहार गर्दा गम्भीर घाइते भएका पूर्णभद्र त्रिपाठीको उपचारका क्रममा मृत्यु भएको हो।
आक्रमणबाट सख्त घाइते त्रिपाठीलाई तत्काल मेट्रोसिटी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा ज्यान गएको थियो।
घटनापछि फरार भएका दाहाललाई प्रहरीले पोखरा-२४ स्थित पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट आक्रमणमा प्रयोग भएको एक थान कोदालो र एक थान सिसाको बोत्तलसमेत बरामद गरेको छ। घटनास्थल मुचुल्कापछि मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
पक्राउ परेका दाहालविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए।
प्रकाशित: २० आश्विन २०८३ २१:३५ मंगलबार





