२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्याका अभियुक्त १७ वर्षपछि साउदीबाट पक्राउ

उदयपुर प्रहरीले १७ वर्षअघि हत्या गरेर फरार रहेका अभियुक्तलाई साउदीअरवबाट पक्राउ गरेको छ। गत २०६१ साल मंसिर १३ गते राति ८ बजे स्थानीय मानबहादुर तामाङको हत्या गरी वैदेशिक रोजगारीको क्रममा साउदीअरवमा रहेका साविक बबला गाविस हाल बेलका नगरपालिका ६ कात्तिकेका गोविन्द मगर पक्राउ परेका हुन्।

तामाङको हत्या गरेलगत्तै फरार रहेका उनको खोजी गर्दा साउदीमा रहेको भन्ने पत्ता लागेपछि प्रहरीले रेडकर्नर नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयसँग आग्रह गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयले २०७७ माघ २७ गते मगरविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो।

सोही आधारमा साउदी प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले साउदी पुगेर पुस २६ गते पक्राउ गरी मगरलाई नेपाल ल्याएको प्रहरी प्रमुख एसपी सुभाषभन्द्र बोहराले बताए। एसपी बोहराका अनुसार मानबहादुरकी १६ वर्षीया छोरी मनमायालाई सोही ठाउँका जयवीर राईले प्रेम विवाह गरी भगाउन लागेको थाहा पाएर अर्कै केटासँग बिहे गरिदिएको विषयमा बिबाद भएको थियो। सोही बिबादको क्रममा मगरले तामाङको हत्या गरेको प्रहरी निश्कर्ष छ।  

प्रहरीका अनुसार छोरीलाई अर्कै केटासँग बिहे गराईदिएपछि जयवीर र गोविन्द मानबहादुरको घर गएर ‘किन छोरी अर्को केटालाई दिएको’ भन्दै प्रश्न गरेको र सोही विषयमा भएको बिबादको क्रममा गोविन्दले आफैले लुकाई ल्याएको खुकुरी प्रहार गर्दा मानबहादुर गम्भीर घाइते भएका थिए। घाइते मानबहादुरलाई उपचारार्थ वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएमा ४ दिनपछि ०६१ मंसिर १७ गते उपचारकै क्रममा निधन भएको थियो।  

साउदीबाट ल्याइएका मगरलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखेर थप अनुसन्धान सुरु भएको छ। उनीविरुद्ध उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: ३० पुस २०७८ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App