पर्यावरणमा असर पर्दै गएपछि पानी चरा पनि संकटमा पर्दै गएका छन्। पर्यावरणमा परेको असरले नै पानी चराहरु नियमित रुपमा देखिन छाडेका छन्। पाँच सात वर्षको अन्तरालमा पानी चरा देखिने गरेका छन्। केही चरा भने गणनाको क्रममा गतवर्ष र यो वर्षपनि देखिएका छन्।
पंक्षी समाज पोखराले वर्षेनी पोखरा आसपासका तालतलैया र खोलानालामा पानी चरा गणना गर्दै आएको छ। दुई दिने गणना गर्ने क्रममा पोखरामा उपत्यकामा ४२ प्रजातिका चराहरु भेटिएका छन्। दुईवर्ष अघि फेवाताल तथा उपत्यकामा मात्रै ४७ प्रजातिका चराहरु भेटिएको तथ्यांक पंक्षी समाज पोखरासँग छ। पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेका अनुसार प्रजातिको संख्या घट्दै गएपछि भेटिएका चराको संख्यामा भने उस्तै रहेको छ। उनले दुई दिने गणनामा २९ सयको संख्यामा चरा संख्या गणना गरिएको बताए।
फेवातालमा गतवर्ष देखिएको मण्डारिन हाँस यो वर्षपनि भेटिएको छ । त्यसैगरी चुच्चेथोप्ला नाडुन हाँस पनि लगातार दुईवर्ष देखिएको उनले बताए। ‘५/६ वर्ष अघि देखिएको सोण नयन हाँस यो वर्ष भेटियो।’ उनले भने–‘फेवातालमा भाले प्रजातिको हाँस भेटिएको गणनामा छ।’ चुच्चेथोप्ला नाडुन हाँस भने पोखरा–१३ कमलपोखरीमा भेटिएको उनले बताए। कालिकण्डठ डुबुल्की चरा पनि भेटिएको छ।
कास्कीमा फेवा, बेगनास, रुपा, खास्टे, दिपाङ, न्युरेनी, मैदी, गुँदे र कमलपोखरी ताल छन्। तालहरु मध्ये न्युरेनी तालमा आठकोठे बकुल्ला मात्रै भेटिएको उनको भनाई थियो। ‘चराहरु केही अहिले देखिएका पहिलो नदेखिएका, केही पहिला देखिएका तर अहिले देखिएनन्,’ उनले भने। फेवाताल बाहेक अन्य तालमा खासै चराहरु नभेटिएको समेत उनको भनाई थियो।
ताल किनारमा बस्ती बढ्दै गएको छ। बस्तीकै कारण ताल किनारका सिमसार क्षेत्र पुरिदैं गएको छ। मानवीय अतिक्रमणको चपेटामा पर्दै गएपछि सिमसार क्षेत्रमा पाईने चराहरु हराउँदै गएको उनले बताए। ताल किनारका सिमसार क्षेत्र व्यवासायिक प्रयोजन गर्ने हिसाबले पुरिने क्रम बढ्दै गएको छ। सबैभन्दा बढी फेवातालको सिमसार क्षेत्र पुरिएकोले पनि पानी चरा कम देखिन थालेको उनको अनुभव थियो। साना तालहरु समेत संरक्षणकै अभावमा पुरिदैं गएका छन्। त्यसको प्रत्यक्ष असर भने चराचुरुगींको बासस्थापनमा परेको छ। साना र ठूला तालहरुमा पानी चराको आकर्षण हुदैं आएको छ। सिमसार क्षेत्र पछिल्लो समय पुरिदै गएकोले पर्यावरणमा असर पुगेको पंक्षी समाज पोखराले जनाएको छ। ‘सिमसारको संकुचन हुँदै गएपछि पानीमा आश्रित चराहरुको गतविधि घट्दै गएको छ,’ समाजका अध्यक्ष घिमिरले सुनाए।
सिमसारमा मानवीय अतिक्रमणको चपेटामा परेपछि चराको बासस्थान हराउँदै गएको उनको भनाई थियो। तल छेउमा पिकनिक खाने, ठूलो ध्वनी लगाएर संगीत बजाउने, क्याम्प फायर बस्ने गतिविधि बढ्दै गएको छ। सिमसार क्षेत्रमै हुने त्यस्ता क्रियाकलापले फिरन्ते चराचुरुंगी देख्नै मुश्किल भएको उनले बताए। अध्यक्ष घिमिरेका अनुसार हिउँदमा विगतमा पाईने चरा अहिले विस्तारै भेटिनै छाडेको समेत अध्ययनले देखाएको छ।
पोखरामा चरा गणना कार्य सन २००४ देखि निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ। गणनामा २७ जना संलग्न छन्। १० गणक थिए। बाँकी अन्य बन विज्ञान अध्ययन संस्थान, पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरु, ताल व्यवस्थापन सरोकार निकायका प्रतिनिधि तथा पथप्रदर्शक समेत गणना टोलीमा थिए।
प्रकाशित: २९ पुस २०७८ ०९:०१ बिहीबार