७ वैशाख २०८१ शुक्रबार
समाज

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

पछिल्ला केही वर्ष यता देशैभरी सडक निर्माण र बिस्तारले तीब्रता पाएको छ। सवारी साधनको चाप त्यही अनुपातमा बढ्दो छ। विकासको सूचकको रुपमा लिइने तीनै सडक र सवारी साधनहरुको सहि व्यवस्थापन नहुँदा ती सडक कालमार्ग बनेर सर्वसाधरणको ज्यान लिइरहेका छन्। दुर्घटनाकै कारण वर्षेनी ठूलो संख्यामा धनजनको क्षति भइरहेको छ।

लुम्बिनी प्रदेशमा पनि सवारी दुर्घटना बर्षेनी बढ्दो छ। ट्राफिक प्रहरी, प्रदेश सरकार र विभिन्न संघसंस्थाहरुले दुर्घटना न्युनीकरणका लागि विभिन्न अभियानहरु संचालन गरेको भने पनि दुर्घटनामा कमी आएको छैन। बरु बढेको छ। प्रहरीको तथ्याङ्कलाई आधार मान्दा यो प्रदेशमा हरेक दुई दिनमा तीन जनाले सवारी दुर्घटनामा ज्यान गुमाउँछन्। दैनिक ५ जना यात्रु दुघर्टनाकै कारण चोटपटक लागेर अस्पताल पुग्छन्। दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरुको परिवारमा त्यसपछि पर्ने असरलाई केलाउने हो भने अवस्था झन् भयावह देखिन्छ। अरबौंको सम्पत्ती नाश भइरहेको छ। वर्षेनी बढ्दो दुर्घटनाको तथ्याङ्कले हाल चलिरहेका सडक सुरक्षासम्बन्धी योजना तथा अभियानको प्रभावकारीतामाथि प्रश्न चिह्न लागेको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७  वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ सय ५० जनाले ज्यान गुमाएका छन्। ८ सय ३४ जना घाइते भएका छन्। तीमध्ये ५ सय  ४३ जना गम्भीर अवस्थाका घाइते छन्। गम्भीर घाइतेमध्ये अधिकांशको अंगभङ्ग भएको र अहिले पनि विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही, दाङ, पश्चिम नवलपरासी, बाँके अगाडी छन्। पुर्वी रुकुम र रोल्पामा कम छ। सडक दुर्घटनामा मानवीय क्षतिसँगै करोडौं मूल्यका सवारी साधनहरु क्षतिग्रस्त भएका छन्। साउनदेखि पुष २३ सम्ममा सबैभन्दा धेरै ४०८ वटा मोटरसाइकल, ७९ वटा जिप कार, ट्रक टयांकर ८९, ६३ वटा बस दुर्घटनामा परेका छन्। धेरैजसो दुर्घटना मानवीय त्रुटीसँगै सम्बन्धित निकायको उदासिनताका कारण निम्तिएको जानकारहरु बताउँछन्।

सवारी दुर्घटनाका कारणहरुमध्ये मानवीय त्रुटीमा चालकको लापबाही मुख्य कारण देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले बताए। उनका अनुसार तीब्र गति चालकको पहिलो लापरवाही हो। त्यस्तै पैदल यात्रीहरुले पनि सामान्य ट्राफिक नियमको पालना नगरीदिने, जेब्रा क्रसिङको वेवास्ता गरी जथाभावी बाटो काट्ने, छाडा चौपाया, जीर्ण, साँघुरा र चिप्ला सडक तथा सवारी साधनको अवस्थाका कारणले दुर्घटना निम्तने गरेको प्रहरी अनुसन्धानले बताउँछ।

मदिरा तथा लागूऔषधको सेवनसँगै आलाकाँचा युवाहरुले चलाएका मोटरसाइकलहरु पनि बढी दुर्घटनामा परेका छन्। डिएसपि खाँणले दुर्घटनाका मुख्य कारणलाई केलाउँदै न्युनीकरणका लागि प्रदेशका १२ वटै जिल्लामा चालक सहचालकहरुलाई सडकमै प्रशिक्षण, स्कुल कलेज तथा समुदायलाई ट्राफिक नियमसम्बन्धी जनचेतना मुलक कार्यक्रम गरीएको बताए।

प्रकाशित: २७ पुस २०७८ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App