coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाघ नियन्त्रण गर्न प्राविधिक पुग्दै बाँकेको राप्तीपारी

बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय प्रहरीका अनुसार बिहान साढे १० बजेतिर सदाबहार सामुदायिक वनभित्र दाउरा काट्न गएकी चाँदनीलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो। घटनास्थल मानव बस्तीबाट करिव ५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।

बाघले आक्रमण गर्दा बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो। जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनलाई बाघले मारेको हो। स्थानीय जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने स्थानमा लिलासहित ५५ वर्षीया चन्द्रकला मल्ल, ५५ वर्षकै हुकुमी बस्नेत घाँस दाउरा काट्नका लागि बिहीबार बिहान १० बजेतिर जंगल गएका थिए। घाँस दाउरा काट्दै गर्दा बाघले एक्कासी लिलालाई समातेर लगेपछि अन्य दुई जना महिलाले फोन गरेर गाउँमा खबर गरेका थिए।

बाघले लिलालाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खाँदै गरेको अवस्थामा प्रहरी र स्थानीयले फेला पारेका थिए। योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले ४ जनाको ज्यान लिइसकेको छ। बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुर गाउँपालिकामा यसअघि पनि १÷१ जनाको मृत्यु भएको थियो। बाघले विगत एक हप्तादेखी राप्तीपारीका जंगलमा आक्रमण गर्न सुरु गरेको हो। विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ।

बाघको आक्रमण श्रृंखला नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित छन्। बाघले विभिन्न कामले जंगलमा गएका थुप्रै व्यक्तिलाई पनि आक्रमण प्रयास गर्दै आएको छ। अहिलेसम्म राप्तीपारीका आधा दर्जन जति व्यक्ति बाघको आक्रमणबाट बच्न सफल भएका छन्।

बाघले आतंक मच्चाइरहेको जंगल राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्छ। डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण गर्ने तयारी स्वरुप आइतबार एक प्राविधिक टोली जिल्लाको राप्तीपारी पुग्न लागेको जानकारी दिए। ‘बाघलाई नियन्त्रण गरिदिनु पर्‍यो भनेर हामीले सबै निकायमा अनुरोध गरिसकेका छौं, सोही अनुसार आज (आइतबार) राष्ट्रिय प्रकृती संरक्षण कोषको प्राविधिक टोली राप्तीपारी पुग्दैछ,’ उनले भने। बाघले आक्रमण गर्न नछाडेपछि स्थानीय स्तरमा माइकिङ र एफ.एम रेडियोबाट सूचना प्रशारण गरेर स्थानीय बासिन्दालाई जंगलभित्र प्रवेश नगर्न अनुरोध पनि गरिरहेको खड्काले बताए।

बाँके राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेपछि बाघको निगरानी गर्न दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भएको पनि उनले जानकारी दिए। खड्काका अनुसार डिभिजन वनले संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष लगायत निकायसँग बाघलाई नियन्त्रण र व्यवस्थापन गरिदिन आग्रह गरेको थियो।

प्रकाशित: २५ पुस २०७८ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App