कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. २० पानीपियामा विहीबार साँझ भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ।
पछिल्लो केही दिनयता शीतलहरसँगै बिहान र साँझ हुस्सु लाग्दा दुर्घटनाका घटना बढिरहेका बेला जंगल क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँँदा दुई जनाको मृत्यु भएको हो। ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवासभा खाँदबारी वडा नं. ७ का २२ वर्षे अबि राई र मोरङ सुन्दरहरैँचा वडा नं. ५ का २७ वर्षे सन्तोष राइ रहेका छन्।
दुवै जना गम्भीर घाइते भएकोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
को २७ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको छ। प्रहरीले बस चालक इटहरी वडा नं. ४ का ४४ वर्षे टिकाराम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पछिल्लो केही दिनयता शीतलहरसँगै हुस्सु बिहान र साँझको समयमा लाग्ने गरेको छ। प्रायः गरेर पुस र माघ महिनामा लाग्दा वर्षेनी दुर्घटना बढ्ने गरेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, बिहीबार मोरङ, सुनसरी, झापा, सोलु र उदयपुरमा भएका दुर्घटनामा परि १२ जना घाइते भएका छन्। यी दुर्घटनाका घटना मोटरसाइकल अनियन्त्रित भएर, मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँँदा र मोटरसाइकल पिकअपमा मोटरसाइकल ठोक्किदा भएको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ।
प्रकाशित: २३ पुस २०७८ १२:३५ शुक्रबार