coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखराको ट्राफिक चाप: जिप्पार प्रविधि भित्र्याए घटाउन सकिन्छ

जिप्पार प्रविधि

बढ्दो सहरीकरणसँगै पर्यटकीय सहर पोखरा साँघुरो हुँदै गएको छ। यातायातका साधन दिनहुँ थपिनेक्रमसँगै पोखरामा सवारीको जाम लाग्न थालेको छ। सबैतिर घर बनिसकेकोले सडक फराकिलो बनाउन उत्ति सहज पनि छैन। दिनहुँ थपिएका सवारीका कारण यहाँ सडकयात्रा सकसपूर्ण बन्दै गएको छ।  

साँघुरिदो सडकमा यातायात सहज बनाउन नयाँ विकल्प सोच्नुपर्ने पोखरेलीले बताईरहेका छन्। यसैबीच जापानमा प्रयोगमा ल्याउन थालिएको जिप्पार प्रविधिलाई पोखरामा प्रयोग गर्न सकिने भन्दै अध्ययन थालिएको छ। प्रारम्भिक रुपमा गरिएको अध्ययनले पोखरामा जिप्पार प्रविधि उपयुक्त रहेको यसका जानकारहरुले बताएका छन्।

जिप्पार सम्बन्धिका जानकारका अनुसार यो प्रविधि रोपवे र मोनोरेलको मिश्रण हो। यो प्रविधि भित्र्याएर पोखरा सहर भित्रको सार्वजनिक यात्रालाई सहज बनाउन सकिने उनीहरुले बताएका छन। नेपालमा जिप्पार प्रविधि भित्र्याउन सके यसले यहाँको सार्वजनिक यातायातलाई सहज बनाउने उनीहरुको भनाई छ। जलवायु मैत्री, वातावरणमैत्री र यात्रुमैत्रीको शहरी यातायातको साधनको रुपमा जिप्पार रहेको उनीहरुले बताए।

नेपालमा यो प्रविधिबारे अध्ययन गर्न रोपवे र केवलकारसम्बन्धि क्षेत्रमा काम गरिरहेको कम्पनी रोपवे नेपाल प्रालिसँगको सहकार्यमा अहिले नेपालका विभिन्न क्षेत्रमा अध्ययन भईरहेको छ। रोपवे नेपालका अध्यक्ष गुणराज ढकालका अनुसार जापानको जीप इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत नेपालमा अध्ययन गर्न थालिएको छ। जापानमा यो कम्पनिले केवलबार र मोनोरेलको समिश्रणमा जिप्पार प्रविधि विकास गरेको छ। जापानको होकाइडोको हादानो शहरमा आगामि दुई महिनामा यो प्रविधि संचालनमा ल्याउँदैछ।

 ढकालका अनुसार काठमाडौंको स्वयम्भू डाँडाको फेरो, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म, लुम्बिनी र नवलपुरको गैंडाकोटमा अध्ययन गरिएकोमा पोखरामा बढी उपयुक्त देखिएको छ। बढी उकालो र ओरालो नभएकोले पनि पोखरामा यो प्रविधि उपयुक्त रहेको उनले बताए।  

‘पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म चलाउने योजना हो,’ उनले भने ‘सिधा रुट मात्र नभई दायाँबायाँ मोडेर चाहेको गन्तव्यसम्म पुर्‍याउन सकिने भएकोले सहज छ।’ झट्ट हेर्दा यो केवलकारजस्तै प्रविधि हो। तर, यसमा केवल घुम्दैन, लिकमा रेल हिडेजस्तो हुन्छ। तर, तार भने सडकमाथि नै झुन्डाइएको हुन्छ। झुण्डिएको तारमा यसका गोण्डला गुड्ने र त्यही गोण्डलामा बसेर यात्रुले यात्रा गर्न पाउने ढकालले बताए।  

उनका अनुसार  एउटा गोण्डलमा ४ देखि २४ जनासम्म यात्र बस्न मिल्छ। सानो गोण्डलमा प्रतिघण्टा ६ सय र ठूलोमा प्रतिघण्टा ३ हजार यात्रुले यात्रा गर्न सक्छन्। आवश्यकता अनुसार गोण्डलाको संख्या बढाउन सकिन्छ। ठाउँठाउँमा स्टेशन बनाएर यात्रु चढ्ने र ओर्लन मिल्ने बनाउन सकिन्छ। तोकिएको समयमा यात्रु गन्तव्यमा पुग्न सक्छन। यसका गोण्डल रोकिएर बस्दैनन, स्टेशनमा पुग्दा गति कम हुन्छ र त्यही कम गति भएको बेला यात्रु चढ्ने र ओर्लन सक्ने उनले बताए।  

मुल सडकमा बलिया पोल ठड्याएर त्यही पोलमा तार टाँगेर जिप्पार संचालन गर्न सकिने उनले बताए। ‘बाहिरबाट हेर्दा केवलकारजस्तै देखिन्छ, तर, केवलकारभन्दा सस्तो र फरक पनि हुन्छ,’ उनले भने, ‘अबको एकवर्षमा हामीले अध्ययन गरेर सक्छौ र त्यसको केही समयभित्र निर्माण गर्न सकिन्छ। प्रारम्भिक खालको अध्ययनले पोखरामा सम्भावना रहेको देखाएको छ।’  

अहिले चल्तीकै मूल सडकमाथि यो प्रविधि संचालन गर्न सकिने उनले बताए। पोखरामा विस्तृत अध्ययन गर्न गण्डकी प्रदेश सरकारसँग स्वीकृति मागिएको उनले बताए। ढकालका अनुसार यो प्रविधि मोनोरेल भन्दा पाँचगुणा सस्तो र मेट्रोरेल भन्दा आठगुणा सस्तो पछ। केवलबार सिधा मात्र हिड्छ। तर, यो दायाँबायाँ घुम्ने भएकोले फरक दिशामा पनि संचालन गर्न सकिने उनले बताए।  

लेकसाइडदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्मको ५.७ किलोमिटर दूरीमा यो प्रविधि बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको ढकालले बताए। पोखराको लेकसाइडबाट सुरु भएर सिर्जनाचोक, पृथ्वीचोक, अमरसिंहचोक हुँदै विमानस्थल बाहिरसम्म पुग्नेगरि प्रारम्भिक अध्ययन गरिएको छ।  

नेपालम यो प्रविधिको थप अध्ययनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत यो प्रविधिबारे विस्तृत अध्ययन गर्ने योजना रहेको जाइकाका कन्सल्ट्याण्ट भोजराज पन्तले बताए। पन्तका अनुसार यो प्रविधिमा सहरी क्षेत्रको व्यस्त ट्राफिक व्यवस्थापन गर्न सकिन्छ। ‘लिकमा डब्बा गुडेजस्तै हुन्छ। तर, यो तारमा झुण्डिने प्रविधि हो,’ उनले भने, ‘यो रेलजस्तै चाहे अनुसारको दिशामा घुमाउन सकिन्छ। बीचबीचमा स्टेशन बनाएर चाहेको ठाउँमा लैजान सकिन्छ। स्टेशनमार्फत यात्रु चढाउने र ओराल्ने काम हुन्छ।’

पोखराको बजार साँघुरो भईसकेकोले पनि यो प्रविधि उपयुक्त रहेको पन्तले बताए। ‘जाइका मार्फत अध्ययन गर्ने तयारी छ। जाइकाले नगरेमा अरु श्रोतबाट पनि अध्ययन गराउन सकिन्छ,’ उनले भने। उनका अनुसार बाटोको चौडाई कम हुने, यात्रु र सवारीसाधन बढ्दै जाँदा यो प्रविधि उपयुक्त हुन्छ। ‘आकाशमा तारमा गुड्ने भएकोले यसले सडक साँघुरो बनाउँदैन, यो प्रविधि आवश्यकतामा आधारित छ र आगामी पिँढिका लागि अत्यन्त उपयोगी हुने देखिन्छ,’ उनले भने।

पोखरामा गण्डकी प्रदेश सरकारसँगको छलफलमा सहभागि पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख इन्जिनियर महेन्द्रबहादुर बानियाँका अनुसार पोखराको सहरी ट्राफिक व्यवस्थापन गर्न सहज हुने यो प्रविधि अति आवश्यक छ। पोखराको विमानस्थलदेखि लेकसाइडसम्मको यात्रुको आउजाउलाई यो यातायातमार्फत जोड्ने हो भने साँघुरो हुँदै गएको सडकलाई केही राहत पुग्छ।

‘सडकमा पोल ठड्याएर केवलकार जस्तो प्रविधि बनाउने हो, पोखराका लागि यो उपयुक्त हुन्छ,’ बानियाँले भने, ‘तर, लगानी केही महंगो भएकोले बलिया दाता पाउने हो भने सहज हुन्छ।’ दीगो रुपमा पनि यो प्रविधि आवश्यक रहेको उनले बताए। ‘पोखरामा अहिले नै ट्राफिक जाम बढिसकेको छ, अब विकल्पमा जानुपर्छ। यो प्रविधि असम्भव होईन, ट्राफिक व्यवस्थापनको हिसाबले विकल्प खोजि गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको योजना अनुसारको दूरीमा बनाउने हो भने पोखराको बढ्दो ट्राफिकलाई १५ वर्ष थेग्न सकिन्छ।’ बढ्दो ट्राफिक व्यवस्थापन धान्न नयाँ विकल्पमा जानुपर्ने उनले बताए।  

प्रकाशित: २० पुस २०७८ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App