१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कैदी फरार प्रकरणः जब प्रहरी यौन सम्बन्धमा लागे...

कैदी ‘फरार यात्रा’ को अन्तर्य

घोराही स्थित कारागारबाट उपचार गर्न भन्दै निस्कीएका कैदीका नाईके यमराज परियार उनिसंगै गएका प्रहरीको मोटरसाईकल लिएरै भागेपछि जिल्ला प्रहरी नेतृत्वले आशंका गर्‍यो ‘प्रहरीसंग आर्थिक लेनदेनको मिलेमतोमा घटना भयो।’ जिल्ला प्रहरी कार्यालय मार्फत कारागारमा खटिएका प्रहरीको मिलेमतो देखिएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थाल्यो। अहिले सम्मको अनुसन्धानमा देखिएको घटनाक्रमले प्रहरी स्वयंलाई अचम्मित पारिदिएको छ।  

कैदी ‘फरार यात्रा’ को अन्तर्य

गत भदौ २२ गते कारागारका नाईके २ जना चयन हुन्छन्। अहिले फरार रहेका यमराज त्यो बेला चौकीदार थिए। अनि कारागारका जेलर युवराज परिवारले अहिले फरार यमराजलाई पनि कैदीका नाईके तोक्छन्। प्रहरी स्रोत भन्छ, ‘कुनै प्रकृया नै नपुर्‍याएर जेलरले सिधै यमराजजलाई नाईके तोकिदिएका रहेछन्।’ नाईके बनेपछि कारागारमा यमराजको ‘रजगज’ सुरु हुन्छ। उनी जेलर युवराजसंग निकै नजिक बन्छन्। ‘कारागारको प्रमुख मान्छे जसरी नै कारागारमा यमराजको मनपरि चल्छ,’ प्रहरी स्रोत भन्छ, ‘उनी जेलरका पनि अति निकटस्थ नाईके बन्न पुग्छन्।’  

यमराजको नाईके नियुक्तीको बिषयमा अनुसन्धान गरेको प्रहरीले गत पुस ६ गतेदेखि यताको अवधिलाई अर्को अनुसन्धानको बिषय बनायो। कारागारका जेलर युवराज पुस ६ देखि १३ गतेसम्मको बिदा लिएका थिए। प्रहरीले उनले लिएको बिदाको कागज पनि प्राप्त गरेको छ। तर १३ गतेसम्मको बिदा लिएका जेलर युवराज ८ गते कारागार पुग्छन्। अनि यमराजलाई उपचारका लागि अस्पताल लैजाने पत्र काटिदिन्छन्।  

‘उहाँ( जेलर) १३ गतेसम्म बिदामा भएको मान्छे, ८ गते नै आएर किन उपचारको पत्र काट्नु भयो?’ प्रहरी स्रोतले भन्यो, ‘त्यो पनि उपचारका लागि कुनै सिफारिस नै भएको छैन।’ कारागारमा रहेका कैदीबन्दीहरुको उपचार गर्नुपरेमा सुरुमा कारागार भित्रै स्वास्थ्य परीक्षण गरिन्छ। अनि उक्त परीक्षणका आधारमा सिफारिस भएमा मात्रै अस्पताल लैजानका लागि कारागारले अनुमति दिनु पर्ने हुन्छ।  

तर बिदामा रहेका जेलर युवराजले भने सिधै पत्र लेखेर त्यहाँ खटिएका प्रहरी ईन्चार्जलाई अस्पताल पुर्‍याउन भन्छन्। तर ति प्रहरी ईन्चार्जले प्रहरीको गाडी बोलाउन पनि भन्छन्। जेलर युवराजले भने। ‘एकैछिनमा आईहाल्छ’ भनेर प्रहरी जवानलाई खटाईदिन सुझाउँँछन्। जेलरको आग्रह बमोजिम प्रहरी ईन्चार्जले प्रहरी जवान धनवहादुर चौधरीलाई उनकै मोटरसाईकलमा लैजान भन्छन्। ‘यति बेलादेखि बल्ल प्रहरीको दोष सुरु भयो,’ प्रहरी स्रोतले भन्यो, ‘यो भन्दा अगाडिको घटना क्रम भने कारागार प्रशासन भित्रै रहस्य देखिन्छ।’  

प्रहरी जवान धनबहादुर आफ्नो मोटरसाईकलको पछाडी बस्छन्। मोटरसाईकल उनै बिरामी भनिएका कैदी यमराजले चलाउँछन्। अनि उनीहरु सिधै एउटा होटेलमा बसेर चिया पिउँछन्। चियापछि उनीहरु घोराहीको अर्को होटेलमा छिर्छन्। उक्त होटेलमा युवतीहरु हुन्छन्।  

अनि कैदीले एउटी युवतीलाई प्रहरीको जिम्मा लगाएर यौन सम्बन्धनका लागि होटेलको कोठामा पठाउँछन्। अनि त्यहि बेला ति कैदीले प्रहरी यौन सम्बन्धका लागि युवतीसंग प्रवेश गरेको कोठाको ढोका लगाईदिन्छन् र त्यहाँबाट प्रहरीकै मोटरसाईकल लिएर भाग्छन्।  

‘त्यो कैदीले यौन सम्बन्धका लागि प्रहरीलाई युवतीको जोहो गरिदिएको हुन्छ,’ प्रहरी स्रोत भन्छ, ‘अनि त्यो प्रहरी युवती लिएर भित्र छिर्छ, उसले यौन सम्पर्क पनि राख्छ, त्यहि बेला बाहिरबाट ढोका लगाईदिएर कैदी भाग्छ।’ प्रहरी स्रोतका अनुसार कारागारबाट निस्कने बेलामै कैदी परियारले प्रहरीलाई युवतीको लोभ देखाईसकेका हुन्छन्। ति प्रहरी यौन सम्बन्धका लागि लोभिन्छन्।  

उनीहरु सुरुमा पुगेको चिया पसलमा युवतीको पक्का-पक्की हुन्छ र त्यहाँबाट अर्को होटेलमा पुग्छन्। स्रोतका अनुसार युवतीहरुलाई आफू भाग्ने सहयोगीका रुपमा कैदी परियारले पहिलेनै तयार पारिसकेको देखिन्छ। अनि ति प्रहरीलाई युवतीको लोभ देखाएर उनीसंग एक्लै उपचारका लागि बाहिर निस्कने योजना बनाएको प्रहरी स्रोत बताउँछ।

सुरुमा कैदी भगाउन भूमिका खेलेको भन्दै ति प्रहरीलाई नियन्त्रणमा लिईयो। दुई युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यि दुबै युवती कैदी भगाउने घटनासंग प्रत्यक्ष जोडिएको बताएको छ। यसैगरि ययो घटनामा संलग्न रहेका अर्का एक युवकलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। यस्तै कैदी भगाउने घटनामा संलग्न देखिएका कारागारका जेलर पनि प्रहरी नियन्त्रणको नजिक छन्। ‘उहाँ (जेलर) नियन्त्रणमा आईसकेको हैन,’  प्रहरीस्रोत भन्छ ‘तर त्यो सम्भावना बढी नै छ।’ ति जेलरलाई अहिले कारागारबाट जिल्ला प्रशासन कार्यालयमा तानिएको छ।

प्रहरीले भगौडा कैदी र जेलरबीचको सामिप्यतालाई आर्थिक लेनदेनसंग जोडेर हेरेको छ। ‘केही न केही लेनदेनको बिषय उनीहरुबीचको सम्बन्धको कारण हुनुपर्छ,’ स्रोतले भन्यो, ‘एउटा कैदी र जेलरबीचको यति ठूलो घनिष्ठता अरु कसरी हुन्छ?’ फरार कैदी अहिले सम्म पनि फेला परेका छैनन्। उनले लिएको प्रहरीको मोटरसाईकल भने प्रहरीले घोराही लमही सडक खण्डको मसोट जंगलमा फेला पारेको छ।

प्रकाशित: १२ पुस २०७८ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App