गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा ७ सय जना हिंसामा परेको प्रतिवेदन सार्वजनिक भएको छ।
ईन्सेकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा गण्डकीमा सन २०२५ मा ५ सय २६ जना महिला र १ सय ७४ जना पुरुष हिंसामा परेको उल्लेख गरेको हो।
हिंसामा परेकामध्ये राज्य पक्षबाट ५४ जना र अन्य पक्षबाट ६ सय ४४ जनामा हिंसामा परेर पीडित भएको देखिएको छ। सबैभन्दा धेरै महिला अधिकार सम्बन्धी हिंसामा परेको प्रतिवेदनले औँल्याएको छ। जसमा ४ सय १६ जना महिला हिंसामा परेको ईन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले जानकारी दिए। गण्डकीमा बाल अधिकार उलङ्घनमा ६९ बालिका र ४ बालक गरी ७३ जना पीडित भएको ईन्सेक प्रतिवेदनमा उल्लेख छ ।
गण्डकीमा सन् २०२५ मा १६ जनाको हत्या भएको जनाइएको छ। जसमा ५ महिला र ११ पुरुषको हत्या भएको प्रतिवेदनले देखाएको छ । सो वर्षमा राज्य पक्षबाट ४९ पुरुष र २ महिलासहित ५१ जना तथा गैर राज्य पक्षबाट ९३ पुरुष र २७ महिला गरी १७१ जना घाइते भएको संयोजक भण्डारीले जानकारी दिए।
यस्तै, एक जना अपहरण, २ जनामाथि अमानवीय व्यवहार, ८ जनामाथि कुटपिटका घटना भएको तथा ७ जनामाथि धम्की आएको उनले जानकारी दिए। सो वर्ष एक जना पुरुषको कारागारमै मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख छ। एउटा जातीय विभेदका घटना पनि भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ मा कुल ११ हजार ५ सय ३८ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले घटना घट्नुको सट्टा बढ्दै जानु विडम्बना भएको बताइन्। उनले पीडितले न्याय पाउनु चुनौतीपूर्ण रहेका समेत बताइन्।
यस्तै, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानव अधिकार उलंघनका घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए। गैसस महासंघ कास्कीकी अध्यक्ष ईन्दिरा पौडेलले पीडितलाई न्याय दिन ढिलाइ भइरहँदा न्यायको अनुभूति गर्न नसकिएको बताइन्। यस्तै, विष्णुप्रसाद बरालले राज्य पक्षबाटै मानव अधिकार उलङ्घन हुनु दुःखद भएको बताए।
प्रकाशित: ११ चैत्र २०८२ १७:२१ बुधबार





