२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

बालिकामाथि क**रणीको आरोपमा पक्राउ वृद्धलाई आ*गो लगाउन खोज्दा प्रहरीसँग झडप

प्रहरीलाई आरोपितको ज्यान जोगाउन धौधौ

छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ७० वर्षीय वृद्धको ज्यान जोगाउन प्रहरीलाई बिहीबार राति धौधौ परेको घटना सार्वजनिक भएको छ।

बलात्कार अभियोगमा पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराका हामजा देवानको ज्यान जोगाउन प्रहरीलाई धौधौ भएको हो।

देवानले छिमेकी बालिकालाई बलात्कार गरेको स्थानीयहरूले थाहा पाएपछि प्रहरी चौकी इनर्वासिरालाई खबर गरेका थिए। बिहीबार बेलुका खबर पाएपछि देवानलाई नियन्त्रणमा लिएर गाउँकै प्रहरी चौकीमा राखिएको थियो।

बलात्कारको खबर गाउँमा फैलिएपछि आक्रोशित बनेका स्थानीयहरूले प्रहरी चौकी घेराउ गर्न पुगेका थिए। प्रहरी चौकी घेराउ गरेका स्थानीयहरूले देवानलाई बाहिर निकालेर कारबाही स्वरूप शरीरमा आगो लगाउने माग गरेका इनर्वाका स्थानीयहरूले बताएका छन्।

देवानको शरीरमा आगो लगाउन भन्दै स्थानीयहरू प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। ईलाका प्रहरी कार्यालय सिमराको टोलीले देवानलाई प्रहरी चौकीबाट ल्याउन खोज्दा स्थानीयहरूले प्रहरीसँग झडप समेत गरेका थिए।

झडपमा प्रहरीका एक जना सईको शरीरको विभिन्न भागमा चोट लागेको र प्रहरीको गाडीमा समेत ढुंगा हानेर क्षति पुर्याइएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बताएका छन्। झडपमा केही स्थानीयहरू समेत घाइते भएका छन्।

स्थानीयहरूले बलात्कार अभियोगमा पक्राउ परेका देवानलाई प्रहरीबाट खोसेर उनको शरीरमा आगो लगाउन भनेका भट्टले बताए।

राति ९ बजेतिर देवानलाई प्रहरी चौकीबाट ल्याउन इनर्वासिरा पुगेको टोली स्थानीयहरूलाई कानुन हातमा नलिन सम्झाउँदा रातिको १०ः३० जति सयम बितेको उनले बताए।

जति सम्झाउँदा पनि स्थानीयहरूले नमानेपछि सामान्य बल प्रयोग गरेर देवानलाई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याउन सफल भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।

प्रकाशित: २ आश्विन २०८३ ०८:१७ शुक्रबार