जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिहीबार दिउँसो उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको भन्ने जनगुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकामा सिन्धुलीको सुनकोसी गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका-७ घर भई सूर्यविनायक नै बस्ने ५० वर्षीय गोपाल बहादुर बिष्ट र स्याङ्जाको भीरकोट नगरपालिका-५ घर भई काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देव प्रसाद अर्याल छन्।
त्यस्तै, काठमाडौं महानगरपालिका-२९ अनामनगरका ५६ वर्षीय नरेन्द्र प्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओम शरण राना मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-३ का ४८ वर्षीय रमेश प्रसाद पुडासैनी र तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १८:०९ शुक्रबार



1-600x400.jpg)

