२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

माइती गाउँमै चाट्न लगाइयो पैताला

हिन्दू परम्परा अनुसार माइतीमा चेलिबेटीलाई उच्च सम्मानका साथ सत्कार र आदर गरिन्छ। विहेमा आमाबुबाले मात्र हैन, माइती तिरका अन्य आफन्तले समेत खुट्टा धोएको पानी खाएर कन्यादान  दिने परम्परा छ। यता, सुर्खेतको लेकवेशी नगरपालिका–४ सिमलेमा भने माइती आएकी चेलीले गाउँमै अमानवीय व्यवहारको सामना गर्नुपर्‍यो।

पीडित महिलाको घर बाँकेको खजुरा हो। पुस ४ गते माइतीमा हुने कुल पूजाका लागि सुर्खेतको दशरथ गाउँमा उनी आएकी थिइन्। नागरिक न्यूजको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको भिडियोमा ती महिलालाई दुई पुरूषले समूहको बीचमा आक्रमण गरेका थिए। चेलिबेटीलाई देवीतुल्य मान्ने समाजमा मानवीय होइन पशुतुल्य व्यवहारको पराकाष्टाले धेरैको मन दुखेको छ।  

पुरुषहरूले चिच्याउँदै महिलाको सातो लिने, बिनाकारण माफी मगाउँदै खुट्टा ढोगाउने र पैताला चटाउनेसम्मका क्रियाकलाप भएको देखिन्थ्यो। माइतीको कुलपूजामा आएकी एक महिलालाई आफूलाई धामी भन्ने व्यक्तिहरूले आफ्नो शरीरमा देउता चढेको भन्दै महिला ‘बोक्सी’ भन्दै दुर्व्यवहार मात्रै होइन अमानवीय व्यवहार गरेका थिए। महिलालाई गलत व्यवहार गरिरहेकै बेला वरपरी सयौँको संख्यामा रहेका अन्य मानिस भने मुक दर्शक बनेर हेरीरहेका थिए।  

महिलामाथि भएको दुर्व्यवहारको पछिल्लो पटकको घटना एक प्रतिनिधि घटना मात्रै भएको मानव अधिकारकर्मी चरण प्रसाई बताउँछन्। गाउँघरमा हुने गरेका त्यस्ता किसीमका घटना बाहिर नै आउँदैनन्। ति घटनालाई समाजले सामान्य रुपमा लिने गरेका छन्। उनी भन्छन्, ‘सामाजिक सञ्जाल र मिडियाेबाट सार्वजनिक भएका घटना मात्रै बहसमा आउन्छन्। त्यो पनि केही समयका लागि मात्रै।’

चेलिबेटीलाई देवीतुल्य मान्ने समाजमा  मानवीय होइन पशुतुल्य व्यवहारको पराकाष्टाले धेरैको मन दुखेको छ।

केही दिन अगाडिको मात्रै घटना भएका कारण अहिले सामाजिक सञ्जालमा भिडिओका केही क्लिप र त्यही भिडियाेबाट निकालिएका केही फोटा चर्चाको विषय बनेका छन्। तिनै सामाजिक सञ्जालमा महिला अधिकार र मानव अधिकारका विषयमा आफ्ना धारणा राखेको पाइन्छ। नागरिक न्यूजको फेसबुक पेजबाट सार्वजनिक भएको उक्त भिडियो केही मिनेटमै विभत्स खालको भिडियोका रुपमा रिपोट गरेपछि फेसबुकले हटाएको छ। केही मिनेटको उक्त भिडियोमा सयौंको संख्यामा आम मानिसले आफ्नो प्रतिक्रिया दिएका छन्। अधिकाङ्श प्रतिक्रियामा नेपाली समाजलाई गाली गरेको पाइएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दुई धामी र एक पुजारीलाई मंगलबार नै पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पुजारी नन्दलाल ज्ञवाली र धामीहरु मिलन ज्ञवाली तथा भक्ति ज्ञवालीलाई पक्राउ गरिएको बताए। ‘महिलामाथि अपमानजनक तथा अमानवीय कसुर गरेको आरोपमा एक पुजारी र दुई जना धामीलाई पक्राउ गरेका छौं,’ एसपी विष्टले भने। मुलधामी भूपेन्द्र ज्ञवालीले देउताका वहानहरुले नगर्नुपर्ने काम गरेको बताए। ‘महिला बौराउँदै आएकी थिइन्, मैले हेर्दै गरेको अक्षता र टालो उनले फालिदिइन्,’ मुलधामी भूपेन्द्रले भने, ‘देउताको वहानामा पिटपाट गरिदिए, दुबै जनाले पैतालो चटाउन लगाए।’

महिलामाथि अमानवीय क्रियाकलाप गरेको भिडियाे सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले समेत विरोध गरिरहेका छन्। सुर्खेतस्थित मानव अधिकार रक्षक सञ्जाल (इन्सेक), आवाजलगायतका अधिकारकर्मी संस्थाहरूले यस्ता कार्य रोक्न भन्दै संयुक्त रूपमा सरकारको ध्यानाकर्षण समेत गरेका छन्।

मानव अधिकारकर्मी प्रसाई पीडक पक्राउ पर्नुमात्रै ठूलो कुरा नभएको बताउँछन्। ‘समातेर मात्रै भएन, हिरासतमै रहेका उनीहरुलाई सम्झौता गराएर छोड्ने, मिलापत्र गर्ने, कानुनी कारवाहीको दायरामा नल्याउने, कानुनी प्रक्रिया अगाडि बढाउदा पनि राजनीतिक दवावमा हिरासत मुक्त गर्ने विगतमा पनि भइआएका घटना नै हुन्,’ उनी भन्छन्, ‘सरकार, पीडक र न्यायालय समेतको साठगाठका कारण पीडकले उन्मुक्ति पाउने र पीडित थप पिडित नै बन्ने गरेका छन्।’  

किन दोहोरिरहन्छन् यस्ता घटना?

महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा वा अन्य आधारमा शारीरिक/मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य हुँदा स्थानीय ‘पञ्चायत’ले नै यसलाई छिनोफानो लगाउने प्रवृत्ति नेपाली समाजमा कायमै देखिन्छ।

बोक्सीको आरोपमा यातना दिएका ती पुरूषले भने आफूहरूले ती महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकारेका छन्। उनीहरुलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को धारा १६८ टेकेर अदालतमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ। धारा १६८ को उपदफा १ मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ। त्यसकै उपदफा दुईमा कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२’ ले कानुनी बाटो प्रष्ट्याइ दिए पनि पनि यस्ता घटना रोकिएका छैनन्। महिला हिंसा अन्त्यका लागि नियम र कानुन मात्र नभई महिलाहरू दोस्रो दर्जाका नागरिक हुन् भन्ने मानसिकतामा परिवर्तन आउन आवश्यक देखिएको अधिकारकर्मीहरू बताउँछन्। बोक्सीको आरोपमा कुट्ने, मलमूत्र खुवाउने, गाली बेइज्जती गर्ने, गाउँ निकाला गर्ने मानसिकता बोकेर भेला गर्नेहरूमाथि कारबाही गर्न कानुन छ तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मानव अधिकारकर्मी बताउँछन्।

संविधान र कानूनमा उल्लेख भएका मौलिक हक भित्रका यस्ता अमानवीय घटना न्यूनीकरणका लागि सजायको प्रावधान प्रत्याप्त नभएको मानव अधिकारकर्मी प्रसाईको भनाइ छ। यस्ता मानवीय घटनामा संगलन व्यक्तिलाई कडा भन्दा कडा कानुनको सजाय दिनुपर्नेमा उनको जोड रहेको छ। उनि भन्छन्, ‘जन्मकैद वा दश/पन्ध्र वर्षको कैद सजाय दिनुपर्छ। ताकि भविष्यमा त्यस्ता घटना घट्नु अघि पिडकले हजार पटक सोच्न परोस्।’  

मानव अधिकार उल्लंघन र महिला हिंसाविरुद्धका यस्ता किसिमका घटना पछिल्लो समयमात्रै देखिएको वा बढेको भने होइन। हिजो पनि महिला हिंसा र महिला अधिकार हननका घटना हुन्थे, तर पछिल्लो समयमा सञ्चारमाध्यमको पहुँच तथा विभिन्न सामाजिक संस्थाहरूको प्रयास र स्वयम् पीडित पक्षद्वारा उजागर गर्न बढ्दो आत्मविश्वासले काम गरेको बताइन्छ।

बोक्सीको नाममा हुने महिला माथिको हिंसालाई कुनै एक समुदाय वा वर्गका मानिसको एकल प्रयासबाट अन्त्य हुने होइन, यसका लागि स्थानीय स्तरमा सबै पक्ष जुट्नुपर्छ। सचेतनाका कार्यक्रम ल्याउनुपर्छ। जनताको घरदैलोमा रहेका स्थानीय सरकारले यस्ता घटना हुँदा सबभन्दा पहिले घटनास्थल पुग्न सक्छ।

प्रकाशित: ९ पुस २०७८ १५:११ शुक्रबार

पशुतुल्य व्यवहार पराकाष्टा हिन्दू परम्परा