न्याय निरुपणमा व्यस्त रहने कपिलवस्तुको तौलिहवा स्थित अदालत टोलमा न्यायाधीशहरुकै अगुवाईमा सरसफाई अभियान चलाइएको छ। जिल्ला अदालतका ५ जना न्यायाधीशहरुको अगुवाईमा अदालत परिसर र अदालत टोलमा बृहद सरसफाई अभियान चलाइएको हो।
अभियानका न्यायाधीशहरु तजेन्द्रप्रसाद शर्मा, जवाहरप्रसाद सिंह, खिमानन्द भुसाल, बसन्तजंग थापा र कृष्ण नेपाल अगुवाई गरेका थिए। मुद्दाको सुनुवाईमा व्यस्त रहने न्यायमूर्तिहरु अदालतका कर्मचारीहरु बारका प्रतिनिधिहरु, कानुन व्यवसायी सुरक्षकर्मीहरु हातमा कुचो लिएर अभियानमा निस्केका थिए। टोलीले सुरुमा अदालत परिसरमा सरसफाई अभियान चलाएको थियो। सो लगत्तै २ समूहमा टोली बाँडिएर अदालत टोलको बाटोको सरसफाई गरिएको थियो। गौढीदेखि र आनन्दबाग हुँदै अदालतसम्म पुग्ने बाटोमा एक घन्टासम्म अभियान संचालन गरिएको थियो।
न्यायधीश शर्माले आफूहरुको काम न्याय निरुपण गर्ने भए पनि सरसफाई प्रति सचेत गराउन अभियान चलाइएको बताए। ‘सरसफाई प्रति स्थानीयवासीलाई जागरुक गराउन अभियान चलाएका हौ,’ उनले भने। स्थानीयवासीले कम्तीमा आफ्नो घर अघिको बाटो सफा राख्ने र फोहोरलाई व्यवस्थित गर्न सके मात्र टोल स्वच्छ रहने उनले बताए। सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले न्यायमूर्तिहरु कै अगुवाईमा गरिएको यो अभियान नमुना रहेको बताए। उनले यसले टोल र नगरमा राम्रो सन्देश गएको बताए।
बारका जिल्ला अध्यक्ष हुमबहादुर कुवरले टोललाई स्वच्छ र हराभरा बनाउन स्थानीयवासी आफै सचेत हुनु पर्ने बताए। श्रैस्तेदार सुमन पौडेलले अदालत परिसर र अदालत पुग्ने बाटोसम्मलाई पनि कम्तिमा स्वच्छ र हराभरा बनाउन न्यायमूर्तिहरुको अगुवाईमा गरिएको कार्यक्रम आफैमा नमुना रहेको बताए। अभियानमा नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाई, पत्रकारहरु, अदालतका कर्मचारी, सुरक्षाकर्मी, कानुन व्यवसायी गरी सय बढीको सहभागिता थियो।
प्रकाशित: ९ पुस २०७८ १४:२७ शुक्रबार