१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भगौडा कैदी प्रकरणः भागेका कैदी जेलरका भाइ!

घोराही कारागारका कैदी भागेको घटना थप रहस्यमय बनेको छ। कारागार प्रशासनकै कमजोरीका कारण यो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। फलतः प्रहरीको अनुसन्धान कारागार प्रशासन तर्फ सोझिएको छ।

प्रहरीका अनुसार भागेका कैदी यमराज परियार कारागारका जेलर युवराज परियारका नातेदार हुन्। दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेका अनुसार भागेका कैदी जेलर युवराजका भाइ हुन्। ‘भागेका कैदी जेलरका भाइ हुन्,’ एसपी काफ्लेले भने, ‘यसबारेमा हामीहरुले अनुसन्धान गरिरहेका छौँ, यो घटनाको रहस्य हामीहरुले पत्ता लगाईरहेका छौँ।’

काफ्लेका अनुसार प्रहरी जवानको मिलेमतोमा कैदी भागेको भएपनि यो भन्दा अगाडिको सेटिङ रहस्यमय छ। ‘हो प्रहरीले भगायो, तर यो भन्दा अगाडिको सेटिङ के हो भन्ने बिषय थप रहस्यमय छ,’ एसपी काफ्लेले भने, ‘हामीहरुले अनुसन्धानको बिषयलाई त्यहाँ केन्द्रित गरेका छौँ।’

यसैगरि प्रहरीले स्वास्थ्यमा कुनै पनि समस्या नै नभएका कैदीलाई अस्पताल पठाईनु अर्को रहस्य भएको बताएको छ। ‘भागेको कैदीमा कुनै पनि स्वास्थ्य समस्या नै छैन,’ एसपी काफ्लेले भने, ‘केही पनि नभएको व्यक्तिलाई किन अस्पताल पठाइयो? यो अनुसन्धानको अर्को बिषय हो।’ यसैगरि कारागार प्रशासनले ति कैदीको उपचारका लागि सुरक्षा प्रबन्ध मिलाउनका लागि पत्र पठाएको दाबी गरेपनि प्रहरीले भने पत्र नआएको बताउँछ। ‘झूठ हो,’ एसपी काफ्लेले भने, ‘कैदी भागेको बिषयमा प्रहरीलाई सबै जिम्मा थोपर्ने काम गरिएको छ, यो गलत हो नि।’

यता कारागारका जेलर युवराज परियारले भने भागेका कैदीसंग आफ्नो कुनै नाता सम्बन्ध नरहेको बताउँछन्। थर मिलेका कारण कसैले त्यो आशंका गरेको भएपनि आफूहरुको बीचमा कुनै सम्बन्ध नरहेको उनको भनाइ छ। ‘मैले उसलाई चिन्दैन, हामी बीचमा कुनै पनि सम्बन्ध छैन,’ जेलर परियारले भने, ‘थर मिलेकै कारण दाजु भाइको सम्बन्ध आशंका गरिएको होला, सत्य त्यसो हैन।’ यसैगरि उनले प्रहरीलाई पत्राचार गरेको पनि दाबी समेत गरे। ‘प्रहरीलाई पठाएको पत्र मैले तपाईलाई पनि उपलब्ध गराउन सक्छु,’ उनले भने, ‘प्रहरीलाई जानकारी नदिएरै कैदीहरुलाई उपचारका लागि पठाउन हामीलाई मिल्दै मिल्दैन।’

यसैबीच घटना थप रहस्यमय बनेपछि प्रहरीले छानविन समिति बनाएर अनुसन्धानको प्रकृया अगाडि बढाउने भएको छ। प्रहरीको मोटरसाईकल लिएर भागेका कैदी परियार अझै भेटिएका छैनन्।

यो पनि पढ्नुहोस्

प्रहरीको मोटरसाईकलमै भागे कैदी

प्रकाशित: ९ पुस २०७८ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App