१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीको मोटरसाईकलमै भागे कैदी

घोराही कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीहरुका ‘नाईके’ यमराज परियार प्रहरीकै मोटरसाईकल लिएर भागे। छालामा समस्या भएको भन्दै उपचारको ‘बहाना’ गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान धनवहादुर चौधरीको मोटरसाईकल चढेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि गएका कर्तव्य ज्यान मुद्धाका कैदी परियार प्रहरीकै मोटरसाईकल लिएर भागे।  

फरार कैदी अहिले सम्म फरार छन् भने उनले लगेको प्रहरीको मोटरसाईकल पनि फेला परेको छैन। ‘खोजी कार्य जारी राखेका छौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रशाद काफ्लेले भने ‘अहिले सम्म फेला परेको छैन।’ एसपी काफ्लेका अनुसार मोटरसाईकलमा चढाएर अस्पताल पुर्‍याएका प्रहरी जवान चौधरीकै मिलेमतोमा ति कैदी भागेका हुन्। एसपी काफ्ले भन्छन् ‘नत्र त प्रहरीकै मोटरसाईकल लिएर कैदी कसरी भाग्छ?’ कैदी भगाएका प्रहरी चौधरी नियन्त्रणमा छन्।  

एसपी काफ्लेका अनुसार ति कैदीलाई भगाउन बाह्य ब्यक्तिहरु पनि संलग्न भएका छन्। कैदी भगाउन सहयोग गर्ने अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। ‘त्यो कैदीलाई भगाउनका लागि सहयोग गर्ने बाहिरको अर्को एकजना मान्छेलाई पनि नियन्त्रणमा लिएका छौँ,’ एसपी काफ्लेले भने ‘हामी यो घटनाका बारेमा अझै मसिनो गरि अनुसन्धान गरिरहेका छौँ।’

उपचारका लागि लगिएका कैदी प्रहरीकै मोटरसाईकल लिएर भागेपछि यो घटनामा ति प्रहरीको संलग्नता त स्पष्ट भैसकेको छ। तर कारागार प्रशासनको कमजोरी पनि यो घटनाले देखाएको छ। कारागारले ति कैदी नाईकेलाई बिहिबार उपचारका लागि अस्पताल जान अनुमती दिएको थियो। कारागार नियमानुसार कैदीहरु उपचार जानका लागि अस्पताल जान खोजेमा प्रहरीलाई ‘आवश्यक सुरक्षा सहित’ अस्पताल सम्म पुर्‍याईदिन भन्दै प्रहरीलाई पत्राचार गर्छ। अनि सोही पत्रका आधारमा प्रहरीले कैदीहरुलाई अस्पताल सम्म पुर्‍याउने गर्दछ। तर कारागारले बिरामी भनिएका कैदीको स्वास्थ्यमा समस्या भए नभएको हेर्दैन।  

खाली कैदीहरुले आफू बिरामी भनेकै आधारमा कारागार प्रशासनले अस्पताल सम्म जानका लागि अनुमती दिन्छ। फलतः छालाको समस्याको नाटक गरेर उपचारका लागि भन्दै निस्कीएका नाइके यमराज परियार भाग्न सफल भए। कारागारका जेलर युवराज परियारका अनुसार अस्पतालबाट भागेका कैदीले छालाको समस्या भएको र उपचारका लागि अस्पताल जान अनुरोध गरेका थिए।  

‘हात चिलायो, छालामा एलर्जी निस्केको छ भनेपछि हामीहरुले उपचारका लागि अस्पताल जानका लागि अनुमती दिएका हौँ,’ जेलर युवराजले भने। भागेक कैदीको छालामा भएको समस्या तपाईले वा कारागार प्रशासनले हेरेको हो? जेलर युवराजले भने ‘हैन हामीले हेरेका हैनौँ,उसले समस्या छ भन्यो अनि पठाएका हौँ।’

त्यसोत, भागेका कैदी यमराज केहि दिन अघि मात्रै पनि आँखामा समस्या भएको भन्दै उपचारका लागि अस्पताल पुगेका थिए। ‘केहि दिन अघि आँखामा समस्या भयो भनेर त्यो मान्छे उपचारका लागि अस्पताल गएको थियो,’ जेलर युवराजले भने ‘फेरी छालामा एलर्जी आयो भनेपछि पठाएका हौँ।’  

कारागारमा रहेका ‘बिरामी कैदी बन्दी’ हरुको समस्या के हो भन्ने एकिन भने कारागारले गर्दैन। फलतः उनिहरु सहजै उपचारका नाममा बाहिर निस्कन पाउँछन्। ‘कारागार भित्र सामान्य प्रेसर जाँच सम्मको सुविधा हुन्छ,’ जेलर युवराजले भने ‘त्यो बाहेक अरु ठूलो समस्याको उपचारको ब्यवस्था हुँदैन,अनि उपचारका लागि अस्पताल पुर्‍याउनै पर्छ।’  

बिरामी भएको भन्दा पनि अस्पताल नपठाए कारागार भित्र कैदीहरुको आन्दोलन थेग्नु पर्ने चुनौतीमा कारागार प्रशासन रहने गरेको जेलर युवराज बताउँछन्। ‘हामीहरुले उनिहरुको समस्या होकि हैन ? भनेर पहिचान गर्न खोज्यौँ, तर उनिहरु उपचारका लागि जान पाएनन् भने भित्र आन्दोलन सुरु हुन्छ,’ उनले भने ‘फलतः हामीहरुले उनिहरुलाई अस्पताल पठाउनै पर्छ।’

त्यसोत, उपचारका लागि भनेर अस्पताल पुर्‍याईने कैदी बन्दीहरुलाई प्रहरीको जिम्मा लगाउने कारागार प्रशासन कैदीहरुको निगरानीको जिम्मा प्रहरीको मात्रै देख्छ। तर उही प्रहरीले कैदीहरुलाई कसरी अस्पताल पुर्‍याउँछ भन्ने हेक्कासम्म कारागार प्रशासनले राख्दैन। कसरी लगिन्छ कैदीहरुलाई अस्पताल सम्म? हतकडी लगाईन्छ? जेलर युवराजले भने ‘त्यो जिम्मा प्रहरीको हुन्छ, शायद हतकडी लगाएरै लगिन्छ होला,हामीहरुले त सुरक्षा सहित लैजाने भनेर मात्रै प्रहरीलाई पत्र लेखेका हुन्छौँ, बाँकी जिम्मा प्रहरीको हो।’  

को हुन् कैदीहरुका नाईके?

कारागारमा रहेका कैदीहरुका एक मुख्य ब्यक्ति चौकीदार चयन भएका हुन्छन्। चौकीदार भन्दा एक तह तलको जिम्मेवारीमा नाईके चयन भएका हुन्छन्। यि नाइकेहरु कुल कैदी बन्दीहरुको संख्या मध्य २५ देखि ३० जना बराबर एकजना चुनिएका हुन्छन्। कैदी बन्दीहरुले बनाएको कारागार प्रशासनले नाईकेहरुको नाम जेलर समक्ष पेश गर्छन्।  

सोही सिफारीसका आधारमा जेलरले नाईके नियुक्त गरिदिन्छन्। यि नाईहरुको भुमिका भनेको जेलभित्र रहेका कैदी बन्दीहरुको समस्या समाधानका लागि भुमिका खेल्नु हुन्छ। कैदीहरुको हिरो भएका कारण यि नाईकेहरुलाई कारागारले हेर्ने दृष्टिकोण पनि केहि फरक हुन्छ। उनिहरुलाई अन्य कैदी भन्दा स्वतन्त्रता हुन्छ। ‘अरु जिल्लाहरुमा चौकीदार अनि नाईकेहरुलाई बाहिर सम्म निस्कन दिने स्वतन्त्रताको अभ्यास पनि सुरु भएको छ,’ घोराही कारागारका जेलर युवराज भन्छन् ‘तर हाम्रोमा त्यो छैन, हामीहरुले उनिहरुलाई स्वतन्त्रता पूर्वक बाहिर निस्कन दिएका छैनौँ।’

प्रकाशित: ९ पुस २०७८ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App