२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साहसी युवन्तिकाको सगरमाथा सपना

गत अक्टोबरमा लोगुचे हिमाल आरोहरणक्रमा इलाम फिक्कलकी युवन्तिका तामाङ।

सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङ प्रायः साहसी काम गर्न रुचाउँछिन्। कहिले उनी ह्याब्भी मोटरसाकइल हाँक्छिन्, कहिले खेलकुदमा भिड्छिन्। गाउँ–समाजमा कोही हेपिएको, अन्यायमा परेको थाहा पाए त्यसविरुद्ध आवाज उठाउँछिन्। कोही समस्यामा परेको थाहा पाए सहयोग गर्न लागिपर्छिन्।

यसपटक भने उनको साहस सामान्य व्यक्तिको भन्दा माथि छ। तर, उनको सपना पूरा गर्न सक्ने सम्भावना बाहिरको चाहिँ होइन। अहिलेसम्मको अभ्यासले उनलाई लक्ष्यमा पुग्नसक्ने आँट र साहस भरेको छ। अबको करिब ४ महिनापछि उनी विश्वकै सर्वाेच्च शिखर सगरमाथामा पाइला टेक्ने सम्भवतः ‘पहिलो इलामे महिला’को नाम लेखाउन तम्सिएकी छिन्।

त्यसो त उनले यसअघि ६ हजार १ सय १९ मिटर उचाईको लोगुचे हिमालको सफल आरोहण गरिसकेकी छिन्। ५ अक्टोबर २०२१ मा उनले सगरमाथाको नजिकै रहेको लोगुचे आरोहण गरेकी थिइन्। ‘इलाइट एक्सपेडमार्फत् अब सगरमाथा आरोहण गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘आउँदो वैशाखमा यो सपना पूरा हुनेछ। म यसलाई सपनाभन्दा पनि लक्ष्य भन्छु।’

इलामका केही पुुरुषले सगरमाथा चढ्ने रेकर्ड राखिसकेका छन्। तर, युवन्तिकाको आरोहण सफल भए सगरमाथा चढ्ने सम्भवतः उनी इलामकै पहिलो महिला हुनेछिन्। ‘महिलाले पनि केही गरेर देखाउन सक्छन् भन्ने आँटले म सगरमाथा चढ्ने तयारीमा छु,’ उनले भनिन्, ‘समग्रमा महिलालाई साहसीका रूपमा चिनाउन खोजेकी हुँ।’

यसअघि करिब ३ महिनाको पर्वतारोहण तालिम लिएकी युवन्तिका थप ४ महिने तालिमका लागि काठमाडौं जाँदैछिन्। ‘लोगुचे आरोहण गर्दा लुक्लाबाट करिब १८ दिन पैदल हिँड्नुपरेको थियो, हिउँमा मात्रै पनि २ दिन हिँडेकी थिएँ,’ उनले भनिन्, ‘लोगुचे आरोहण सफल भएपछि सगरमाथा चढ्ने साहस र ऊर्जा मिलेको छ।’

तर, उनको सगरमाथा आरोहणका लागि आवश्यक खर्च व्यवस्थापनमा समस्या भइरहेको स्थानीय युवक अभिषेक पौडेलले बताए। ‘उहाँ (युवन्तिका)ले सगरमाथामा पाइला राख्नु महिलाको मात्र नभएर हामी सम्पूर्ण इलामेको गर्वको विषय हो,’ पौडेलले भने, ‘तर, त्यसका लागि आवश्यक करिब ३५ लाख रुपैयाँ जुटाउन समस्या भइरहेको छ।’ देश–विदेशमा रहेका दाताबाट खर्च जुटाएर भएपनि तामाङको सगरमाथा आरोहण सफल बनाउन जुटेको उनको भनाइ छ।

इलाम र सूर्याेदय नगरपालिकाले केही आर्थिक सहयोगको वचन दिएका छन्। तर, खर्च निकै नै अपुग रहेकाले सहयोग गरिदिन तामाङले सबैसँग आग्रह पनि गरेकी छिन्।

प्रकाशित: ८ पुस २०७८ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App