१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

‘असुरक्षित’ बन्दै कैलाली

फाइलतस्बिर

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।

खुला सीमाका कारण अपराधी सजिलै उम्किने मनोविज्ञानका साथ अपराधका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्। अपराधिक क्रियाकलापमा संलग्न युवा समूहले फिल्मीशैलीमा हत्या गर्ने गरेका छन्। आपराधिक समूहको एकपछि अर्को गर्दै झैझगडा, हत्या, बलात्कार, लुटपाट जस्ता गतिविधि बढेसँगै कैलाली असुरक्षित बनेको छ।

गत कात्तिक २३ गते दुई किलोमिटर लखेटेर फिल्मी शैलीमा लम्कीका २३ वर्षिय भूपेन्द्र बडुवालको कैलालीको टीकापुरमा पाशविक ढंगले हत्या भएको घटना सेलाउन नपाउँदै पुनः टीकापुरसँगै जोडिएको जानकी गाउँपालिका–९, अमरावतीका २५ वर्षीय अर्जुन दासको रुखमा हात बाँधेर टाउको छिनालिएको अवस्थामा शनिबार शव फेला परेको छ।

कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले खसीबोका छिचोले जस्तै विभत्स ढंगले हत्या गरेको अवस्थामा शनिबार दिउँसो साढे ३ बजेतिर अर्जुनको शव फेला परेको बताए। शनिबार बिहानै ३/४ बजेतिर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। रुखमा बाँधेर टाउको छिनालिएको हो वा टाउको छिनालेपछि रुखमा बाँधिएको भन्ने कुरा खुल्न नसकेको उनले बताए। ‘यसरी विभत्स ढंगले एकदुई जनाले हत्या गर्न सक्ने कुरा हुँदैन,’ उनले भने, ‘यो हत्या ४/५ जनाको समूहमा रहेका युवाहरूले गरेको हुनुपर्छ।’

शुक्रबार घरबाट निस्केका अर्जुन सम्पर्कविहीन भएका थिए। शनिबार दिउँसो उनकी पत्नी धनादेवीको म्यासेन्जरमा एउटा अडियोको म्यासेज आयो। म्यासेजमा आएको अडियोमा भनिएको थियो,‘एक व्यक्तिको टाउको छिनालेर हत्या गरेको र आफूहरू भारततिर जान लागेका छौँ।’ म्यासेन्जरमा आएको अडियो सुनेपछि अत्तालिँदै उनकी पत्नी प्रहरी चौकी अमरावती पुगिन्। लगत्तै अमरावती सामुदायिक वनका हेरालुले टाउको छिनालेको अवस्थामा शव देखेपछि घटना बाहिर आएको हो।

हत्या गर्ने कोही पनि पक्राउ परेका छैनन्। हत्यामा संलग्नको मोबाइल स्वीच अफ रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। हत्या गरिएका अर्जुनकी पत्नीको म्यासेन्जरमा अडियो पठाउने भनिएका व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीले बताएको छ। अडियोमा ‘घाँटी अलग छ, शरिर अलग छ, हामी भारतको बंैगलोर जान रूपैडिहा पुगेका छौं,’ भन्ने सुनिन्छ।

यति क्रुर ढंगले हत्या गर्नुको कारण खुल्न नसकेको उनले बताए। ‘यति विभत्स ढंगले हत्या गर्नुपर्ने ठूलो दुस्मनी पनि देखिँदैन,’ उनले भने, ‘अडियोमा सुनिएको ‘बक्स’ भन्ने कुराको पनि अनुसन्धान भइरहेको छ।’ अडियोमा भने झैं हत्यामा संलग्न युवाहरू भारततिर फरार भइसकेका छन् वा अन्यत्र कहीँ लुकेका छन् यो पनि खुलिसकेको छैन। रोजगारीका लागि भारत गएका अर्जुन केही दिनअघि मात्रै भारतबाट घर फर्किएका थिए। उनको घर फर्किएको महिनादिन पुग्न नपाउँदै विभत्स हत्या भएको हो।

कैलालीमा एकपछि अर्को गर्दै समूहमा रहेका युवाहरूले क्रुर ढंगले हत्या गर्ने घटना बढ्नु चिन्ताजनक भएको बताउँदै प्रहरी उपरीक्षक अधिकारी भन्छन्, ‘२०/२१ वर्षका कलिला युवाहरू अहिले अपराधमा बढी संलग्न देखिएका छन्, यो चिन्ताको विषय हो।’

यसअघि गत कात्तिक २३ गते राति ९ बजे कैलालीको टीकापुरमा खुकुरी प्रहार गरि एक समूहले खुकुरी र चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१, का २३ वर्षीय बडुवालको क्रुर रूपमा हत्या गरिएको थियो। उनको हत्यामा संलग्न भनेर प्रहरीले २१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्। मुख्य नाइके भनिन् नवीन रावलसहित ९ जना अझै फरार छन्। उनीहरू पनि भारततिर भागेको प्रहरीको भनाइ छ।

बडुवालको हत्याको दस दिन अघि कात्तिक १२ गते पनि टीकापुरमा फिल्मी शैलीमै सबैका अगाडि छातिमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको थियो।

जन्मदिनको पार्टीमा भएको नाचगानका क्रममा सामान्य विवाद हुँदा टीकापुर नगरपालिका–८ का १८ वर्षका अनुप साउँदको हत्या भएको थियो। भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले अनुपको छातिमा चक्कु प्रहार गरे। चक्कु बाहिर निकाल्न चक्कुसँगै आन्द्रासमेत बाहिर निस्केको थियो। लगत्तै उनको उपचारका लागि अस्पताल पुगाए पनि ज्यान जोगिएन।

पछिल्लो समयमा कैलालीको पूर्वीक्षेत्रमा हतियार प्रयोग गरेर क्रुर ढंगले हत्या गरिएका तीन घटना घटे। ‘एकपछि अर्को गर्दै कू्रर घटना घट्न थालेपछि असुरक्षित महसुस भएको छ,’ स्थानीय निराजन परियाले भने,‘कुन बेला के घटना घट्ने हो भन्ने सबैमा त्रास बढेको छ।’ पछिल्ला केही वर्षयता किशोर–किशोरीमा अभिभावकको निगरानी बढ्न नसक्नु र उनीहरू कुलतमा फस्दा अपराधिक क्रियाकलापमा युवाहरूको संलग्नता बढेको देखिएको उनी बताउँछन्।

प्रकाशित: ५ पुस २०७८ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App