७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

थरथर काँप्दै बाँच्न बाध्य मधेसका विपन्न

सिरहाको गोलबजार नगरपालिका १० स्थित सुकुमबासी मुसहर बस्तीका विपन्नको शीतलहर छल्ने घर तस्बिरः मिथिलेश/नागरिक

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भूइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ।

यो सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलकी श्यामदेवी सदायको बिछ्यौना हो। यही बिछ्यौनामा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन उनलाई। चारजना छोराछोरी र वृद्ध सासुलाई छाप्रोभित्र राखेर श्याम दम्पती घर बाहिर खुला आकाशमुनि बस्छन्।

जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो चिसो छल्छिन्।

मुसहरी टोलकी ७० वर्षीया मलभोगीया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र परालै बालेर जीवनयापन गर्नु पर्ने सदाबहार बाध्यता छ।

गोलबजार–१० को यो मुसहर वस्ती घुर्मी खोलाको डिलमा अडिएको छ। यस वस्तीका पुरुषहरू ट्याक्टरमा मजदुरी गर्छन्। महिलाहरू कृषि र दैनिक ज्यालादारीमा काम गर्छिन्। ‘मजदुरी गरेर कमाएको पैसाले अन्नपात जोड्ने कि न्यानो लुगा? यस बस्तीका विपन्नहरूको सामूहिक स्वर छ।

वस्तीकी जँगली सदाय भन्छिन्,‘सरकार गरिबके जाड स बचावके लेल कोनो उपाय नै करै छै (सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै उपाय गर्दैन)। जाड स कठुवाई छि। अखन तक कोइ ने किछो देलक (चिसोले कठ्यांग्रिँदै छौं तर हाम्रो वस्तीमा सरकारी,गैरसरकारी राहत आइनपुगेको छैन)।’

गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न वस्तीसम्म पुगेन। न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो वस्तीमा पुग्यो,जंगलीले गुनासो पोखिन्। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ।

लहान नगरपालिका–२२(नवकाटोल मुसहरी) सडकछेउ स्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दसैं सदायको चार परिवार अटाएको छ। दुई छोराछोरी सहित दसैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन्।

पोहोर यही छाप्रोमा जाडो सहन नसकेर दसैंका पिता ढेकरु सदायको मृत्यु भयो। दमका रोगी उनलाई न्यानो चाहिन्थ्यो। तर,राम्ररी घामपानी पनि छेक्न नसक्ने छाप्रो अनि चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले उनी चिसोमा धेरैदिन प्राण थामेर बस्न सकेनन्। कहियोकाल त हमरो इ जार लजेतै जका लगैया(कहिलेकाहीँ त आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ) दसैंले भने,‘ठन्डी स टाँगहात ठैर क काज केनाई छोइर दैय (चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ)।’

यसपालिको पुस–माघ महिनाको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ। दैनिक ज्याला मजदुरीबाट गुजरा गर्ने करिब ३० घर मुसहर बस्तीमा जाडो महिना पीडा बोकेर आउँछ।

प्रत्येक वर्ष शीतलहरका कारण मधेसका विपन्नले ज्यान गुमाउनुपर्ने बाध्यता छ। अति विपन्न बस्तीका स्थानीयलाई न्यायो कपडाको अभाव र ओत लाग्ने सग्लो घर नहुँदा शीतलहरको प्रभाव पर्ने गरेको छ।  उनीहरू बाक्लो कपडा किन्न सक्दैनन्।

दलित समुदायका मानिस घुर तापेर जिउ तताउने गर्छन्।  चिसोमा उनीहरू यही घुरको वरपर बस्छन्। आर्थिक विपन्नताका कारण सिरक डस्ना किन्न सक्दैनन्। त्यसैले पनि जाडोको मौसममा उनीहरूको अवस्था कष्टकर बन्ने गरेको हो।

शीतलहरसँगै चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दाहरू बताउँछन्। ‘चुनावके बाद कहै छेलै घरेघरे सरकार एतै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थ्यो),’ गोलबजारकी दशनी सादाय भन्छिन्, ‘हमसब सरकार एल महसुसे ने कर सकल छि(अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन।’

शीतलहर अत्यास कथा गोलबजारको सुकुमबासी वस्तीको भए पनि उनीहरूले भोग्ने व्यथा मधेसका प्रायः विपन्नको हो। यस वस्तीको जस्तै मधेसका प्रायःविपन्न बस्तीको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यी वस्तीका महिला पुरुष पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा गर्ने गर्छन्। असह्य जाडो भए उनीहरू परालको आगोमा जीउ तताउने गर्छन्। तर, परालको आगो धेरैबेर टिक्दैन, निभिहाल्छ। अनि फेरि उस्तै कँपाई। ‘जरना कत स लाबबै हजुर(दाउरा कहाँबाट ल्याउनु हजुर),’ उनी भन्छिन्, ‘खाना पकाब, बिछौना बिछाबस घुर ताप धैर लारेके सहारा छै(खाना पकाउन,सुत्नदेखि ताप्न परालकै सहारा छ।’ गिरहत (जमिन्दार) को खेतमा धान काटेबापत उनीहरू पराल पाउँछन्।

प्रकाशित: ५ पुस २०७८ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App