योमरी पुन्ही, नेवार समुदायले मनाउने मुख्य पर्व हो। प्रत्येक नेवार समुदायका घरघरमा योमरी पाक्ने यो दिनकै आधारमा पूर्णिमाकै नाम ‘योमरी पुन्ही’ रहन गएको हो। ‘यो’ को अर्थ ‘मनपर्ने’ र ‘मरी’ को अर्थ रोटी हो।
चामलको पीठो मुछेर गजुरजस्तै चुच्चो बनाई तल्लो भागमा चाकु, तिल, मास, गुँदपाक, खुवालगायतका परिकार राखेर पोतासीमा राखी बफाएर पकाइने मिठो रोटी ‘योमरी’ र नेवार समुदायबीचको सम्बन्ध अन्योन्याश्रित छ।
धान्य पुर्णिमाका दिन नेवार समुदायले योमरी पकाउने गरे पनि यही समुदायभित्रकै एउटा समुदायमा भने पुन्हीको दिन योमरी पाक्ने गर्दैन। त्यो समुदाय भक्तपुरको धौभडेल थर भएका नेवार समुदाय हुन्।
भक्तपुरको टौमढी, गःहिटी, बोलाछें लगायतका स्थानहरुमा बस्ने धौभडेलहरुमा पुन्हीका दिन योमरी पकाउन हुँदैन भन्ने मान्यता रहेको छ। यही मान्यताले अझ पनि उनीहरुको चुलोमा पुन्हीका दिन योमरी पाक्दैन।
युवा संस्कृति अध्येता ओम धौभडेलले थिल्ला पुन्हीको दिन योमरी पकाउन नहुने किंवदन्ती सुनाए ।
उनका अनुसार प्राचिन समयमा मंसिर शुक्ल पूर्णिमाको दिन धौभडेल परिवारमा योमरी बनाउँदै खाँदै गरे। धौभडेल परिवार संयुक्त परिवार थियो। ठूलो परिवारका सबै बुहारीहरु धमाधम योमरी बनाउँदै, पकाउँदै गरे। सोही परिवारका अरु सदस्यहरु(विशेषतः ससाना बालबालिहरु र पुरुष) ले बन्दै गरेको योमरी खाँदै गरे।
सोही क्रममा घरका मूली पनि योमरी खान भनी भान्छामा आए। भान्छामा छिर्दा घरका मुलीले एउटै पनि योमरी तयार भएको पाएनन्। बिहान सबेरैदेखि बनाएको योमरीबारे उनले सोधीखोजी गरे। योमरी बनाउँदा बनाउँदै लखतरान भएकी बुहारीहरुलाई घरमुलीको सोधाइले रिस उठ्यो। सोही विषयले घरका मुली बुढोसँग बुहारीहरुको भनाभन भयो। बुढो पनि साह्रै रिसाए अनि रिसकै झोंकमा बुढाले भने, ‘अबदेखि योमरी पुन्हीको दिन तिमीहरुले योमरी पकाए त्यो मेरो टाउको पकाए सरह हुनेछ।’
त्यही समयदेखि योमरी पूर्णेको दिन धौभडेलहरुले योमरी पकाउन छाडेको कथन रहेको छ। यसैले आजसम्म पनि योमरी पूर्णेको दिन कोही पनि धौभडल बन्धुहरुको घरमा योमरी पाक्दैन।
प्रकाशित: ४ पुस २०७८ ०८:३८ आइतबार