१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मलको हाहाकारले किसान आन्दोलित

फाइल तस्बिर

मल नपाएको भन्दै विरोधमा उत्रिएका किसानको गुनासो सम्बोधन गर्न माग गर्दै नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी सङ्घको कार्यालय निरीक्षण, अनुगमन र किसानसँगको छलफलपछि समूहले आज ज्ञापनपत्र बुझाएको अध्यक्ष रघुवर साहले बताए।

गहुँबालीको रोपाइँको समय सकिन लाग्दासमेत मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिति देखिएकाले आपूर्ति बढाउन र बिक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउन समूहले माग गरेको छ। सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई कारवाही गर्नसमेत समूहले माग गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मागभन्दा निकै कम मल आपूर्ति भएकाले अभाव सिर्जना भएको बताए। सप्तरीका लागि चाहिनेभन्दा एक चौथाइ मल मात्र प्राप्त भएकाले थप मल ल्याउन पहल गरेको उनले बताए। निगरानी समूहले मलको आपूर्ति बढाउन, बिक्रीवितरण पारदर्शी गर्न, वितरण प्रणालीको तथ्याङ्क व्यवस्थित राख्न, डिलर, सहकारीको अनुमगन गर्न र समस्या समाधानको हरसम्भव उपाय खोज्न माग गरेको छ।

साह नेतृत्वको टोलीले कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव, कृषि सामग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मु, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेसँगसमेत भेट गरी प्राप्त मल वास्तविक किसानसम्म पुर्याउन आग्रह गरेको छ।

कृषि सामग्रीका प्रमुख मुर्मुले सप्तरीलाई तीन हजार मेट्रिकटन डिएपी मलको आवश्यक रहेकामा ७८३.५ मेट्रिकटन मात्र प्राप्त भएको जानकारी दिए। जसमध्ये ७६०.९ मेट्रिकटन सहकारी संस्थामार्फत बिक्रीवितरण भइसकेको उनले बताए।  

जिल्ला आपूर्ति समितिको आजको बैठकले सूचीकृत सहकारी÷डिलरलाई छुट्याएर बाँकी मौज्दात रहेको ८०० बोरा मल राजविराजस्थित चार वटा सहकारीमार्फत प्रतिकिसान २५ किलोका दरले वितरण गर्ने निर्णय भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए। सप्तरीका प्रहरी उपरीक्षक काफ्लेले मल गोदाममा राखी किसानलाई नदिने, कालोबजारी गर्ने, महँगोमा बिक्री गर्नेबारे सूचना दिन आग्रह गर्नुहुँदै त्यस्तालाई कारवाही गर्ने प्रतिबद्धता जनाए।  

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको समूहले किसानसँग छुट्टै अन्तक्र्रिया गरेर मलको अवस्थाबारे जानकारी लिएको छ। विभिन्न स्थानीय तहबाट मल खोज्दै सदरमुकाम आएका किसान मल नपाएर चिन्तित र आक्रोशित भएको तिलाठी कोइलाडी गाउँपालिका–१ का एकनाथ यादवले बताए।

प्रकाशित: २९ मंसिर २०७८ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App