coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिलो चरणमा ५ हजार ४ सय २ जनाको नामावली संकलन

सिद्धलेक गाउँपालिकामा मतदाता नामावलीमा नाम दर्ता गराउँदै स्थानीय। तस्बिर: नागरिक

धादिङमा गत मंसिर १७ गतेदेखि सुरु गरिएको पहिलो चरणको फोटो सहितको मतदाता नामावली संकलन कार्य सकिएको छ। पहिलो चरणमा पाँच हजार चार सय दुई जनाले नाम दर्ता गराएका छन्। पहिलो चरणको मतदाता नामावली संकलन कार्य मंरि १७ गतेदेखि २६ गतेसम्म संचालन भएको थियो। दुई वटा नगरपालिकासहित १३ वटा स्थानीय तह रहेको जिल्लामा पहिलो चरणमा ७ ओटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको हो।  

नीलकण्ठ नगरपालिकामा आठ सय ८, धुनीबेसी नगरपालिकामा आठ सय ६३, रुविभ्याली गाउँपालिकामा पाँच सय २४, गजुरी गाउँपालिकामा एक हजार एक सय ८९ जनाको नामावली संकलन गरिएको छ। त्यस्तै सिद्धलेक गाउँपालिकामा सात सय ८६, गंगाजमुना गाउँपालिकामा चार सय ९८, ज्वालामुखी गाउँपालिकामा सात सय ३४ जनाको मतदाता नामावली संकलन गरिएकोे जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ। नीलकण्ठ नगरपालिकामा भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता भइरहेको छ।

मतदाता नामावली संकलन कार्यमा स्थानीयहरुको उत्साहपूर्ण सहभागीता रहेको मतदाता नामावली संकलन कार्यमा खटिएका दर्ता कर्मचारी रामकृष्ण श्रेष्ठले बताए। ‘पहिलो चरणको नामावली संकलन कार्यको सुरुसुरुमा थोरै जना आउनुभएपनि पछिपछि भएपछि मानिसहरुको चाप बढेको थियो’, श्रेष्ठले भने, ‘भर्खर उमेर पुगेर नागरिकता बनाउनेदेखि ७७ वर्षसम्मका नागरिक समेत मतदाता नामावली संकलन गर्न आउनु भएको थियो।’ राजनीतिक दलका प्रतिनिधिहरु,आफ्ना आफन्तहरुको सहयोगमा समेत दर्ता संकलन स्थलसम्म ल्याउने गरेको उनले बताए। कतिपयहरु सञ्चारमाध्यम तथा सूचनाका आधारमा पनि आउने गरेको श्रेष्ठले बताए।

त्यस्तै दोस्रो चरणको मतदाता नामावली संकलन कार्य मंगलबारबाट सुरु भएको छ। जिल्लाको खनियाबास, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे र गल्छी गाउँपालिकामा सुरु भएको छ। दोस्रो चरणको नामावली संकलन कार्य आगामी पुस ८ गतेसम्म संचालन हुने जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिए।

मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी खटाइएको छ। अहिलेसम्म छुटेका, नयाँ दर्ता गराउन र आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकोले नेपाली नागरिकता प्राप्त गरेका नागरिकले समयमै दर्ता गराउन निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले बताए। ‘मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्छ,’ श्रेष्ठले भने, ‘बसाइ सरी आएका कोही भए बसाइ सराईको प्रमाणपत्र वा विवाह भइ आएको र सोही स्थानमा दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणप्रत्रसहित उपस्थित हुनुपर्छ।’

आयोगले आसन्न स्थानीय, प्रदेश तथा संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताको मताधिकार सुरक्षित गर्न सबै नागरिकलाई मतदाता नामावली संकलन कार्यमा सहभागी हुन पनि निर्वाचन कार्यालयले आग्रह गरेको छ।  

दर्ता गर्न छुट भएकाहरुले अनिवार्य रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए। पहिलो चरणमा भएको मतदाता नामावली संकलन कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागीता रहेको निर्वाचन कार्यालय धादिङले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App