४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मदन भण्डारी सडकमा नयाँ प्रहरी विट

पछिल्लो समय दुर्घटना बढ्दै गएपछि मदन भण्डारी लोकमार्गमा सवारी नियमन गर्ने उद्देश्यले प्रहरी विट राख्न थालिएको छ। पूर्व पश्चिम लोकमार्गको विकल्पको रुपमा सञ्चालित यो लोकमार्गमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेपछि शान्ति सुरक्षालक्षित प्रहरी विट राख्न थालिएको हो।

जसको सुरुवात उदयपुरको ७७७ चोकमा पहिलो प्रहरी विट राखिएको छ। मुर्कुची बजार नजिकै सदरमुकाम त्रियुगा नगरपालिका वडा नंं. ७, रौतामाई गाउँपालिका ७ र उदयपुरगढी गाउँपालिका ७ को संगमस्थल ७७७ चोकमा राखिएको नयाँ प्रहरी विट स्थापना गरिएको हो।

शनिबार एक कार्यक्रमका बीच रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले विटको उद्घाटन गरे।

लोकमार्गदेखि मुर्कुची–माझखर्क जोड्ने सडकसँग जोडिएको स्थल भएकाले ७७७ चोक सवारी दुर्घटनाको उच्च जोखिम क्षेत्र मानिन्छ। यसअघि पटक पटक दुर्घटना भइसकेकाले सो ठाउँलाई विशेष प्राथमिकता दिएर विट स्थापना गरिएको रौतामाईका अध्यक्ष खड्काले बताए।

उनका अनुसार विट स्थापना गर्न रौतामाई र उदयपुरगढी गाउँपालिका तथा स्थानीय सामुदायिक वन समूहहरुले सहयोग गरेका छन्।

विट नहुँदा सुरक्षाकर्मी अनुपस्थित हुने हुँदा दुर्घटना बढ्दै गएको तथा स्थानीयलाई शान्ति सुरक्षा पनि हुने भएकाले गाउँपालिकाको पहलमा प्रहरी बीट स्थापना गरिएको खड्काले बताए। स्थानीय शंकर भट्टराईले निःशुल्क उपलब्ध गराएको जमिनमा प्रहरी विट राख्न एकवर्षअघि नै भवन बनिसकेको थियो। त्यही भवनमा विट राखेर प्रहरीले सेवा सुचारु गर्ने डिएसपी गौतमले बताए।

अध्यक्ष खड्काले समाज जति शिक्षित बन्दै गए पनि आपराधिक घट्ना पनि उत्तिकै बढ्दै गएकाले प्रहरी सुरक्षा आवश्यक पर्दै गएको बताए। शान्ति सुव्यवस्था र अमनचयन जनताको नैसर्गिक अधिकार भएको भन्दै उनले विट सञ्चालनमा आएपछि अब जनताको सुरक्षामा प्रहरी कृयाशिलता बढ्ने अपेक्षा गरे। बढ्दो सहरीकणसँगै जनघनत्व र सवारी चाप बढ्दै गएकाले सम्भावित अपराध र दुर्घटना घटाउन प्रहरीको विशेष भूमिका हुने उनले बताए।

स्थानीय सरकार प्रत्यक्ष जनताको घरदैलोसम्म पुग्ने सरकार भएकाले सुरक्षा, विकास र समृद्धिका लागि जनप्रतिनिधि प्रतिबद्ध रहेको खड्काले जनाए।

डिएसपी गौतमले प्रत्येक नेपालीको ज्युधनको सुरक्षा गर्नु नेपाल प्रहरीको दायित्व भएको भन्दै आफुहरु जनताको सहयोगी हुने बताए। उनले बर्दीमा रहेका प्रहरीबाट मात्र शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै त्यसका लागि सबैको साथ सहयोग चाहिने बताए।

विटमा प्रहरी सहायक निरीक्षक (असई) कमाण्डमा ७ जना प्रहरी जनशक्ति परिचालन हुने उनले बताए। विटले लोकमार्गको सुरक्षा गर्नुका साथै ३ वटै स्थानीयतहका ७ नंं वडा मुर्कुची बजार, अँधेरी, होक्से, कौवाईलगायत स्थानीयको शान्ति सुरक्षामा प्रहरी केन्द्रित हुने गौतमले बताए।

७७७ अहिलेसम्म सुकौरा, चुहाडे र नेपालटारमा रहेका अस्थायी प्रहरी चौकीमातहत थियो। त्यस क्षेत्रबाट प्रहरी चौकीहरु टाढा भएकाले दुर्घटना वा आपराधिक गतिबिधि भएमा  सुरक्षाकर्मी पुग्न समय लाग्ने गरेको थियो। यही असहज परिस्थिति अन्त्य गर्न विट स्थापना गरेर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७८ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App